बृहत् रानीपोखरी प्रस्ताव , पुनर्निर्माणमा ४ करोड खर्च बढ्ने «

बृहत् रानीपोखरी प्रस्ताव , पुनर्निर्माणमा ४ करोड खर्च बढ्ने

काठमाडौं-काठमाडौं महानगरपालिकाले बृहत् रानीपोखरी अवधारणा अगाडि सार्दै महानगरीय प्रहरी आयुक्तको कार्यालय र त्रिचन्द्र कलेज सार्न प्रस्ताव गरेको छ ।
महानगरपालिकाले हालको रानीपोखरी, रत्नपार्क र खुलामञ्चको २०४ रोपनी जग्गामा बृहत् रानीपोखरी योजना अगाडि सारी महानगरीय प्रहरी आयुक्तको कार्यालय र त्रिचन्द्र कलेज अन्यत्रै सार्न प्रस्ताव गरेको हो । रानीपोखरी पुनर्निर्माणलाई लिएर पर्यटन मन्त्रालयले गरेको छलफलमा महानगरपालिकाले आफ्नो योजना सुनाएको हो ।
महानगरपालिकाको योजनाप्रति पर्यटनमन्त्री रवीन्द्र अधिकारी सकारात्मक देखिएका छन् । मन्त्री अधिकारीले सरोकारवाला निकायसँग गरेको छलफलमा पहिलो चरणमा रानीपोखरीको पुनर्निर्माण सम्पन्न गर्ने तथा यही बीचमा महानगरीय प्रहरी आयुक्तको कार्यालय र त्रिचन्द्र कलेज सार्ने विषयमा छलफल अगाडि बढाउने निर्णय गरेको महानगरपालिकाका भौतिक पूर्वाधार विभाग प्रमुख राम थापाले जानकारी दिए ।
मन्त्री अधिकारीले ३० महिना पहिले शिलान्यास भई अलपत्र परेको ऐतिहासिक महत्वको रानीपोखरी पुनर्निर्माणमा भविष्यमा विवाद नआओस् भन्ने प्रयोजनका लागि मंगलबार सरोकारवाला निकायसँग छलफल गरेका थिए । छलफलमा महानगरपालिकाले रानीपोखरीको पुनर्निर्माणका लागि टेन्डरसम्बन्धी डकुमेन्ट तयार भएको र आगामी शुक्रबार बस्ने कार्यपालिकाको बैठकबाट आवश्यक निर्णय गर्ने जानकारी गराएको छ । महानगरपालिकाले पुरातत्व विभागसँगको समन्वयमा तयार पारेको नयाँ डिजाइनअनुसार रानीपोखरीको पुनर्निर्माणमा १५ करोड रुपैयाँ खर्च हुने भएको छ । यो रकम पहिलेको लागत अनुमानभन्दा ४ करोड रुपैयाँ बढी हो ।
काठमाडौं महानगरपालिकाले यसअघि कंक्रिट प्रयोग गरेर रानीपोखरी पुनर्निर्माण सुरु गरेकामा चौतर्फी विरोध भएपछि सरकारको निर्देशनमा कंक्रिट भत्काई पुरानो ठेक्का नै रद्द गरेको छ । महानगरपालिकाले टेन्डरको निर्णय हुन बाँकी रहे पनि पुरातत्वविदको सुझाव प्रतिवेदनअनुसार प्रताप मल्लकालीन शैली र स्वरुपमा चालू आर्थिक वर्षभित्र रानीपोखरीको पुनर्निर्माण गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्