राज्यमन्त्री छनोटले राजपाभित्र असन्तुष्टि «

राज्यमन्त्री छनोटले राजपाभित्र असन्तुष्टि

काठमाडौं-राष्ट्रिय जनता पार्टी (राजपा) का संयोजक महन्थ ठाकुरले आफूखुसी निर्णय गर्न थालेको भन्दै केही नेताले असन्तुष्टि जनाएका छन् । संसदीय दलको नेतामा छनोट भएयता उनले तीन राज्यमन्त्री छान्दा सबैलाई सन्तुष्ट पार्ने नीति भन्दा पनि आफ्नो राजनीतिक नजरमा ठीक ठहर गरेअनुसारको निर्णय गरेको उनीहरुको ठहर छ ।
यसअघि ठाकुरले अध्यक्ष मण्डलका विभिन्न अध्यक्षको भनाइलाई बढी ध्यान दिँदा कतिपय काम समयमा हुन नसकेको पार्टीका एक नेताले बताए । राज्यमन्त्रीको निर्णयमा सबैको कुरा सुनेर आफ्नो निर्णय गरेकोमा कतिपय नेता छक्क परेको र कतिपय दुःखी भएको ती नेताको भनाइ छ ।
अध्यक्ष मण्डलका संयोजक ठाकुरले राज्यमन्त्रीमा सुरेश मण्डल, डिम्पलकुमारी झा र अभिराम शर्मालाई सिफारिस गरी पठाएका थिए । डा. झालाई भौतिक पूर्वाधार, शर्मालाई सामाजिक विकास र मण्डललाई उद्योग, पर्यटन वन तथा वातावारण राज्यमन्त्री बनाउने निर्णय पार्टीको तर्फबाट गरिएको हो ।
यो निर्णयबाट प्रदेश नम्बर २ को सरकारमा सहभागी हुने ६ जनामा तीन जना ठाकुर निकट मानिएका छन् । यसअघि राज्यमन्त्रीमा शरतसिंह भण्डारीको तर्फबाट जैनुल राइन, अनिल झाको तर्फबाट डिम्पल झा र राजकिशोर यादवको तर्फबाट नेत्रविक्रम साहलाई बनाउने चर्चा चलेको थियो । यसअघि अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, महेन्द्र राय यादव र संयोजक ठाकुरका तर्फबाट प्रदेश सरकारमा मन्त्री भइसकेका थिए । त्यसमा सहभागी नभएका अध्यक्ष मण्डलका तीन सदस्यको तर्फबाट हुनुपर्ने र गर्नुपर्ने तर्क रहेको थियो ।
तर, निर्णय यस्तो हुन नसकेपछि चर्चामा रहेका र नपरेका पक्षधरहरू दुःखी भएका छन् भने ठाकुरको निर्णयबाट छक्क परेका छन् । पार्टीका एक नेताका अनुसार अहिलेसम्म अध्यक्ष मण्डलका सदस्यहरूले जेजे भन्थे, त्यही गरिदिने गरेका थिए । यसपटक भने ठाकुरले फरक निर्णय गरेको उनले जनाए ।
राजनीतिक पार्टीमा सामान्य रूपमा पद बाँडफाँट हुने गरेको देखिन्छ । तर यसपटक भने राजपमा त्यस्तो देखिएन । अहिले प्रदेश नम्बर २ को सरकारमा ठाकुर निकट मानिएका ३ जना छन् भने अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी र राजकिशोर यादवको तर्फबाट कोही परेका छैनन् ।
त्यतिमात्रै होइन, पार्टीले राज्यमन्त्रीको नियुक्ति गर्न नहुने प्रदेश सभा सदस्यलाई नै राज्यमन्त्री बनाइएको छ । सुरेश मण्डलले यसअघि पार्टीलाई राज्यमन्त्रीको नियुक्ति नगर्न भनेका थिए । उनले प्रदेश सरकारलाई मितव्ययिताको अभिप्रेरणा दिन यसो गर्न भनेका थिए । तिनै मण्डललाई राज्यमन्त्री बनाइएपछि पार्टी पंक्ति आश्चर्यमा छ ।
पार्टीले अध्यक्ष मण्डलका सदस्यहरूबीच पदीय बाँडफाँट नहुनुको पछाडि के कारण हुन सक्छ भनी सोधिएको प्रश्नको जवाफमा उपाध्यक्ष सत्यनारायण मण्डलले भने, “पार्टीमा गुटउपगुटको अवस्था नभएको पार्टीका नेता र कार्यकर्ता यो वा त्यो पार्टीका नभई समग्र राजपाको हो भनी देखाउन ठाकुरजी यस्तो निर्णयमा पुग्नुभएको हो जस्तो लाग्छ । अर्को पार्टीमा वरिष्ठतम राजनीतिकर्मी भएका नाताले उनले गरेको यो निर्णय ठीकै हुनुपर्छ । कोही दुःखी हुनुपर्ने कारण छैन ।”

राज्यमन्त्रीले लिए शपथ
सरकार गठन भएको पाँच महिनापछि प्रदेश २ को सरकार विस्तार भएको छ । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थको उपस्थितिमा मुख्यमन्त्री लालबाबु राउतले तीन राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।
सरकारमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका तीन नेता सहभागी भएका छन् । राजपाका सह–महामन्त्री सुरेश मण्डल उद्योग तथा पर्यटन राज्यमन्त्री, डिम्पल झा भौतिक पूर्वाधार राज्यमन्त्री र अभिराम शर्मा सामाजिक विकास राज्यमन्त्री भएका हुन् ।
शपथ ग्रहण समारोहमा मुख्यमन्त्री राउतले नेपालीमा शपथको भाषा वाचन गरे पनि मण्डल र शर्माले मैथिली र झाले हिन्दीमा शपथ लिए । राजपा अध्यक्षमण्डलको सोमबार काठमाडौँमा बसेको बैठकले सरकारमा पार्टीको तर्फबाट ३ जना राज्यमन्त्री पठाउने निर्णय गरेको थियो । प्रदेश २ मा संघीय समाजवादी फोरम र राजपाको गठबन्धनको सरकार छ ।

प्रतिक्रिया दिनुहोस्