अतिक्रमणको चपेटामा बारा सेज «

अतिक्रमणको चपेटामा बारा सेज

सिमरा-विशेष आर्थिक क्षेत्र ‘सेज’ निर्माण क्षेत्रमा निजी संरचना बन्ने क्रम नरोकिएपछि सेज अतिक्रमणमा परेको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा पर्ने ८ सय ३२ विगाहा क्षेत्रफल जमिनमा सरकारले विशेष आर्थिक क्षेत्र निर्माण थाले पनि त्यहाँका स्थानीयले सेजको जग्गामा निजी संरचना बनाउने कार्य सुरु गरेपछि सेज अतिक्रमणमा परेको हो ।
८ सय ३२ विगाहा जमिनलाई कुल ५ वटा ब्लकमा विभाजन गरी सेज निर्माण कार्य भइरहेको छ । जसमध्य जितपुरसिमरा ४ मा १, १४ मा २ र १५ मा २ वटा ब्लक छन् । सिमरा–डुमरवाना सडक खण्डको विचमा पर्ने दुधौरा खोला पश्चिमतर्फ रहेको ब्लक ‘ए’ मा सेज निर्माणको काम धमाधम अघि बढिरहेकाले व्यक्तिले निजी संरचना बनाउने समस्या छैन तर दुधौरा खोला पूर्व १४ र १५ नम्बर वडामा अहिले पनि सेजमा निजी संरचना थपिने क्रम बढिरहेकाले सेजको निर्माण र व्यवस्थापनमा चुनौती थपिने देखिएको छ ।
जितपुर सिमरा उपमहानगरपालिका–१४ मा पर्ने स्याउली चोकमा अहिले स्थानीय केही व्यक्तिले पक्कि घर बनाइरहेका छन् । यस्तै १५ नम्बर वडामा पर्ने भारती चोकमा पनि उस्तै समस्या छ । १५ नम्बर वडाकै भवानीपुर, सुक्लैया क्षेत्रमा पनि स्थानीयले सेजको जग्गामा निजी संरचना बनाइरहेका छन् ।
विशेष आर्थिक क्षेत्र प्राधिकरणको सिमरा औराहामा रहेको साइट कार्यालयका अनुसार स्थानीयवासीलाई पटक–पटक निजी संरचनाहरू नबनाउन आग्रह गरिएको छ । कार्यालयका सब इन्जिनियर अजय चौधरीका अनुसार स्थानीय प्रशासनमार्फत पनि निजी संरचना थप गर्न नदिन सेजले पहल गरेको छ ।
जितपुर सिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिले पनि स्थानीयलाई सेजको जग्गामा घरटहरा निर्माण नगर्न पटक–पटक आग्रह गरेका छन् । नगरप्रमुख डा. कृष्ण पौडेलले सेजको जग्गामा निजी संरचना नबनाउन मौखिक तथा लिखित रूपमा समेत स्थानीयलाई सचेत गराएको बताए । “सेजको जग्गाबाट स्थानीयवासी हट्नै पर्ने भएकाले आफ्नो लगानी नडुवाउन हामिले स्थानीयलाई पटक–पटक आग्रह गरिरहेका छौं,” नगरप्रमुख पौडेलले भने ।
जितपुरसिमरा–१५ का वडा अध्यक्ष रामप्रसाद लामिछानेले वडा स्तरबाट आफूहरूले गरेको आग्रहलाई स्थानीयले अटेर गरेपछि मन्त्रालय सम्मनै जानकारी गराएको बताए । “सेजको जग्गामा भएका संरचनाको व्यवस्थापन चुनौती बनिरहेका बेला नयाँ संरचना थपिँदै गएकाले हामीले स्थानीय प्रशासन र उद्योग मन्त्रालयसम्म नै यसको नियन्त्रणका लागि पत्राचार गरेका छौं,” वडा अध्यक्ष रामप्रसाद लामिछानेले भने ।
बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईले सेजको जग्गामा निजी संरचना बन्ने क्रम बढेको विषयमा आफूहरूकहाँ स्थानीय निकायले जानकारी गराइसकेको र त्यसलाई रोक्ने प्रक्रिया अघि बढाइएको बताए । वीरगन्ज चिनी कारखानाले उखु खेती गर्न छाडेपछि स्थानीयवासीले खेती गर्दै आएको विशेष आर्थिक क्षेत्र निर्माण हुने उक्त जग्गा स्थानीयवासीबीच खरिद बिक्रीसमेत हुने गरेको पाइएको छ ।
जितपुर सिमरा उपमहानगरपालिका–१५ भारतीचोकमा १० धुर जग्गामा २ लाख रुपैयाँ खर्च गरेर चार महिना अघि घर बनाएकी एक स्थानीयले आफूले ६५ हजार रुपैयाँमा उक्त जग्गा खरिद गरेको जानकारी दिइन् । नाम नछाप्ने शर्तमा सेजको जग्गा आफूलाई बिक्री गर्ने स्थानीय एक आफन्तको नामसमेत उनले बताइन् ।
उनी जस्तै सेजको जग्गा खरिद गरेर घर बनाउनेको संख्या जितपुरसिमरा १४ र १५ मा एक सयभन्दा बढी छन् । सबैलाई जग्गा बिक्री गर्नेले उक्त जग्गाको लालपुर्जा समेत पाइने र त्यहाँबाट हट्नै पर्ने भए अन्यत्र मुआब्जा पाइने प्रलोभन देखाएका छन् । जितपुर सिमरा उपमहानगरपालिका ४ औराहा, १४ को दुधौरा खोला पूर्वरजघट्टा, वेहरी क्षेत्र यस्तै १५ को वालगंगा खोला पश्चिम सुक्लैया, डुमरवाना र हात्तीसार क्षेत्रमा विशेष आर्थिक क्षेत्र निर्माण भइरहेको छ । कुल ८ सय ३२ विगाहा मध्य ३४३ विगाहामा फैलिएको जितपुरसिमरा ४ औराहा तर्फको ‘ए’ ब्लकमा गार्मेन्ट प्रोसेसिङ जोन निर्माण भइरहेको छ ।
जितपुरसिमरा १४ मा पर्ने व्लक ‘बी’ र व्लक ‘सि’ यस्तै जीतपुरसिमरा १५ मा पर्ने ब्लक ‘डि’ र ब्लक ‘ई’ मा कम्पाउण्ड वाल निर्माणको क्रम चलिरहेको छ । सिमरा स्थित विशेष आर्थिक क्षेत्र सेजको फिल्ड कार्यालयका अनुसार जितपुरसिमरा १४ र १५ मा पर्ने चारवटै ब्लकको थप कम्पाउण्ड वाल निर्माणका लागि समेत प्रक्रिया अघि बढिसकेको छ ।
ब्लक ‘बी’ मा १२८ विगाहा, ब्लक ‘सी’ मा ४९.५ विगाहा, ब्लक ‘डी’ मा १७८.५ विगाहा र ब्ल ‘ई’ मा १३३ विगाहा क्षेत्रफल जमिनमा विशेष आर्थिक क्षेत्र निर्माण हुँदैछ ।
प्रकाश लम्साल

 

प्रतिक्रिया दिनुहोस्