ढाकामा भविष्य बुन्दै किशोरीहरू «

ढाकामा भविष्य बुन्दै किशोरीहरू

कोसी राजमार्गमा पर्ने सिधुवाबजारको ठीक पारिपट्टि छ— हमरजुङ । तमोर नदी र तेलिया खोलाको काखमा रहेको यो गाउँ प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । यही प्रकृतिको काखसँगै हरियाली वनपाखामा गाईवस्तुहरूसँगै घाँस, दाउरा, मेला, पर्ममा रमाउनु छथर गाउँपालिका–२, हमरजुङका धनमाया तोलाङ्गीका लागि नौलो कुरा थिएन । वस्तुभाउ हेर्ने, खाना पकाउने, सरसफाइ गर्ने लगायतका घरायसी काममै उनको दैनिकी बित्ने गरेको थियो ।
आर्थिक रूपमा विपन्न परिवारमा रहेकी उनलाई चाहेर पनि राम्रो अध्ययन गर्न नपाउनु दुभाग्र्य नै बनेको छ । १६ वर्षीया धनमाया कक्षा ९ मा अध्ययन गर्दागर्दै विद्यालय छोड्नुको कारण पनि आर्थिक कमजोरी नै भएको बताउँछिन् । दिनभरि यताउति गर्यो, साथीभाइसँग घुम्यो, घरायसी कामसँगै दिन त्यसै खेर जान्थ्यो उनको । यसरी दैनिकी बिताउँदै आएकी धनमाया यतिबेला ढाकासँगै आफ्नो भविष्य बुन्न थालेकी छिन् ।
हातमा सीप भए जीवन गुजारा गर्न सहज हुने कुरालाई आत्मसात् गर्दै धनमाया साथीहरूसँगै ढाका बुनाइमा तल्लीन हुन थालेकी छिन् । खासगरी छोरीबुहारीहरू घरबाट बाहिर निस्कँदा बिग्रन्छन् भन्ने पुख्र्यौली मान्यतालाई तोड्दै उनीसँगै सम्झना तोलाङ्गी पनि ढाकाको तानसँगै आफ्नो दैनिकी बिताउन थालेकी छन् ।
भर्खरै किशोरावस्थामा टेक्दै गरेका उनीहरूजस्तै धेरै युवती ढाकाको तानमा भेटिने गरेका छन् । गाउँमा सञ्चालन भएको ढाका तालिममा सहभागी भएसँगै यतिबेला ढाकाबाट उत्पादन हुने विभिन्न किसिमका कपडाहरूसँगै बुट्टाका डिजाइनहरू सिकिरहेका पाइन्छन् ।
छथर–२ कै अनिता लिम्बू कक्षा १२ मा अध्ययनरत छिन् । विद्यालयबाट फर्किएपछि उनको ढाकाको तानमा आँखा पुग्छ । पढाइसँगै हातमा सीपको खाँचो भए जीवन निर्वाहमा समस्या हुन्छ भन्ने उनको धारण रहेको छ । आधारभूत तालिमसँगै एड्भान्स तालिममा सहभागी भएकी लिम्बू घरमै तानसेट जोडेर ढाका बुनाइलाई साथसाथै लैजाने तयारीमा रहेको बताउँछिन् ।
सामान्यतया रुमाल, चौबन्दी, पछ्यौरा, मखलर, कुर्तालगायतका सामग्री उत्पादन गर्न सुरु गर्दै आएका किशोरीहरू पछिल्लो समय सीपमूलक कार्यमा अग्रसर हुन थालेका छन् । केही वर्षअघिसम्म पानी–पधेरो, घाँस–दाउरा र मेलापातमा अल्झिँदै आएका यहाँका युवतीहरू यतिबेला सीपमूलक काम गर्दै आएको पाइन्छन् । गाउँमा उत्पादित वस्तुको बजार प्रवद्र्धन गर्नका निम्ति कोसेली घर स्थापनाले टेवा पुगेको ३ वर्षदेखि ढाका बुन्दै आएकी झुमा लिम्बूले बताइन् । उनी भन्छिन्, “सीप सिक्नुअघि घरको काम र नानीहरूको हेरचाहमै समय बित्थ्यो, अहिले ढाका उत्पादनबाट आम्दानी गर्दै आएकी छु ।”
श्रीमान्को मात्र भर पर्दै आएकी झुमा अहिले आफैं आम्दानी लिन थालेपछि घरखर्च चलाउनुका साथै सानातिना समस्या आफैं हल गर्न सक्ने भएकी छिन् । “घरमा केही सामग्री चाहे श्रीमान्सँगै पैसा माग्नुपथ्र्याे, तर अहिले त्यस्तो छैन,” उनले भनिन् ।
कोसेली घर स्थापनासँगै ढाका व्यवसायको बजारीकरणका लागि नयाँ–नयाँ डिजाइनका साथै गुणस्तरीय सामग्री उत्पादनमा जोड दिनु आवश्यक रहेको प्रोपाइटर मनकुमारी लिम्बूले बताइन् । “विभिन्न संघसंस्थाले यस क्षेत्रका महिलालाई सीप प्रदान गर्ने उद्देश्यका साथ तालिमहरू सञ्चालन गरिनु नै यहाँका किशोरी तथा युवतीहरूका लागि भविष्यको ढोका खोलिनु हो,” दलित सचेतना समाज ड्यासका सामाजिक परिचालिका पूर्णमाया कार्की रसाइली बताउँछिन् ।
एक्सनएड नेपालको सहयोगमा देउराली सोसाइटी तेह्रथुम र दलित सचेतना समाजले बर्सेनि ढाका बुनाइसम्बन्धी तालिम सञ्चालन गर्दै आएका छन् । एक दशकअघिसम्म ढाकाको कपडा किन्न विभिन्न स्थान पुग्नुपरेको स्थानीय विष्णुकुमार सिंह बताउँछन् । तर, यतिबेला प्रायःजसो धेरै महिला ढाका बुनाइसँगै आम्दानी बढाउन थालेका छन् । यहाँ उत्पादन भएको ढाकाका सामग्री पूर्वको विभिन्न बजारका साथै राजधानीसम्म पु¥याएर बिक्री गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्