गृहका उच्च अधिकारीको सरुवा «

गृहका उच्च अधिकारीको सरुवा

काठमाडौं-गृह मन्त्रालयले ३ दर्जन उच्च अधिकारीहरूको एकैसाथ सरुवा गरेको छ । प्रमुख जिल्ला अधिकारी, अध्यागमन विभाग, इलाका प्रशासन कार्यालय तथा मन्त्रलयमा कार्यरत ३ दर्जन सहसचिव तथा उपसचिवहरूको सरुवा गरेको हो ।
सरुवामा तत्कालिन एमाले र माओवादी निकट मानिएका कर्मचारीलाई काखा च्यापिएको सरुवा भएका मध्येकै एक उपसचिवले टिप्पणी गरेका छन् । गृह मन्त्रालयका अनुसार कतिपय सहसचिव तथा उपसचिवलाई आकर्षक ठाउँबाट पुनः आकर्षक मानिएका अड्डामै सरुवा गरिएको छ ।
भनसुन र पहुँच नभएका तथा प्रतिपक्षी कांग्रेस निकट मानिएका कर्मचारी कम आकर्षक कार्यालयमा सरुवा भएका छन् । सुन तस्करी छानबिन समितिका संयोजक रहेका सहसचिव ईश्वरराज पौडेल अध्यागमन विभागको महानिर्देशकमा सरुवा भएका छन् । अध्यागमन विभागका महानिर्देशक दीपक काफ्ले राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रमा सरुवा भएका छन् । त्यस्तै मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य काठमाडौंको प्रजिअ बनेका छन् ।
काठमाडौंका प्रजिअ केदारनाथ शर्मा गृह मन्त्रालय तानिएका छन् । गृहका प्रेमराज जोशी जिल्ला प्रशासन कार्यालय ललितपुर सरुवा भएका छन् भने ललितपुरका प्रजिअ महादेव पन्थको गृह मन्त्रालय सरुवा भएको छ । कास्कीका प्रजिअ तारानाथ अधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागन अधिकृत, मकवानपुरका प्रजिअ चक्रबहादुर बूढा कास्की, बाँकेका प्रजिअ जिप्रका मोरङ, कपिल बस्तुका मदन भुजेल बाँके प्रशासन, प्युठानका प्रजिअ डा. कृष्णबहादुर घिमिरे सुनसरी सरुवा भएका छन् । गृहका युवराज कट्टेल प्रहरी कितावखाना सरुवा भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा वादल, गृहसचिव प्रेमकुमार राई लगायत सत्ता निकटको प्रभावमा प्रजिअको सरुवा भएको एक असन्तुष्ट सहसचिवको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्