कानुनमन्त्री तामाङले दिए राजीनामा «

कानुनमन्त्री तामाङले दिए राजीनामा

‘नैतिकताको आधारमा पदमा बसिरहन उपयुक्त ठानिनँ’

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले नैतिकताका आधारमा भन्दै राजीनामा दिएका छन् । बंगलादेशमा चिकित्सा शास्त्र अध्ययन गरिरहेका छात्राहरुले शरीर नसुम्पिकन सर्टिफिकेट नपाउने भन्दै अभिव्यक्ति दिएपछि उनी विवादमा तानिएका थिए ।
उनले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै पदबाट मन्त्री राजीनामा दिएका हुन् । “प्रधानमन्त्री एवं सरकारले अगाड सारेको समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारामार्फत् देश विकासको पूर्वाधार खडा गरिरहेको अवस्थामा सरकारकै असफलताको रुपमा जोडेर अतिरञ्जित नाराहरु लगाउने कार्य भइरहेकोले प्रधानमन्त्री र सरकारलाई सफल बनाउन र निहित स्वार्थ बोकेकाहरुलाई परास्त गर्न म मेरो पदभन्दा पनि प्रतिष्ठाको खातिर काम गर्ने व्यक्ति भएकाले मैले मन्त्री पदबाट राजीनामा दिनुपर्छ भन्ने ठानी नैतिकताको आधारमा प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गरेको छु,” उनले भने ।
राजीनामा घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री तामाङ केही भावुक देखिएका थिए । तामाङले सुरुमा आफूले मन्त्री भएपछि गरेका कामको बारेमा चर्चा गर्दै भ्रष्टाचार निवारण र सुशासनका लागि आफूले धेरै काम गरेको सुनाए । उनले आफू र आफ्नो परिवार पहिलेदेखि नै महिलाको वंशको अधिकारको बारेमा लडिरहेको बताउँदै नेपालका नारीहरुप्रति आफ्नो सम्मान रहेको भन्दै आफूले बोलेको कुरालाई अतिरञ्जना गरिएको बताए । “मैले जानी जानी कसैलाई सिध्याउन काम गरेको छैन । जुन विषय उजागर गर्छ, त्यही विषयले लखेट्दोरहेछ,” मन्त्री तामाङले भने, “आज महिलाको इस्युको विषयमा बोलिएको शब्दका कारणले यो अवस्थामा आइपुगेको हो ।”

प्रतिक्रिया दिनुहोस्