‘समृद्ध नेपाल’ हाम्रो सपना

पहिलो संविधानसभाबाट नेपाली इतिहासको करिब ७ दशक लामो राजनीतिक संक्रमणकाल पूरा हुने एवं देश आर्थिक समृद्धि तथा विकासको बाटोमा लम्कने अपेक्षासहित आठ वर्षअघि कारोबार राष्ट्रिय आर्थिक दैनिकको प्रकाशन सुरु भएको थियो । आज आठौं वार्षिकोत्सब मनाउँदै गर्दा हामीले सोचेको आर्थिक विकासको मार्गचित्रमा नेपाल ढिलैगरी भए पनि प्रवेश गरिसकेको छ । यस बिचमा वागमतीमा धेरै पानी बगिसकेको छ, राजनीतिक लडाइँ समाप्त नभइ देश आर्थिक विकासको मार्गमा अघि नबढ्ने बताउँदै आएका राजनीतिक दलहरू अब नेपालमा राजनीतिक लडाइँ सकिएकाले आर्थिक क्रान्तिको बेला भएको बताउन थालिसकेका छन् ।
देश एकात्मक राज्य प्रणालीबाट संघीयतामा प्रवेश गरिसकेको छ । राज्यको स्रोत तथा साधनमा समान्य नागरिकको पहुँच सुनिश्चित गर्ने क्रममा स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन पनि सकिएको छ । आम जनमानसले लामो समयदेखिको अस्थिरताका कारण विकास र समृद्धि नभएकोले स्थिरता भए देश विकास तथा समृद्ध हुने आशामा आफनो जनादेश दिइसकेका छन् । जनादेशका कारण अब नेपालमा एक प्रकारको स्थिरताको लक्षण पनि देखिएको छ ।
विश्वका तथा नेपालको आफ्नै पनि इतिहास हेर्ने हो भने विकास तथा समृद्धिका लागी स्थिरता पहिलो सर्त हो, तर अन्तिम सर्त भने होइन । अब बन्ने सरकारले आर्थिक क्रान्तिको पहिलो सर्त स्थिरता जनादेशका रूपमा प्राप्त गरिसकेको छ । यससँगसँगै सरकारले भ्रष्टाचार नियन्त्रण, कानुनी शासन, आर्थिक सुधार एवं लगानीकर्ता तथा लगानीको सुरक्षाको ग्यारेन्टी गरेर नेपालमा व्यावसायिक तथा लगानीको वातावरण बनाउन अत्यावस्यक छ । विश्वका उदाहरणीय तथा प्रमाणित प्र्रविधिलाई नेपालमा भिœयाएर त्यसको प्रयोग गर्दै स्मार्ट सरकार, स्मार्ट निजी क्षेत्र र स्मार्ट नेपाल बनाउनु नै जनादेशको सम्मान हुनेछ । यदि सरकारले लगानीको वातावरण बनाएर स्वदेशी तथा विदेशी लगानीलाई प्रोत्साहन गरे हामी झैं अन्य गैरआवासीय नेपालीहरू नेपालमा लगानी गर्न उत्सुक छन् । लगानी बढ्दा अवश्य पनि नेपालमा रोजागारी सिर्जना हुन्छ र विभिन्न बाध्यताले विदेसिएका नेपालीका दोस्रो पुस्ता पनि आफ्ना ज्ञान, सीप तथा प्रविधिसहित नेपाल फर्कने वातावरण बन्दछ । यसले देश विकासमा अर्को नयाँ आयाम थप्ने निश्चित छ । संसारका कयौं देश एकै पुस्तामा समृद्ध भएका प्रशस्त उदाहरण छन् । त्यसैले यसको लागि अब बन्ने सरकारले निजी क्षेत्रलाई विकास तथा समृद्धिको साझेदार मान्दै दृढ इच्छाशक्तिका साथ आर्थिक स्वतन्त्रता प्रदान गरेर प्रतिस्पर्धात्मक वातावरणमा नवीन सोच तथा युवा ऊर्जालाई देश विकासमा प्रयोग गर्न सके नेपाल हाम्रै पुस्तामा समृद्ध हुने कुरामा हामी विश्वस्त छौं ।
नेपाल तथा नेपालीको समृद्धि यात्रामा कारोबार राष्ट्रिय आर्थिक दैनिक सरकार तथा निजी क्षेत्रलाई सदा झैं साथ दिइरहने छ । आर्थिक समृद्धिको यस यात्रामा हामीलाई सुरुदेखि नै माया गर्नुहुने ग्राहक, नीति निर्माता, विज्ञापनदाता, शुभेच्छुक तथा टीबीआई प्रकाशनका हाम्रा सहकर्मीहरूमा आठौं वार्षिकोत्सवको बधाई तथा शुभकामना ।
भवन भट्ट
अध्यक्ष, टि.बी.आई.पब्लिकेसन्स