युरोपीय क्षेत्रीय महिला बैठक आइतबारबाट «

युरोपीय क्षेत्रीय महिला बैठक आइतबारबाट

गैरआवासीय नेपाली संघको ११ औं युरोपीय क्षेत्रीय बैठक तथा ९ औं युरोपीय क्षेत्रीय महिला बैठक आगामी आइतबारबाट सुरु हुने भएको छ । ‘युरोपिय एनआरएनको प्रतिबद्धताः नेपालमा पर्यटक, ज्ञानसीप र लगानी’ भन्ने मूल नाराका साथ लक्जेम्बगस्थित हिल्टन होटलमा आयोजना गरिने दुई दिने बैठकको तयारी अन्तिम चरणमा पुगेको प्रवक्ता भूषण घिमिरेले जानकारी दिए । यसपटकको बैठक विशेषगरी नेपालमा पुँजीसहित ज्ञान, सीप र दक्षता भित्र्याउने र नेपालको पर्यटन प्रवद्र्धनमा केन्द्रित रहने प्रवक्ता घिमिरेले बताए ।
गैरआवासीय नेपाली दिवस २०१८ को अवसर पारेर आगामी अक्टोबर १३ र १४ तारिखमा काठमाडौंमा हुने भनिएको विज्ञ सम्मेलनको पूर्वतयारी स्वरूप पनि यो बैठकको आयोजना गरिएको एनआरएनएले जनाएको छ । युरोप क्षेत्रबाट ज्ञान, सीप तथा प्रविधि हस्तान्तरणका विषयमा हुनसक्ने योगदानको खोजी गरिनुका साथै सो क्षेत्रबाट एक अर्बको लगानी नेपालमा भित्र्याउने लक्ष्य बैठकको छ ।
बैठकमा युरोपीय बैठकमा एनआरएनका आन्तरिक विषयहरू तथा कार्य समीक्षा, एनआरएन अभियानमा युवा तथा नयाँ पुस्तालाई सहभागी गराउँदै नेपाली भाषा र संस्कृतिको जगेर्ना गराउने विषय, युरोपमा नेपालीको बढ्दो उपस्थिति र उनीहरूले भोग्नु परेका समस्या र समाधानका उपाय, युरोपमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उपाय, नेपालमा लगानीको अवसर, सबै बालबालिकालाई शिक्षा अभियानमा एनआरएनको सहभागिता, एनआरएनएको विधान, नेपाली नागरिकताको निरन्तरता, गैरआवासीय नेपाली नागरिकता लगायतका १५ भन्दा बढी बुँदामा बृहत् छलफल हुने संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैठकमा नेपालबाट माननीय परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली प्रमुख अतिथिका रूपमा र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई विशेष अतिथिका रूपमा सहभागी हुनेछन् । आयोजक राष्ट्र लक्जेम्बर्ग सरकारका शिक्षा, युवा तथा बालबालिका मन्त्री कलाउडे मेइश कार्यक्रमका अर्का विशेष अतिथिका रूपमा उपस्थित हुने आईसीसीका युरोप क्षेत्रीय संयोजक शिवकुमार बरुवाले जानकारी दिए ।
यसका साथै नेपाल सरकारका कुटनीतिक क्षेत्रलगायत उच्च पदस्थ व्यक्तित्वहरू, उद्योग वाणिज्य महासंघका प्रतिनिधि तथा नेपाल र लग्जम्बर्गका निजी क्षेत्रका व्यवसायिक प्रतिनिधि, सञ्चारकर्मीलगायत अन्य प्रतिष्ठित व्यक्तित्वहरू बैठकमा सहभागी हुने बरुवालले बताए ।
बैठकमा एनआरएनएका अध्यक्ष, संस्थापक अध्यक्ष पूर्वअध्यक्षहरू, संरक्षकहरू, आईसीसीका पदाधिकारीहरू लगायत विभिन्न देशका एनआरएनएका पदाधिकारीहरूको साथै युरोपस्थित संघको २७ देशका राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधिहरू साथै युरोप क्षेत्रका उपसंयोजकहरू, क्षेत्रीय महिला संयोजक, क्षेत्रीय युवा संयोजक, युरोप क्षेत्रका आईसीसी सदस्यहरू, आयोजक राष्ट्रका अध्यक्ष, महासचिव, लक्जम्बर्ग नजिकका मुलुकका अध्यक्षहरू, संचारकर्मीहरू लगायत करिब ५ सय जना सहभागी हुने बरुवालले बताए ।
बैठकले राष्ट्र निर्माणमा साझेदार बन्नका लागि एक महत्वपूर्ण सेतुको रूपमा भूमिका निर्वाह गर्दै मुलुकमा आर्थिक लगानीसँगै बौद्धिक लगानीको बाटो खोल्ने वातावरण निर्माण गर्ने संघले जनाएको छ । यस्तै क्षेत्रीय महिला बैठकमा संघको महिला फोरमले युरोप क्षेत्रमा रहेका नेपाली महिलाहरूको समस्याका बारेमा समेत बृहत् छलफल गर्ने बताइएको छ ।
यसैबीच बैठकमा संघले नेपाल पर्यटन बोर्डको सहकार्यमा सञ्चालन गरेको भिडियो च्यालेन्ज प्रतियोगितामा सहभागी भिडियोहरूमध्ये छानिएका भिडियोहरू समेत प्रदर्शन गर्ने संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्