नमुना भएर उठ्यो यार्सा «

नमुना भएर उठ्यो यार्सा

दोलखा –यार्साकी दृष्टिविहीन डोलमाया खत्री ३ वर्षपछि घर उठेपछि अत्यन्तै हर्षित भइन् । ३ वर्षअघि भूकम्पले ढलेको घर उठेपछि आफ्नो जीवन जोखिमरहित रुपमा बाँच्नेमा उनी ढुक्क छिन् ।
मिर्गे यार्साकी खत्रीजस्तै सबैको मुहार हँसिलो छ । घर बनाउँदा एकअर्कामा भएको सहयोगात्मक भावना अब यार्साको संस्कृतिको रुपमा विकसित हुँदै गएकोमा ८३ वर्षिय पासाङ शेर्पा खुशी व्यक्त गर्छन् ।
हरियो जस्ताले छाएका एकै रङ्गका छानाले गाउँको सौन्दर्यमा निखारिएर घरहरू ठडिएका छन् । टाढैबाटै रङ्गीन जस्ताले सुन्दरता थपिदिएको छ । एउटै छानो, गाउँकै माटो र श्रम प्रयोग गरेर निकालिएको इँट्टाका जस्तै गारो, एकै प्रकृतिका झ्यालढोका प्रयोग गरेर बनेका छन् । भूगोलको बनावटअनुसार लहरै मिलेर बनेको समान डिजाइनका घर, प्रायः घर अगाडि फराकिलो आँगन ।
एकीकृत वस्तीको रुपमा घरहरू नबने पनि सबै घरहरू सडक आसपासमा बनेका छन् । भूकम्पपछि पुनर्निर्माण भएका अधिकाँश घरहरू २ कोठे बने तापनि यार्साका घर न्यूनतम ३ कोठा र परिवारको संख्या अनुसार ४ कोठा र ५ कोठेसम्म बनेका छन् ।
गाउँमै निर्मित इँटाबाट बनेका घरुहरू बाहिरबाट जति आकर्षक देखिन्छन्, भित्र पनि उत्तिकै सुविधा सम्पन्न छन् । घरभित्रै व्यवस्थित शौचालय र बाथरुम, भान्सा कोठा छन् । हरेक कोठामा उत्तिकै प्रकाश छिर्ने व्यवस्था छ । “घरहरू एकै नासको सुविधासहित बनेपछि खुशी लागेको छ” स्थानीय दातेम्बा शेर्पाले भने, “राम्रा घरले भूकम्प पनि बिर्साएको छ, अब त हाम्रा घर पनि सहरका भन्दा कम छैन जस्तो लाग्छ ।”

६ करोडमा बने ९९ नमुना घर
यार्सा गाउँको पुनर्निर्माणका लागि ६ करोड खर्च भएको छ । ९ करोड खर्चको अनुमान गरेर सम्झौता भए तापनि ६ करोडमै एउटा स्कुलको ८ कोठे भवन सहित ९९ घर निर्माण सकिएको हो । अधिकाँश शेर्पा जातिको यार्साका सबैलाई घर पुगेको छ । शहिद परिवार समाजका सचिव समेत रहेका स्थानीयबासी लक्ष्मण खड्काका अनुसार भुइँचालोमा लडेका १ सय १३ घर मध्ये ८ घर बसाइँ सरेर अन्यत्र गए ।
रोजगारीको सिलसिलामा राजधानी र देशका अन्य स्थानमा रहेका अन्य ५ जनाले घर बनाउन इच्छै देखाएनन् । सबै घरहरू बनिसकेपछि एकै खालका रङ लगाउने इच्छा गाउँलेको छ । उनीहरू गाउँबाट खावा हुँदै जिरी जोड्ने सडकलाई स्तरोन्नति गरेर यार्सामा होमस्टे चलाउन चाहन्छन् ।
लामोसाँघु–जिरी सडक खण्डमा अवस्थित दोलखाको मैनापोखरी बजारबाट ४ किलोमिटर यात्रा गरेपछि पुग्ने यार्सा वैत्येश्वर गाउँपालिका ३ स्थित मिर्गेमा पर्छ । गाउँभरी रहेका ४ सय ५० जनसंख्या केही क्षेत्री, नेवार र तमाङहरूको पनि बसोबास रहेको स्थानीय घर निर्माणमा सक्रिय स्थानीय शिक्षक तेन्जिङ शेर्पा बताउँछन् ।
यार्सा छिटै पुनर्निर्माण भएको थोरै गाउँ मध्येको एक हो । आर्थिक तथा सामाजिक रुपमा पछाडि परेको यार्साको व्यवस्थित पुनर्निर्माण यति छिटो र छरितो ढंगले सम्पन्न हुनुमा सञ्चारमाध्यमको समाचार पनि हो । यार्सामै जन्मेका पत्रकार लक्ष्मण खड्काले भूकम्पपछिको चिसोले भूकम्पपीडितहरूको ज्यानै जान थालेपछि आफ्ना सञ्चारमाध्यममा समाचार लेखे । त्यसकै प्रभाव स्वरुप गाउँको रुप नै फेरियो । आफ्नो कलमको सहाराले गाउँ नै नमुना भएकोमा खड्का आफूलाई गर्व गर्छन् ।
समाचारको प्रभाव अमेरिकामा सामाजिक संस्था चलाउँदै आएका व्यवसायी डाक्टर गेरी योङसम्म पुग्यो । उनको पहलमा गेरीको योङ लिभिङ फाउण्डेसन नामक संस्थाको सहयोगमा यार्साको मुहार फेर्न सहयोग गर्यो । फाउण्डेसनको सहयोगमा स्थानीय साझेदार सहिद परिवार समाज (फेमस)ले ती घरहरू बनाउन सहयोग गरेको हो ।
खड्काका अनुसार २०७३ जेठबाट गाउँमा धमाधम पुनर्निर्माण शुरु गरियो । गेरी आफ्ना सहयोगीसहित टेन्ट बनाएर गाउँमा बसे । फाउण्डेसनले अफ्रिकाबाट अत्याधुनिक मेसिन आयात गरेर इन्टर लक सिस्टमको हाइड्रो फार्म ब्लक उत्पादन शुरु गरियो । गाउँकै माटो प्रयोग गरेर ब्लक (इँट्टा) उत्पादन गरिएको थियो । जुन नेपालमै पहिलो प्रविधि हो । यसले गाउँ पनि उठायो, स्थानीयलाई सीप पनि हस्तान्तरण गरेको स्थानीय युवा राम खड्का बताउँछन् ।
फाउण्डेसनले घर बनाइदिने तर सेफ्टी ट्याङ्कीको वाल, छानाको काठ र झ्याल ढोका गाउँले आफैले बनाउनुपर्ने प्रस्ताव गर्यो । स्थानीय सामुदायिक वनले निःशुल्क काठ उपलब्ध गरायो । घर बनाउन स्थानीयले राज्यले दिएको पहिलो किस्ताबापतको ५० हजार लिए । बाँकी सबै फाउण्डेसन, फेमस र स्थानीयले नै लगानी गरे । एउटा घर तयार हुँदा ८ देखि १० लाखसम्म खर्च भएको उनीहरू बताउँछन् ।
घर बनाउनका लागि फाउण्डेसनबाट ३ सय बढी स्वयंसेवक अमेरिकाबाट यार्सा आएर खटिए । स्थानीय गाउँलेलाई निर्माण अवधिभर श्रमका लागि गाउँ बाहिर जान रोक लगाइयो । श्रमदानमा खटिने गाउँलेलाई प्रतिव्यक्ति दैनिक ५ सय रुपैंया दिइन्थ्यो ।

गेरीलाई गुमाउँदा गाउँ नै सोकाकुल
अमेरिकादेखि आएर आफै खटेर गल्र्यामगुर्लुम ढलेको गाउँलाई उठाइदिएका अमेरिकी नागरिक डाक्टर गेरि योङलाई भने गाउँलेले गुमाए । गाउँको पुनर्निर्माण भव्य रुपमा उद्घाटन गर्ने तयारीमा भएको बेला एक्कासी गेरी संसारमा नभएको खबरपछि यार्सा सिंगो गाउँ नै शोकाकुल बनेको छ । स्थानीय वृद्ध दातेम्बा शेर्पाका अनुसार पुनर्निर्माण सकिएलगत्तै यार्सा गाउँको भव्य समारोहबीच स्थानीयबासी र नेपाल सरकारलाई हस्तान्तरण गर्ने योजना बुनेका थिए । तर दुई साताअघि नेपालबाट अमेरिका फर्किएका गेरीको हृदयघातका कारण निधन भएको थियो ।
गेरीले पुनर्निर्माणका लागि अहोरात्र खटेर काम गरेको दातेम्बाले सुनाए । “यहाँको भूगोल र निजी जग्गाहरूको अवस्था अझ मिलेन, नभए उनले गाउँभएर गएका तीनवटै सडक किनारामा यो बस्ती बसालौं भनेका थिए ।” गेरी नहुँदा आफूले अभिभावक गुमाएझैँ भएके उनले बताए ।
दिलबहादुर केसी

प्रतिक्रिया दिनुहोस्