महिला उद्यमशीलताबाट मासिक ३० हजार आम्दानी «

महिला उद्यमशीलताबाट मासिक ३० हजार आम्दानी

तेह्रथुम– लालीगुराँस नगरपालिका–१ टुटेकी विष्णु लिम्वुले घरमै वसेर मासिक ३० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएकी छिन् । उनले दूधबाट बन्ने बिभिन्न प्रकारका खाद्यसामग्रीहरू तयार गर्ने उद्योग सञ्चालन गरी मासिक ३० हजारसम्म कमाएको बताइन् । दुई वर्षअघि तीन लाख रुपैयाँ लगानीबाट सुरु गरेको उद्योगमा दूधजन्य परिकारहरू खुवा, छुर्पी, दही, घिउ, पनिर, चकलेट, ललीपपलगायतका स्वादिष्ट खाद्य वस्तु उत्पादन हुने गरेका छन् ।
“घरको आर्थिक अवस्था कमजोर भएकाले मेरो श्रीमान् लाखबहादुर लिम्बु पैसा कमाउन करिब १० वर्षसम्म खाडीका विभिन्न मुलुक बसे,” लिम्बुले भनिन्, “बिदेसमा जति दुःख गर्दा पनि श्रीमान्ले भनेजस्तो आम्दानी गर्न नकसेपछि आफैं केही गर्ने सोचले उद्यमतिर लागेको हुँ ।” श्रीमान्ले कमाईले दुई छोरा पढाउनसमेत नपुगे पछि आफैं उद्यमतिर लागेको उनले बताइन् ।
श्रीमान्ले विदेशबाट पठाएको केही पैसा, साथीभाइ र स्थानीय सहकारीमार्फत ऋण खोजेर सुरु गरेको उद्योगले अहिले राम्रै आमदानी गरिरहेको लिम्बुुले बताइन् । महिलाले आफै उद्योग खोलेर आम्दानी गरेको देखेपछि आसपास क्षेत्रका पुरुषहरूसमेत चकित भएका छन् । उनी उद्योगका लागि चाहिने दूध वरिपरि गाउ“का किसानसँग खरिद गर्छिन् । “उद्योगमा दैनिक दुई सय लिटर दूध खपत हुँदै आएको छ,” लिम्बु भन्छिन्, “दूध प्रतिलिटर ४५ रुपैयाँका किन्छु, रामै्र आम्दानी हुन्छ ।” उनको उद्योगमा दूध खपत हुन थालेपछि आपसासका केवुक, नेभाङ, साव्रा, भुल्के, मुसाङखेल, फुलेक, मारेककटहरे, तामाफोक लगायतका गाउ“मा व्यवासायिक गाईपालन व्यवसायीलाई समेत राहत मिलेकोे छ ।
उद्योगमा दैनिक नौ हजारको दुध खरीद गर्दै अँएको उद्यमीले लिम्वुले वताईन् । उद्योग खुलेपछि खाद्य पदार्थ पकाउन चाहिने ईन्धनको प्रमुख स्रोत दाउराको विक्री समेत वढेको छ । उनको उद्यँेगलाई दाउरा विक्री गरेर स्थानीय महिलाले समेत राम्रो आम्दानी गरीरहेका छन् । गत वर्ष उनले स्थानीय संग एक लाख २० हजारको दाउरा खरीद गरेको वताईन् । यो वर्ष गत वर्षको भन्दा दोव्वर दाउरा खरीद गर्ने तयारीमा रहेको सुनाईन् । दुई वर्षको अवधिमा उनको उद्योगमा लगानी वढेर दश लाख रुपैंया वढी पुगेको छ । उनको उद्योगमा तिन जनाले रोजगारी समेत पाएका छन् ।
उद्योगमा उत्पादित दूधजन्य खाद्य वस्तु धरान, विराटनगर, दमक, पोखरा, काठमाडौंसम्म निर्यात हुने गरेको छ । केही महिनायता काठमाडौंका व्यापारीमार्फत आफ्नो उत्पादन अमेरिका, बेलायत, सिंगापुर, हङकङलगायतका देशसम्म पुगिरहेको उनले बताइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्