तीन वर्षमा बल्ल दोस्रो किस्ता

खोटाङ-वि.सं २०७२ वैशाख १२ गतेको महाभूकम्प र पटकपटक गएका परकम्पनका कारण घरविहीन बनेका खोटाङका दुई हजारभन्दा बढी भूकम्पपीडितले तीन वर्ष बितेपछि दोस्रो किस्ता पाएका छन् । घरविहीन बनेपछि पहिलो किस्ता लिएर घरको डीपीसी गरिसकेका दुई हजार ४०१ भूकम्पपीडितले दोस्रो किस्तावापतको रकम पाएका हुन् ।
२०७४ जेठ १९ गतेदेखि पहिलो किस्तावापतको ५० हजार बुझेर आवास निर्माण सुरु गरेका लाभग्राहीमध्ये दुई हजार ४०१ लाभग्राहीले दोस्रो किस्ता बुझेको राष्ट्रिय पुनर्निर्माण कार्यान्वयन एकाइ जिल्ला आयोजना कार्यान्वयन एकाइ आवास व्यवस्थापन तथा पूर्वाधार कार्यालयका प्रमुख सागर आचार्यले जानकारी दिए । पहिलो किस्ता बुझेका खोटाङका आठ हजार १७३ लाभग्राहीमध्ये उनीहरूले दोस्रो किस्तावापत एक लाख ५० हजारका दरले अनुदान बुझेका हुन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गत वैशाख ३० गतेदेखि जिल्लाका भूकम्पपीडितलाई आवास निर्माणवापतको दोस्रो किस्तावापतको अनुदान वितरण थालेको थियो । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामध्ये सबैभन्दा बढी हलेसी तुवाचुङ नगरपालिकाका भूकम्पपीडितलाई दोस्रो किस्तावापतको रकम वितरण गरिएको छ । हलेसी तुवाचुङ नगरपालिकाका ८ सय, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ४१६, ऐसेलुखर्क गाउँपालिकाका ४६, रावाबेसी गाउँपालिकाका १४७, जन्तेढुंगा गाउँपालिकाका १५३, खोटेहाङ गाउँपालिकाका १९२, केपीलासगढी गाउँपालिकाका ९१, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका २९१, बराहपोखरी गाउँपालिकाका १७३ र साकेला गाउँपालिकाका ९२ लागभग्राहीले दोस्रो किस्ता बुझेका छन् । ढिलै भए पनि दोस्रो किस्ता निकासा हुन थालेपछि पहिलो किस्ताबाट घरको डीपीसी उठाएर बसिरहेका लाभग्राही उत्साहित बनेका छन् । तर, अनुदान पाए पनि वर्षा सुरु भएका कारण आवास निर्माणको काम अघि बढाउन समस्या भइरहेको भूकम्पपीडितको गुनासो छ ।
प्राधिकरणले दिक्तेलस्थित राष्ट्रिय वाणिज्य बैंक, सालपा विकास बैंक, ज्योति विकास बैंक, बैंक अफ काठमान्डु र सेन्चुरी कमर्सियल बैंकबाट आवास अनुदान वितरणको व्यवस्था मिलाएको छ । पहिलो किस्ता बुझेका भूकम्पपीडितले सो बराबरको काम सम्पन्न गरेको लामो समयपछि मात्र दोस्रो किस्ता पाएको बताएका छन् । अधिकांश भूकम्पपीडितले भने प्राधिकरणको आवास अनुदान वितरण सुस्त भएको गुनासो गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बेलामा पर्याप्त इन्जिनियर पठाउन नसक्दा पठाइएका इन्जिनियर पनि काम छाडेर हिँड्दा, जिल्ला आयोजना कार्यान्वयन एकाइ स्थापना नहुँदा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आवास निर्माणको काम प्रभावित भएको हो ।
बेलामा दोस्रो किस्ता नपाएपछि कतिपय भूकम्पपीडित आफैले घर बनाइरहेका छन् । दोस्रो किस्ता नपाउँदा अधिकांश आवास निर्माणका काम अलपत्र परेको छ । अधिकांश भूकम्पपीडितले डीपीसीको काम पूरा गरिसके पनि दोस्रो किस्ता नपाएको दिक्तेल रुपाकोट भूकम्पपीडितको गुनासो छ ।
खोटाङका ८ हजार ४४३ लाभग्राहीमध्ये अझै २७० लाभग्राही पहिलो किस्ता पाउनबाट वञ्चित छन् । विदेशमा रहेका घरमूलीका नाममा आवास अनुदान सम्झौता गरेका, आवास अनुदान सम्झौतापछि विदेसिएका, अनुदान सम्झौतापछि मृत्यु भएका, बुढेसकाल वा अपांगताका कारण सदरमुकाममा रहेको बैंकसम्म आउन नसक्नेलगायतका समस्याका कारण कतिपय भूकम्पपीडित परिवारले हालसम्म आवास अनुदानवापतको पहिलो किस्ता अझै पाउन सकेका छैनन् ।
–उत्तम चौलागार्इं