नेप्सेमा दुई घण्टा ढिलो कारोबार

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहीबार एक बजेदेखि मात्र सेयर कारोबार खुल्यो । बुधबार बेलुकी नेप्से कार्यालयमा विद्युत् सर्किट सर्ट भएर आगलागी भएपछि बिहीबार नियमित समयमा सेयर कारोबार हुन नसकेको हो ।
नेप्से हरेक आइतबारदेखि बिहीबारसम्ममा ११ बजेदेखि ३ बजेसम्म सेयर कारोबार हुन्छ । तर, बिहीबार १ बजेदेखि ५ बजेसम्म कारोबार भएको छ । बुधबार भएको विद्युत सर्किटका कारण अन्य क्षेत्रमा पनि असर नपरोस् भनेर नयाँ विद्युतीय सर्किटको व्यवस्था गर्न लाग्दा ढिलो सेयर कारोबार सुरु भएको नेप्सेका प्रवक्ता मुरारी पराजुलीले बताए । बुधबारको आगोलागीबाट भौतिक क्षति भए पनि कति भयो भन्ने यकिन भईनसकेको पराजुलीले जानकारी दिए । “अगालागीको क्षतिको विवरणका लागि आगलागी क्षति मूल्यांकन समिति गठन गरिएको छ,” उनले भने, “समितिको रिपोर्ट आएपछि मात्रै क्षतिको यकिन हुन्छ ।” आगामी आइतबार भने नियमित समयमा नै सेयर कारोबार हुने उनले जानकारी दिए ।
ढिलो गरी कारोबार सुरु भएको सेयर बजार सकारात्मक भने हुन सकेन । कारोबार सुरु हुँदा समान्य सुधारको गतिमा देखिएको नेप्से परिसूचक धेरै लामो समय टिक्न सकेन । कारोबार भएको केही समयमा नै घट्न थालेको नेप्से बन्द हुँदासम्म कायमै रह्यो । कारोबार सुरु हुँदा १५२०.७४ अंकमा रहेको नेप्से ०.५९ अंकले घटेर १५२०.१५ अंकमा झरेको छ । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि समान्य अंकले घटेको छ ।
साताको अन्तिम दिन बिहीबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचक मध्ये बैंकिङ १.९३, होटल २७.६४, विकास बैंक १.५८, जलविद्युत् २३.४८ र बिमा समूह २०.५७ अंकले घटेका छन् । तर, कारोबार भएका व्यापार ३.१३, बित्त ४.२३, उत्पादनमूलक ४.०९, अन्य १३.५९ र लघुवित्त समूह भने २.५९ अंकले बढेका छन् ।
बिहीबार नेप्सेमा कारोबार रकममा समेत गिरावट आएको छ । नेप्सेमा १५३ कम्पनीको ४ हजार ४ सय २ कारोबारबाट ४५ करोड ३१ लाख रूपैयाँ बरावरको १४ लाख ८४ हजार ३ सय ६१ कित्ता सेयर कारोबार भएको छ ।