स्याङ्जामा २२ करोड राजस्व संकलन

स्याङ्जा- जिल्लाका सरकारी निकायबाट आर्थिक वर्ष २०७४-७५ मा २२ करोड १ लाख ५२ हजार राजस्व संकलन भएको छ । कर तर्फ १४ करोड ९७ लाख ८७ हजार र गैरकरतर्फ ७ करोड ३ लाख ६५ हजार गरि उक्त राजस्व संकलन भएको हो ।
करका शीर्षकअनुसार आयकर ६ करोड ८४ लाख ४४ हजार संकलन हुँदा घरजग्गा रजिष्ट्रेसन शुल्कवापत ३ करोड २२ लाख राजस्व संकलन कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । कार्यालय अनुसार सामाजिक सुरक्षा करमा २ करोड १३ लाख १० संकलन भएको छ भने कम्पनी रजिष्ट्रेसनमा ८० लाख राजस्व संकलन भएको छ ।
जिल्लामा सबैभन्दा बढी राजस्व संकलन गर्ने कार्यालयमा कोष तथा लेखा नियन्त्रण कार्यालय रहेको छ । उक्त कार्यालयले आय कर वापत ६ करोड ८४ लाख ४४ हजार संकलन गरेको छ भने सामाजिक सुरक्षा करमा २ करोड १३ लाख १० हजार र मूल्य अभिवृद्धि करतर्फ ९३ लाख ९४ हजार राजस्व संकलन गरेको छ ।
जिल्ला मालपोत कार्यालयले ३ करोड ७२ लाख ५९ हजार संकलन गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । गएको आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालयले ३ करोड ५७ लाख २ हजार संकलन गरेको कोष नियन्त्रक जयराम पौडेलले जानकारी दिएका छन् । जिल्ला शिक्षा कार्यालले १ करोड ५२ लाख संकलन गरेको कोलेनिकाले जनाएको छ । त्यसैगरी घरेलु कार्यालयले कम्पनी रजिष्टेशन वापत ८२ लाख ६३ हजार संकलन गर्दा ट्राफिक प्रहरीले सवारी साधन नियम उल्लंघन गरेका सवारी साधनलाई कारबाही गर्दा ७५ लाख ४६ हजार राजस्व संकलन भएको छ ।
मालपोत कार्यालयले संकलन गरेको तर संघीय सरकारलाई दिन नपर्ने ५ करोड २६ लाख २३ हजार रकम स्थानीय तहलाई समानुपातिक आधारमा वितरण गरेको छ । कुल संकलित राजस्व रकम मध्ये करतर्फ ६८ प्रतिशत र गैर करतर्फ ३२ प्रतिशत राजस्व संकलन भएको कोलेनिकाले जनाएको छ ।