हेटौंडा औद्योगिक क्षेत्रबाट निर्यात बर्सेनि खस्कँदो «

हेटौंडा औद्योगिक क्षेत्रबाट निर्यात बर्सेनि खस्कँदो

देशकै ठूलो क्षेत्रफल भएको हेटौंडा औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरूले गर्ने निर्यात व्यापारमा पछिल्ला वर्षहरूमा भारी गिरावट आएको छ । ४ वर्षअघिको तुलनामा गत आर्थिकवर्षको निर्यात व्यापार झण्डै ५० प्रतिशतले खस्किएको देखिएको छ ।
विशेषगरी क्रसरजन्य पदार्थको निकासीमा मकवानपुरको निर्यात व्यापार निर्भर थियो । क्रसरजन्य पदार्थको निर्यातमा सरकारले रोक लगाएपछि निर्यात व्यापार पनि ओरालो लागेको हो । पाँच वर्षअघि मकवानपुरका २५ निर्यातमूलक उद्योगमध्ये १९ वटा त क्रसरजन्य नै थिए । त्यस्तै युनिलिभर नेपाल, एसियन पेन्ट्स्, एन्टार्टिक बिस्कुट जस्ता वहुर्राष्ट्रिय उद्योगले पनि चार वर्षदेखि आफ्नो उत्पादन निर्यात गरेका छैनन् ।
आव २०७०-०७१ मा भने मकवानपुरबाट निर्यात ब्यापार गर्ने उद्योगको संख्या २२ थियो । अहिले त्यो संख्या घटेको आधा दर्जनमा झरेको छ । आव २०७१-०७२ मा ४८ करोड ७७ लाख रुपैयाँको उत्पादन निर्यात भएकोमा आव २०७४-०७५ मा आइपुग्दा २६ करोड ६७ लाख रुपैयाँमा झरेको मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ । आव २०७२-०७३ मा ३७ करोड ५ लाख रुपैयाँको सामान निर्यात भएकोमा आव २०७३-०७४ मा ३५ करोडमा झरेको थियो । एकवर्षकै अन्तरालमा आव २०७४-७५ मा भने झण्डै ९ करोडले निर्यात व्यापार घटेको तथ्यांक छ ।
मकवानपुरका उद्योगबाट उत्पादित वस्तुहरू हाल भारतमा मात्र निर्यात हुने गरेको छ । तेस्रो मुलुकमा हुने निर्यात प्रायः ठप्प छ । उद्योगहरूले वस्तु उत्पादन भन्दा पनि ट्रेडिङ व्यवसायतर्फ ध्यान दिएकाले निर्यात व्यापारमा गिरावट आइरहेको उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालको भनाइ छ । स्वदेशमा वस्तु उत्पादन गर्ने उद्योगलाई बढी कर लिने र अन्य देशबाट सामान ल्याई मार्केटिङ गर्ने उद्योगलाई प्रोत्साहित गर्ने गरिएकाले निर्यात व्यापारमा ह्रास आएको अर्यालको दावी छ ।
मकवानपुर उद्योग वाणिज्य संघले सार्वजनिक गरेको एक तथ्यांक अनुसार पछिल्लो ५ वर्षमा हरेक वर्ष २० देखि ३० प्रतिशतका दरले निर्यात व्यापारमा गिरावट हुँदै आएको छ । आव २०६८-६९ मा ३१ वटा उद्योगले निर्यात ब्यापार गरेकोमा आव २०६९-०७० मा २८ उद्योगले भारत तथा तेस्रो मुलुक निर्यात ब्यापार गरे । आव २०७०-०७१ मा मकवानपुरका २२ उद्योगले निर्यात ब्यापार गरेको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिए । बितेको आर्थिक वर्षमा मकवानपुरबाट बालाजी नेचुरल इण्डष्ट्रिज, सीएसआई नेपाल प्रालि र प्रोजिओकेम प्रालिले मात्र भारतमा उत्पादन बिक्री गरेका छन् ।
बालाजीले लौठसल्ला प्रशोधन गरी टेक्सास बोकाटालगायत औषधिजन्य वस्तु निर्यात गर्दै आएको छ । भने सीएसआईले कोल्ड ड्रिङ्स्को बोटलको बिर्को निर्यात गर्दछ । प्रोजिओकेमले पोलिथिन र फाइबरका भाँडा बनाउने केमिकल उत्पादन गरी विदेश पठाउने गरेको छ । बितेको वर्ष एसियन पेन्ट्स् प्रालि, नेचुरल फ्लावर एण्ड हर्वल प्रालि, नेपाल इकारात इञ्जिनियरिङ प्रालि, सौभाग्य ह्याण्डीक्राफ्टको निर्यात व्यापार शून्य रह्यो । अघिल्ला वर्षहरू यी उद्योगले निर्यात व्यापारमा राम्रो योगदान गर्ने गरेका थिए । मकवानपुरमा रहेका आधा दर्जन बहुर्राष्ट्रिय कम्पनीमध्ये सीएसआई नेपालले मात्र निर्यात ब्यापार गरिरहेको छ ।
देशकै कुल निर्यात व्यापारमा वृद्धि भइरहेको बेला मकवानपुरको निर्यात भने बर्सेनि ओरालो लाग्दै आएको देखिएको छ । बितेको वर्ष मुलुकभरको निर्यात व्यापार करिब १० प्रतिशतले बढेकोमा मकवानपुरबाट हुने निर्यात भने करिब २४ प्रतिशतले गिरावट आएको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कटुवालले बताए ।
हेटौंडामा औद्योगिक क्षेत्र–२ निर्माणको क्रममा रहेको र औद्योगिक क्षेत्र–१ मा पनि उद्योग सञ्चालनको राम्रो वातावरण बनेमा भारतलगायत तेस्रो मुलुकमा सामान निर्यात गर्ने उद्योग थपिने उद्योगीको विश्वास रहेको छ । तीन नम्बर प्रदेशको अस्थायी राजधानी हेटौंडा तोकिएसँगै यहाँ औद्योगिक वातावरण राम्रो हुँदै जाने र नयाँ उद्योग पनि थपिने अपेक्षा गरिएको उद्योग संघका अध्यक्ष अर्यालको विश्वास छ । हेटौंडा औद्योगिक क्षेत्रमा हाल झण्डै सयवटा उद्योग सञ्चालनमा छन् । केही समयअघि मात्र मात्र फेसन पेन्ट्स्, श्री हाइड्रो पावर, लक्ष्मी टेक्नोप्लास्ट, सूर्य पेन्ट्स्लगायत नयाँ उद्योग सञ्चालनमा आएका छन् । औद्योगिक क्षेत्रमा हाल चार हजार जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्