निजीकरणका नाममा भ्रष्टीकरण बढ्यो : ओली

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विभिन्न राजनीतिक परिवर्तनहरूले जनतामा नयाँ नयाँ आकांक्षा जन्माउने बताएका छन् । यसपटकको निर्वाचन पनि त्यस्तै एउटा परिवर्तन भएकोले यसले जनतामा विकास र समृद्धिको आकांक्षा जन्माएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षहरूको ज्ञापनपत्र आफ्नै निवास बालकोटमा बुझ्दै अध्यक्ष ओलीले ०४६ सालको परिवर्तन पछि देशमा निजीकरणका नाममा भ्रष्टीकरण बढेको बताए । “निजीकरण र उदारीकरणका नाममा देशमा भएका ३८ वटा उद्योगहरू कांग्रेसको पालामा बेचिए,” ओलीले भने, “जसले गर्दा स्वेदशमा भएको रोजगारी समेत गुमेर आज लाखौं युवा खाडीमा पसिना बगाइरहेका छन् ।” ओलीले आगामी सरकारले स्वदेशमै राम्रो पारिश्रमिकसहितको रोजगारीको व्यवस्थामा ध्यान दिने बताए ।
ओलीले सम्पती शुद्धीकरणका नाममा व्यावसायीहरूलाई आफ्नो पुंजीलाई सहज ढंगले परिचालन गर्न रोक लगाएको भन्दै त्यसलाई संशोधन गर्ने संकेत गरे । “आफ्नै खाताबाट १० लाख रुपैंया भन्दा बढी रकम झिक्न बन्देज लगाएपछि लगानीको वातावरण कसरी बन्छ ?” ओलीको प्रश्न थियो, “सरकारको काम लगानी मैत्री वातावरण बनाएर व्यावसायीसंग कर उठाउने हो तर अनावश्यक बखेडा झिकेर गैरकानुनी रकम आर्जन गर्ने होइन ।”
अध्यक्ष ओलीले निजी क्षेत्रले विकास र समृद्धिका लागी उत्प्रेरकको भूमिका निर्वाह गर्ने र सरकारले त्यसलाई सहज हुने गरी नीति बनाएर सहकार्य गर्ने प्रतिबद्धता जनाए । महासंघका पूर्व अध्यक्षहरू महेशलाल प्रधान, पद्मज्योती, प्रदीपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी, सुरज वैद्य र पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले संयुक्त हस्ताक्षर गरेर बुझाएको ज्ञापनपत्रमा देशको संक्रमणकाल अन्त्यका लागी प्रमुख विपक्षी दलका नेताको हैसियतमा ओलीले निर्वाह गरेको भूमिकाको उच्च प्रशंशा गरिएको छ । ज्ञापन पत्रमा वाम गठबन्धनको दुई तिहाइ आसपासको बहुमतले देश अब स्थिरताको यात्रामा अघि बढेको महशस भएको उल्लेख छ । ज्ञापन पत्रमा भनिएको छ, “तपाईंको नेतृत्वमा गठन हुने आगामी सरकारले समृद्धि र आर्थिक विकासको लागी निजी क्षेत्रको सहभागीतामुलक सहयोग र साथ रहने विश्वास दिलाउन चाहन्छौं ।”
ओलीले आगामी सरकार देश निर्माणका लागी निजी क्षेत्रसंग हातमालो गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे । यसैगरी, बालकोटमै अध्यक्ष ओलीलाई बधाइ दिन आएको नेपाल राष्ट्रिय मारवाडी परिषद केन्द्रीय समितिसँग कुरा गर्दै ओलीले मारवाडी समुदायले देशको आर्थिक वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । तर यो समुदायलाई केही राजनीतिक दलले दुहुनो गाई बनाएको दृष्टान्त दिदैं वाम गठबन्धनका विरुद्ध विपक्षीले फैलाएका हल्लामा नलाग्न ओलीले परिषदलाई आग्रह गरे । सरकारसँग उद्योग, मजदुर, देशको आवश्यकता, उत्पादन आदि कुनै पनि क्षेत्रको यकिन तथ्यांक नभएकोले व्यावसायिक क्षेत्र अनुमानका भर सञ्चालन भइरहेको ओलीले स्पष्ट पारे । “नाडी छामेका भरमा रोगको शंका गरेर शंकाकै भरमा औषधी खुवाइँदैछ,” ओलीले भने, “अब यस्तो हुदैन । उद्योग, मजदुर, उत्पादन, बजारलगायत सबै क्षेत्रका खास समस्या पहिचान गरेर त्यसै अनुसार समाधान पनि खोजिनेछ ।”