आईसिटी अवार्डमा उत्कृष्ट पाँच सार्वजनिक «

आईसिटी अवार्डमा उत्कृष्ट पाँच सार्वजनिक

बुधबारदेखि अनलाइन भोटिङ सुरु

तेस्रो संस्करणको आईसिटी अवार्ड–२०१८ मा विभिन्न चरणको छनोट प्रक्रियाबाट प्रडक्ट र स्टार्टअप विधामा उत्कृट पाँचको छनोट भएको छ । बुधबार अवार्डको छनोट समितीले दुई विधामा उत्कृष्ट ५ को नाम सार्वजनिक गरेको हो ।
आयोजकका अनुसार स्टार्टअप कम्पनी अवार्डमा सेलएप इनोभेसन, एकघन्टी सर्भिसेस, नेपाली पैसा मिडिया प्रालि, पीपल डेभलपमेन्ट ल्याब प्रालि र सारथी प्रालि उत्कृष्ट ५ कम्पनीको सूचीमा पर्न सफल भएका छन् । यसैगरी आइसोलुसन लाइफ, सारथी, स्मार्टपालिका, थर्डविल नेपाल र उद्यमी नेपाल उत्कृष्ट ५ प्रडक्टमा पर्न सफल भएको जुरी संयोजक हेमपाल श्रेष्ठले जानकारी दिए ।
असार १ देखि १९ गतेसम्म खुला गरिएको अनलाइन नोमिनेसनमा विभिन्न ७ विधामा एक सयभन्दा बढीको आवेदन आएको थियो । स्टार्टअप कम्पनी अवार्डमा २७ र प्रडक्ट अवार्डमा २५ को नोमिनेसन दर्ता भएको र विभिन्न तीन चरणको छनोटबाट उत्कृष्ट पाँच सार्वजनिक गरिएको अवार्ड संयोजक तुषार न्यौपानेले जानकारी दिए । तेस्रो चरणको छनोटका रूपमा साउन ५ गते प्रतिस्पर्धीहरूको प्रिजेन्टेसन तथा स्पिड डेटिङ सम्पन्न भएको थियो । उक्त प्रिजेन्टेसन तथा स्पिड डेटिङबाट १० जनाको जुरी समूहले तेस्रो चरणको छनोटमा १२ बाट उत्कृष्ट पाँच छनोट गरिएको हो ।
उत्कृष्ट ५ मा पर्नसफल कम्पनी तथा प्रडक्टहरूका लागि बुधबारदेखि १० दिनका लागि अनलाइन तथा एसएमएस भोटिङ सञ्चालन हुनेछ । १० दिनसम्मको भोटिङ र जुरीको मूल्यांकनका आधारमा सर्वोत्कृष्टलाई विशेष अवार्ड प्रदान गरिने आयोजक समितिका अध्यक्ष राजन लम्सालले जानकारी दिए । भदौ १ गते होटल ¥याडिसनमा विभिन्न ७ विधाका सर्वोत्कृष्टलाइ अवार्ड प्रदान गरिनेछ ।
उत्कृष्ट हुने स्टार्टअप तथा प्रडक्टलाई अवार्डसँगै थप लगानीको अवसर जुटाउन सहकार्य गरिने जुरी सदस्य तथा सुस्मित इन्भेस्टमेन्टका सुशील पोखरेलले जानकारी दिए । यो अवार्ड कार्यक्रम प्रविधिको क्षेत्रमा काम गरिरहेका स्टार्टअप तथा उद्यमीहरूका लागि राम्रो प्लेटफर्म रहेको पोखरेलले बताए । अवार्डका सल्लाहकार तथा पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले आइसिटी अवार्ड सूचना प्रविधि क्षेत्रको बृहत्तर विकास र प्रवद्र्धनका लागि महत्वपूर्ण रहेको बताए ।
आईसिटी अवार्ड–२०१८ को संस्करणमा जम्मा ७ विधामा अवार्ड हुनेछ । स्टार्टअप र प्रडक्ट अवार्डबाहेक अन्य विधामा सर्वोत्कृष्ट छनोटको काम भइरहेको आयोजकले जनाएको छ । पायोनियर, डायस्पोरा, आन्टरप्रेनर्स, डिजिटल गर्भनेन्स र मिडिया अवार्डमा जुरी समूहले प्राप्त नोमिनेसनहरूको बारेमा अध्ययनको काम भइरहेको जुरी समुहले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्