घोराहीमा पार्किङ तथा सडक कर

दाङ-घोराही उपमहानगरपालिकाले चालू आर्थिक वर्ष २०७५/७६ वाट पार्किङ शुल्क तथा सडक कर उठाउने भएको छ । कर उठाउनका लागि उपमहानगरपालिकाले ठेक्कासमेत आह्वान गरिसकेको छ । उपमहानगरपालिकाले २०७५ असार २३ गते सूचना प्रकाशित गरी ठेक्का आह्वान गरेको हो ।
उपमहानगरपालिकाले ठेक्का लिन चाहनेका लागि १५ दिनको समय दिएर सूचना प्रकाशित गरेको छ । ठेक्काबाट छनोट भएकाले कर उठाउने उपमहानगरपालिकाले जनाएको छ । छनोट भएकाले एक वर्षसम्मका लागि कर उठाउने अनुमति पाउने छ । नगरपालिकाले नेपालको संविधानको अनुसूची ८, स्थानीय सरकार सञ्चालन ऐन २०७४ले दिएको अधिकार प्रयोग गरी घोराही उपमहानगरपालिकाको कार्य क्षेत्रभित्र स्थान र सडक तोकेर कर लिन थालेको हो । नगरपालिकाले प्रकाशित गरेको सूचनामा पार्किङ शुल्क, तोकिएको सडकमा स्थानीय पूर्वाधार उपभोग शुल्क, जडिबुटी, कवाड, जीवजन्तु कर तथा विज्ञापन कर (नगरपालिकासँग साझेदारी सञ्चालन हुने सोलारजडित डिजिटल विज्ञापनबाहेक)को कर उठाउनका लागि ठेक्का प्रकाशित गरिएको छ ।
उपमहानगरपालिकाले यसरी पार्किङ तथा सडक कर उठाउन थालेको कार्य पहिलो पटक भएको जनाएको छ । यसअघि नगरपालिकाले पार्किङशुल्क तथा सडक कर उठाएको थिएन । नगरपालिकाका सूचना अधिकृत भीमवहादुर चौधरीले नगरपालिकाको करको दायरा वढाउने अभियानअन्र्तगत पार्किङ तथा सडक कर लिन थालिएको बताए । यसका लागि निर्देशिका बनाएर उपमहानगरपालिका अगाडि बढ्ने सूचना अधिकृत चौधरीले बताए ।
उपमहानगरपालिकाले घोराहीनया वस पार्क क्षेत्र, पाण्डवेश्वर मन्दिर धारपानी क्षेत्र, अम्बिकेश्वरी मन्दिर क्षेत्र, वराहक्षेत्र वाह्रकुने मन्दिर क्षेत्र, सिद्ध रत्ननाथ मन्दिर चौधेरा क्षेत्रमा पार्किङ गरेबापत रकम तिनुपर्ने भएको छ । यी क्षेत्रमा पार्किङ गर्नका लागि व्यवस्थित पार्किङस्थल निर्माण भने हालसम्म भएका छैनन् । यसरी व्यवस्थित पार्किङस्थल निर्माण नै नगरी नगरपालिकाले शुल्क लगाउन लागेको छ । घोराही धारपानी सडक, सरा सौडियार धर्ना सडक, खैरा कोटटे डाँडा सडक, नारायणपुर हापुर नारेबाङ सडक, रझेनामसिना सडक प्रयोग गरेवापत कर तिर्नुपर्ने भएको छ ।