ऋण सुरक्षाका लागि बिमा «

ऋण सुरक्षाका लागि बिमा

नेपालगन्ज-नेपालगन्जस्थित वेस्टर्न बचत तथा ऋण सहकारी संस्थाले ऋणको सुरक्षाका लागि ऋणको विमा गर्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ । यसरी ऋणको सुरक्षाका लागि ऋणको बिमा गर्ने सो संस्था बाँकेमै पहिलो संस्था बनेको छ ।
यहाँ पत्रकार सम्मेलन गरी संस्थाका अध्यक्ष ईश्वर पोखरेलले संस्थाद्वारा वितरण गरिएको ऋणको सुरक्षाका लागि ऋणको बिमा गर्ने व्यवस्था मिलाइएको सिद्धार्थ इन्स्योरेन्ससँग सहकार्यमा ऋण बिमा थालिएको बताए ।
“यसले ऋणिको सुरक्षा त गर्छ नै सहकारीको जोखिम पनि पूर्ण रुपमा न्यूनीकरण गरेको छ,” अध्यक्ष पोखरेलले भने ।
०६८ साल साउन ११ गतेदेखि सञ्चालनमा आएको वेस्टर्न बचत तथा ऋण सहकारी संस्थाले आफ्ना ९ सय ९२ सेयर सदस्यहरूबीच कारोबार सञ्चालन गर्दै आएको अध्यक्ष पोखरेलले जनाएका छन् ।
“बाँकेमा सम्भवत ऋणको बिमा गर्ने सहकारी वेष्टर्न पहिलो हो,” सिद्धार्थ इन्स्योरेन्सका क्षेत्रीय प्रमुख नवराज पराजुलीले ऋण बिमा रकम हस्तान्तरण गर्दै भने, “पूर्वतिर यो अभ्यास असाध्यै सफल मानिएको छ ।” अत्यन्तै न्यून लगानीमा ठूलो उपलब्धि दिएका छौं, सिद्धार्थको ऋण बिमाबारे पराजुलीले बताए ।
सोही अवसरमा सिद्धार्थ इन्स्योरेन्सले वेष्टर्नको ऋण बिमा रकमसमेत भुक्तानी गरेको थियो । वेस्टर्नले ऋण लगानी गरेका ऋणिको दुर्घटनामा निधन भएपछि ऋण बिमाबापतको ६ लाख रुपैयाँ सिद्धार्थका क्षेत्रीय प्रमुख पराजुलीले वेस्टर्नका अध्यक्ष पोखरेललाई हस्तान्तरण गरेका थिए । “यसले संस्थाको लगानीलाई सुरक्षित बनाएको छ,” कार्यक्रममा वेष्टर्नका प्रबन्धक थानिश्वर पाण्डेले भने ।
सर्वसाधारणलाई वितरण गरिएको ऋणको सुरक्षाका लागि बाँकेमा रहेका अन्य बचत तथा सहकारी संस्थाहरूले पनि ऋण बिमा गराउने जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्