Logo

महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल प्रदान

सप्तरी-विष्णुपुर गाउँपालिका कार्यालयले सातवटै स्वास्थ्य चौकीका ३४ जना महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल प्रदान गरेको छ ।
१८ वटा स्थानीय तह रहेको सप्तरीमा महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गर्ने विष्णुपुर पहिलो गाउँपालिका बनेको छ । स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्यले उनीहरूलाई साइकल प्रदान गरिएको जनाइएको छ । गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा स्वास्थ्य चौकी तथा वडा कार्यालयमा कार्यरत ३४ जना महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको हो ।
स्वास्थ्य सेवाका लागि खटिएकी महिला स्वयंसेविकाहरूको पीडा कम गर्ने र गाउँपालिकाका सर्वसाधारणले सहज र छिटो छरितो स्वास्थ्य सेवा पाउन सकुन भन्ने उद्देश्यले साइकल वितरण गरिएको गाउँपालिका अध्यक्ष लिलाम्बर यादवले बताए ।
प्रशासकीय अधिकृत रञ्जितजंग अधिकारीले बजेट अभाव भए पनि स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई प्राथमिकतामा राख्दै अन्य शीर्षकबाट केही बजेट कटौती गरी साइकल खरिद गरिएको बताए ।
साइकल पाएपछि महिला स्वास्थ्य स्वयंसेविका पनि खुशी छन् । स्वास्थ्य स्वयंसेविका अरुलादेवी यादवले अब स्वास्थ्य चौकी र वडा कार्यालयसम्म पुग्न निकै सजिलो हुने बताउँदै खुशी व्यक्त गरिन् ।

 

प्रतिक्रिया दिनुहोस्