पशु बधशाला प्रयोगविहीन

बिर्तामोड-भद्रपुर–५ बसपार्कस्थित १ करोड रुपैयाँ लगानीमा निर्मित पशु बधशाला प्रयोगविहीन छ । नगरपालिकाको स्वामित्वमा रहेको पशु बधशालाको आन्तरिक व्यवस्थापनमा चासो नदेखाउँदा प्रयोगविहीन भएको हो ।
माछा मासु पसललाई व्यवस्थित गर्न एकद्वार प्रणालीबाट स्वच्छ तथा सफा माछामासु बिक्री वितरण गराउने उद्देश्य राखिएको बधशाला प्रयोगमा नआएको हो । २०६७ साल चैतमा कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत पशुपन्छीबजार प्रवद्र्धनबाट ३८ लाख, तत्कालीन स्थानीय विकास मन्त्रालयको जगेडा कोषबाट ४६ लाख र भद्रपुर नगरपालिकाको आन्तरिक स्रोतबाट १५ लाख गरी १ करोड १ लाख ३२ हजार ३४० रुपैयाँमा १९ कठ्ठा जग्गामा पशु बधशाला निर्माण गरिएको थियो । पशु बधशालाभित्र पसल भाडामा लिएर बसेका व्यवसायी अहिले बधशाला छाडेर नगरको चोक/चोकमा पसल थापेर माछामासु बिक्रीवितरण गर्न थालेपछि प्रयोगविहीन भएको हो ।
पशु बधशालामा रहेको १० वटा सटर (पसल) मध्ये अहिले चारवटा पसलमात्र सञ्चालनमा रहेको बताइएको छ । जथाभावी चोक÷चोकमा माछामासु पसल खोल्ने व्यवसायीलाई भद्रपुर नगरपालिकाले कानुनबमोजिम कारबाही गर्न नसक्दा पशु बधशाला प्रयोगविहीन बन्ने अवस्थामा पुगेको पशु बधशालाभित्रै सञ्चालित विजय मासु पसलका सञ्चालक विजय साहले बताए । बधशालाभित्र सरसफाइ र फोहोर मैलाको व्यवस्थापन नभएपछि बधशालाभित्रका व्यवसायी यहाँबाट पलायन भई बाहिर गएर पसल थापेर बसेको मासु व्यवसायी सन्दीप साहले बताए ।
पशु बधशालालाई व्यवस्थापन गर्न नसक्दा नगरको चोक/चोकमा माछामासु पसल खोल्ने क्रमसमेत बढेर नगरमा दुर्गन्ध फैलिनुका साथै उपभोक्ताले स्वच्छ तथा सफा माछामासु खानबाट वञ्चित हुनुपरेको नगरवासीले गुनासो गरे । नगर प्रमुख जीवनकुमार श्रेष्ठले जनप्रतिनिधि नभएको बेलामा निर्माण गरिएको बधशाला अहिले व्यवस्थापन गर्न समस्या भइरहेको बताए । बधशालालाई प्रयोगमा ल्याउन नगरपालिकाले चासो देखाउने बताउँदै उनले यसलाई प्रयोगमा ल्याउन उपभोक्ता पनि सचेत हुनुपर्ने बताए । उनले बधशालाभन्दा बाहिर चोक/चोकमा खोलिएका पसलबाट माछामासु खरिद कार्य उपभोक्ता आफैंले बन्द गर्नुपर्छ, किनभने त्यहाँबाट बिक्री गरिएको माछामासुको परीक्षण नहुनुका साथै अस्वस्थ माछामासु पनि बिक्री हुनसक्छ, त्यसका लागि उपभोक्ता आफैं जाग्नु पर्ने बताए ।