वर्षा नहुदा किसान चिन्तित «

वर्षा नहुदा किसान चिन्तित

सप्तरी-एक साताभन्दा बढी समयदेखि तापक्रम बढ्दै जाँदा र पर्याप्त वर्षा नहुँदा सप्तरीका किसानलाई अहिले धान रोपाइँ गर्न समस्या भएको छ ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख भगिरथ यादवका अनुसार वर्षात्को पानी नहुँदा किसानले नहर र बोरिङबाट धानको रोपाइँ गरिरहेका छन् । सप्तरीमा अहिलेसम्म २५ प्रतिशतमात्र धान रोपाइँ भएको अनुमान जिल्ला कृषि विकास कार्यालयको छ ।
बिहानैदेखी लाग्ने चर्को घामका कारण खेतमा बोरिङबाट तानेको पानी समेत साँझसम्ममा सुक्ने हुँदा आफूहरू झनै चिन्तित बन्न पुगेको राजविराज–९ का कृषक नारायण यादव बताउँछन् । उनी भन्छन्, “आकाशे पानी नपर्दा र अत्यधिक गर्मीका कारण जसोतसो बोरिङको सहयोगले थोरै मात्र रोपेको धानसमेत डढेर जाने सम्भावना छ ।”
यता असार १५ गतेबाट धान रोपाइँ सुरु भए पनि आकासेपानी नपरेपछि जिल्लामा उत्साहजनक रूपमा धान रोपाइँ हुनसकेको छैन । रोपाइँ भएका धान सुक्न थालेपछि अहिले सिँचाइका लागि नहरमा पानी छाडिएको छ । कोसीपम्प चन्द्रनहर सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय सप्तरी राजविराजद्वारा पम्पनहर प्रणाली, वितरण नहर प्रणाली र चन्द्रनहर प्रणालीअन्तर्गतका नहर तथा उपनहरमा पानी छोडिएपछि अहिले जिल्लाका किसान धान रोपाइँमा व्यस्त भएको डिभिजन प्रमुख प्रशुन मिश्राले जानकारी दिए ।
सप्तरीमा ७० हजार हेक्टर जमिनमा धानखेती हुँदै आएको छ । तीमध्ये ३५ हजार हेक्टर जमिनमा चन्द्र नहरको तीनवटै प्रणालीबाट सिँचाइ सुविधा भइरहेको छ । गत वर्ष साउनको अन्तिम साता आएको भीषण बाढी र पहिरोबाट पूर्णरूपमा क्षतिग्रस्त एवं कटानमा परेका नेपालको सबैभन्दा पुरानो चन्द्रनहर सिँचाइ प्रणाली (आयोजना) को मर्मतसम्भार भएपछि त्यसमा पानी छोडिएको छ । मर्मत सम्भारका लागि २० करोड खर्च भएको आयोजनाले जनाएको छ ।
तर, विद्युत् अनियमितताका कारण पम्प सञ्चालन गर्न नपाउँदा पानी छाड्न समस्या भइरहेको प्रमुख मिश्राको गुनासो छ । सो तीन प्रणालीले नेपाल विद्युत् प्राधिकरण राजविराजलाई विद्युत् प्रयोगवापत वार्षिक एक करोड भुक्तानी गरेको बताइएको छ । गत साउनमा आएको बाढीले चन्द्रनहर, वितरण नहर र पम्प नहरमा तोडफोड गरी ४३ करोड बराबरको क्षति पु¥याएको थियो । जसका कारण मुख्य तथा सहायक नहर एवं हेडवक्र्स क्षतिग्रस्त, बालुवा तथा माटो नहरमा पुरिएको, लाइनिङ टुटफुट भएको, प्लान्ट, जेनेरेटर, पाइप तथा मेसिनरी सामग्री र अन्य भौतिक पूर्वाधार पूर्णरूपमा क्षतिग्रस्त भएको थियो ।
कार्यालयका अनुसार चन्द्रनहर प्रणालीबाट १० हजार ५०० हेक्टर जमिन, पम्प नहर प्रणालीबाट १३ हजार हेक्टर जमिन र वितरण नहर प्रणालीबाट ११ हजार हेक्टर गरी कुल ३४ हजार ५०० हेक्टर जमिनमा सिँचाइ हँुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्