कम्युनिष्टको शासन प्रजातान्त्रिक हुनै सक्दैन :देउवा «

कम्युनिष्टको शासन प्रजातान्त्रिक हुनै सक्दैन :देउवा

चितवन-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको व्यापक आलोचना गर्न थालेको छ । सरकारको शैलीले लोकतन्त्रमाथि खतरा उत्पन्न हुन लागेकाले खबरदारी गरिएको कांग्रसको प्रष्टोक्ति छ ।
नवलपरासी गैंडाकोटमा शनिबारदेखि सुरु भएको कांग्रेस निकट कानुन व्यवसायीको संस्था नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसन (डिएलए नेपाल) को १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा कांग्रेसका अधिकांस पदाधिकारीसहित शिर्ष नेता सहभागी थिए । कार्यक्रममा कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले नै आन्दोलनमा धकेल्न खोजिरहेको बताए । “कम्युनिष्ट पार्टीको शासन छ, उनीहरू कम्युनिष्ट शासन ल्याउन प्रयासरत छन्,” उनले भने, “०६२-६३ को आन्दोलनबाट प्राप्त अधिकार, संविधानसभाबाट बनेको संविधानको खिलापमा जान खोजेका छन् ।” उनले कम्युनिष्टको शासन प्रजातान्त्रिक हुनै नसक्ने दाबी गरे ।
उनले विश्वविद्यालयका उपकुलपति (भीसी) हटाउने षड्यन्त्र भइरहेको बताए । “जवरजस्ती हामीलाई आन्दोलनमा धकेल्न खोजिरहेका छन्,” उनले भने, “यस्तै किसिमका अप्रजातान्त्रिक काम गरे हामीले छाड्दैनौँ ।” उनले पार्टीका संस्थापक नेता विपी कोइरालाको नाममा रहेको भरतपुरको क्यान्सर अस्पतालको जग्गा हड्प्न खोजिएको भन्दै आपत्ति जनाए । “अहिलेको सरकारले क्यान्सर अस्पतालको जग्गाा पनि अतिक्रमण गर्न खोजेको छ,” उनले भने, “हामीलाई आन्दोलन रहर होइन ।” भरतपुर महानगरपालिकाले क्यान्सर अस्पतालको ५ विघा जग्गामा सिटी हल निर्माणका प्रक्रिया सुरु गरेको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई तिहाई मतको हठले संवैधानिक निकाय, प्रशासनलाई सन्त्रास देखाउँदै निरंकुशता लाद्न खोजिएको आरोप लगाए । “जुन शैलीमा सरकार बढेको छ, त्यो लोकतन्त्रलाई अनिष्ठको संकेत हो,” उनले भने, “हामीले खबरदारी गर्नैपर्छ ।”
उनले एकपछि अर्को निर्णय गर्दै केन्द्रीकरणतिर सत्तालाई लैजाँदै संघीयता विरोधी काम गर्ने कोसिस भैरहेको टिप्पणी गरे । “महँगी, जथाभावी कर, अनुचित कर लगाउने काम भएका छन्,” उनले भने, “सरकारले धेरै वेथिति गर्दैछ । मजबुत कांग्रेस बनाएर कम्युनिष्ट पार्टीसँग लड्नुपर्नेछ ।” संसदीय समितिले प्रधान न्यायाधीशमा नाम सिफारिस भएका व्यक्तिको सुनुवाइ सके पनि तत्काल निर्णय नआउनु शंकास्पद भएको बताए ।
उपसभापति विमलेन्द्र निधिले अहिलेको सरकारको कामले खतरा देखिएको बताए । “संविधानकै ‘बेसिक इलिमेण्ट्स’ माथिनै प्रहार भइरहेका छन्,” उनले भने, “४-५ वर्षमा ठूलै आन्दोलनका तयारी गर्नुपर्ने देखेको छु ।” राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता, मिश्रित निर्वाचन प्रणाली, अहिंसा र शान्ति यी संविधानका मूलभूत विषयमा नै प्रहार हुन थालेको दाबी गरे ।
“संघीय वा प्रदेश सभामा फरक दलको सभामुख र उपसभामुख हुने संवैधानिक व्यवस्था छ,” नेता निधिले भने, “संसदमा आवाज उठाइरहेका छौँ, तर एकै दलको बनेको अवस्था छ, यो संविधानको प्रत्यक्ष उल्लंघन हो ।”
महामन्त्री शशांक कोइरालाले एमाले र माओवादी मिलेकाले दम्भ लिएको हुनसक्ने बताए । “दम्भ चिर्न हामी एक ढिक्का हुनैपर्छ,” उनले भने, “यसैमा हाम्रो भविष्य छ, भोलिको सत्तामा लिएर जान सक्छ, दम्भ चिर्न पनि सजिलो हुन्छ ।”
सहमहामन्त्री प्रकाशशरण महतले सत्ता कव्जा गर्ने संस्कारबाट आएका पार्टीले सरकार चलाएकाले मनोमानी बढेको बताए । “५ महिनामै जनताले गल्ती गरेको भावना आइरहेका छन्,” उनले भने, “असन्तुष्ट जनताको नेतृत्व कांग्रेसले लिनुपर्छ । संविधान कागजको खोष्टो हो भन्नेलाई रोक्नुपर्छ ।”
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारले संविधानलाई सही ढंगले कार्यान्वयन गर्न नचाहेको आरोप लगाए । “संविधानलाई दुरुपयोग गरेर हैकम चलाउन चाहन्छन्, लोकतन्त्रै जोगाउने चूनौती देखा परेको छ,” उनले भने, “राज्यलाई प्रयोग गरेर आर्थिक शोषण गर्ने बाटोमा हिड्न खोजेको छ ।”
पूर्वअर्थमन्त्री रामशरण महतले संविधानले दिएका स्वतन्त्रता, अधिकार अतिक्रमण गर्ने काम हुन थालेको आरोप लगाए । “स्वेच्छचारी शासनको खतरा छ, अलिकति अधिनायकवादततफै लैजाने संकेत देखिएका छन्,” उनले भने, “आफ्ना मान्छेलाई मूल जिम्मेवारी दिएर प्रशासनमा पार्टीकरण हुन थालेको छ, न्यायलयमा प्रभाव बढाउने काम हुदैछ ।”
पूर्वसभामुख दमननाथ ढुंगानाले नेपालमा अझैपनि लोकतन्त्र सुरक्षित नभएको बताए । “सुरक्षित लोकतन्त्रका लागि लोकतन्त्रवादी अझै एकिकृत भएर बृहत लोकतान्त्रिक मोर्चा बनाउनुपर्छ,” उनले भने, “संविधान लोकतान्त्रिक छ, तर जनादेश त्यस्तो छैन ।”
कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले संविधान ‘बाँदरको हातमा नरिवल’ हुने खतरा रहेको तर्क गरे । डिएलए नेपालले आइतबार ४३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्