कच्चा पदार्थमा भन्सार वृद्धिले तेल उत्पादन कटौती «

कच्चा पदार्थमा भन्सार वृद्धिले तेल उत्पादन कटौती

विराटनगर-सरकारले स्वदेशमै उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्ने योजना बनाइरहेका बेला सरकारी नीतिकै कारण मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा सञ्चालित तेल उद्योगले ५० प्रतिशत उत्पादन कटौती गरेका छन् ।
सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटमार्फत सोयाबिन र सनफ्लावर तेल उद्योगको कच्चापदार्थ आयातमा ३ सय प्रतिशतभन्दा बढी भन्सार महसुल वृद्धि र भ्याट फिर्ता खारेज गरेपछि उद्योगीहरूले उत्पादन कटौती गरेका हुन् । बजेटबाट सरकारले ४० प्रतिशत भ्याट फिर्ताको प्रावधानसमेत खारेज गरेको छ । यसअघि कच्चापदार्थको आयातमा साढे २ प्रतिशत लाग्दै आएकोमा साउन १ देखि १० प्रतिशत भन्सार महसुल लागू गरिएको छ । जसका कारण उत्पादन लागतमा समेत वृद्धि भएको छ । महसुल वृद्धिसँगै सोयाबिन र सनफ्लावर तेलको होलसेल मूल्यमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि भइसकेको छ ।
“सरकारी नीतिकै कारण उद्योगले ५० प्रतिशत उत्पादन कटौती गर्नुपरेको छ,” उद्योग संगठन मोरङका कार्यकारिणी सदस्य नन्दकिशोर राठीले भने, “बजारको अवस्था हेरेर अझै उत्पादन कटौती गर्ने कि भन्ने योजनामा छन् उद्योगीहरू ।” दैनिक उपभोग्य वस्तुका रुपमा ठेला, रिक्सावालादेखि सामान्यभन्दा सामान्य नागरिकले प्रयोग गर्ने तेलको कच्चापदार्थमा भन्सार महसुल वृद्धि गर्दा त्यसको प्रत्यक्ष मार उपभोक्तामा पर्दछ । बजेटपछि आमउपभोक्ताको भान्सा महँगिएको छ ।
विद्युत् महसुल पनि वृद्धिको तयारी भइरहेको छ ।
“यदि विद्युत् महसुल वृद्धि हुने हो भने अझै उत्पादन लागत बढ्छ,” राठीले भने, “मजदुर–कर्मचारीको पारिश्रमिक त छँदैछ ।” साउन १ देखि लागू हुनेगरी सरकारले ९ हजार ३५० रुपैयाँबाट वृद्धि गरी १३ हजार ४५० रुपैयाँ पुराउने निर्णय गरिसकेको छ । उनका अनुसार सामाजिक सुरक्षा कोषलगायत सबै जोड्दा मजदुरको मासिक पारिश्रमिक १७ हजार नाघ्नेछ ।
भारतलगायत अन्य मुलुकबाट आउने तयारी तेलसित अब आन्तरिक उत्पादनले प्रतिस्पर्धा गर्न गाह्रो पर्ने उनको कथन छ । “सस्तो लागतमा उत्पादित विदेशी तेलसँग आन्तरिक उत्पादनले प्रतिस्पर्धा गर्न सक्दैन,” तेल उद्योगीसमेत रहेका राठीले भने, “त्यही भएर उत्पादन कटौती गर्न बाध्य भएका हौं ।”
सनफ्लावर क्रुड र सोयाविन क्रुडलाई कच्चापदार्थका रुपमा प्रयोग गरिन्छ । कच्चापदार्थ ब्राजिल, अर्जेटिना, मलेसिया, युक्रेनलगायतका मुलुकबाट आयात गर्ने गरिएको मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका उद्योगी प्रकाश मुन्दडाले जानकारी दिए ।
तयारी तेलको भन्सार महसुल १५ प्रतिशत छ । साढे २ प्रतिशत कच्चापदार्थको भन्सार हुँदा पनि १५ प्रतिशत थियो र अहिले कच्चापदार्थको १० प्रतिशत भन्सार महसुल पुराउँदा पनि तयारी तेलको १५ प्रतिशत नै छ । कच्चापदार्थ र तयारी तेलको भन्सार अन्तर ५ प्रतिशतमात्रै फरक छ । यसले आयात वृद्धि हुने उद्योगीहरू बताउँछन् । चोरीपैठारी भएर आउने र कम भन्सार महसुल तिरेर आउने तयारी तेलसित यहाँका उद्योगले प्रतिस्पर्धा गर्न नसक्ने मुन्दडा बताउँछन् । यस्तो अवस्थामा आयात ह्वात्तै बढेर मुलुकको व्यापार घाटा अझै चुलिने निश्चित छ ।
विद्युतको भोल्टेज तलमाथि हुने समस्या, प्रतिस्र्धात्मक क्षमतामा ह्रास, भन्सार महसुल, मजदुरको पारिश्रमिक र बैंकको ब्याजवृद्धिका कारण उद्योग सञ्चालन गर्ने अवस्था नरहेको उनको भनाइ छ । तीनै तहको निर्वाचनपछि बनेको सरकारले लगानीमैत्री वातावरण बनाउने आशमा बसेका उद्योगीहरू बजेटपछि झनै निराश बनेका छन् । निजी क्षेत्रलाई बेवास्ता गरेर बजेट ल्याएकोमा उद्योगीहरूले सरकारको ध्यानाकर्षण गराइसकेका छन् । औद्योगिक क्षेत्रमा समस्याका चाङ रहेको राठीको भनाइ छ । सबैभन्दा ठूलो विद्युत् ट्रिपिङको समस्या छ यतिबेला औद्योगिक क्षेत्रमा । भोल्टेज ४ सय हुनुपर्नेमा २ सयभन्दा तल दिने गरेको छ विद्युत् प्राधिकरणले । जसका कारण उद्योगका मेसिनहरू बिग्रिने समस्या उच्च रहेको राठीले बताए । “अन्य क्षेत्रमा अनुगमन हुन्छ, कमजोरी भेटिएमा कारबाही हुन्छ,” उनले भने, “तर ४ सय भोल्टेज दिनुपर्नेमा २ सयभन्दा तल दिँदा पनि उद्योगीले सहनु परेको छ । अनुगमन हुँदैन । महसुल ४ सयबराबरकै तिनुपर्छ ।”
मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा सोयाविन र सनफ्लावर तेल उत्पादन गर्ने पशुपति, बाबा, स्वस्तिक, वागमती र क्वालिटी गरी ५ उद्योग सञ्चालनमा छन् । यी उद्योगले वार्षिक ५ हजार मेक्ट्रिकटन तेल उत्पादन गर्छन् । ५ वटा तेल उद्योगमा मात्रै ६ सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । श्रीराम र अरुण वनस्पति तेल उद्योग भने बन्द भइसकेका छन् ।
त्यसो त सरकारले तोरीको आयातमा पनि भन्सार महसुल वृद्धि गरेको छ । १ प्रतिशतबाट वृद्धि गरी तोरी आयातमा ५ प्रतिशत पुराएको छ । यो क्षेत्रका तोरीको तेल उत्पादन गर्ने उद्योगले पनि आफ्नो उत्पादनमा कटौती गरेका छन् । यो क्षेत्रमा १० वटाभन्दा बढी तोरी तेल उद्योग छन् ।

प्रतिक्रिया दिनुहोस्