प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्न कांग्रेस तयार छ : मन्त्री यादव «

प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्न कांग्रेस तयार छ : मन्त्री यादव

खानेपानी तथा सरसफाइमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले मुलुकलाई निकास दिन र संविधान कार्यान्वयनको अग्रगमन पथलाई सही ढंगले डोर्याउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मात्रै सक्ने भएकोले दाहाललाई प्रधानमन्त्री स्विकार्न आफूहरु तयार रहेको बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा यादवले मुलुक अग्रगमनको बाटोमा अघि बढिसकेकोले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने परिवर्तनका उपलब्धिहरु सबै गुम्न सक्ने तर्क गरे ।
उनले थपे, “निर्वाचन भएर मुलुक संविधानको पूर्ण कार्यान्वयनको चरणमा छ । यो अग्रगमनको बाटो अब अघि बढिसक्यो, पछि हट्ने कुनै सम्भावना छैन । उत्ताउलो भएर केही चल्दैन, परिवर्तनका एजेण्डाहरुलाई संस्थागत रूपमा कार्यान्वयन गर्न पनि माओवादी केन्द्रले अब ‘गार्जियन’ को भूमिका निर्वाह गर्नुपर्छ ।”
मन्त्री यादवले एमालेबाट उपलब्धि गुम्न सक्ने भन्दै त्यसबाट बचाउनको लागि पनि देशको अभिभावकको भूमिकामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आउनुपर्ने धारणा राखे । “प्रचण्डजी प्रधानमन्त्री बन्नुभयो भने सबैलाई समेटेर लैजान सक्नुहुन्छ, परिवर्तनकारी उपलब्धिहरु संस्थागत हुन्छन् । उहाँबाट मात्रै यी उपलब्धिहरु रक्षा हुन सक्छन् । उहाँ आफैं प्रधानमन्त्रीको रूपमा अघि बढ्नुपर्छ, हाम्रो पूर्ण समर्थन रहन्छ,” उनले भने ।
उनले एमाले अध्यक्ष ओलीलाई भड्काउ नेताको रुपमा चित्रणसमेत गरे । यादवले थपे, “ओलीजी अतिवादी कुरा गर्ने नेता हो, उहाँ दुई वटा कुरा गर्नुहुन्छ, देशलाई त अहिले सबैलाई मिलाएर लैजान सक्ने नेता चाहिएको छ, त्यो भनेको प्रचण्ड हो । उहाँले मात्रै सबैलाई मिलाएर लैजान सक्नुहुन्छ भन्ने हाम्रो विश्वास हो ।”
युवा नेता गगन थापाप्रति लक्षित गर्दै यादवले भने, “युवा भनाउँदा कुनै पनि नेताहरुले भनेजस्तो अहिले नेतृत्व परिवर्तन हुँदैन । यो उनीहरुको व्यक्तिगत विचार हो, पार्टीमा अहिले देउवाको विकल्प नै छैन । अर्को महाधिवेशन नहुँदासम्म देउवाजी नै सभापति हो, गगन थापाले एक्लै हटाउने हो र ?”
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले एमाले र माओवादी केन्द्रबीचको एकता छिट्टै हुने विश्वास दिलाए । उनले भने, “एकताबारेमा हामी स्पष्ट छौं, शंका नगरे हुन्छ । एकता गरेपछि भागबण्डा भन्ने कुरा हुँदैन । दुवै पार्टीबीच एकता हुँदा सम्मानित नेताहरूलाई सम्माजनक व्यवस्था हन्छ । कसरी व्यवस्थापन गर्ने भन्नेबारे अहिले गृहकार्य भइरहेको छ ।”
संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले अब बन्ने सरकार संविधान संशोधनमा सकारात्मक भए सरकारमा जानेबारे आफूहरुले सोच्न सक्ने स्पष्ट पारे । २ नम्बर प्रदेशमा आफ्नो पार्टी ठूलो दल भएकोले मुख्यमन्त्रीमा आफूहरुको दाबी रहने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्