तीन वर्षभित्र द्रुतगतिको आर्थिक वृद्धि गर्ने देश : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई तीन वर्षभित्र तीव्र गतिको आर्थिक वृद्धि गर्ने देशहरूको लहरमा पु-याउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेकपा निकट प्रेस चौतारी र प्रेस सेन्टर आबद्ध पत्रकारहरूसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
सरकारले सुशासन र विकासलाई केन्द्रमा राखेर अघि बढेको बताउँदै ओलीले भने, “यो वर्ष ८ प्रतिशतको आर्थिक वृद्धि प्राप्त गर्छौ । तीन वर्षभित्र तीव्र गतिको आर्थिक वृद्धि गर्ने देशहरूको रूपमा नेपाललाई पु-याउँछौं ।”
पर्यटन क्षेत्रका आँकडाहरू उत्साहित हुने खालको भएको बताउँदै उनले यसलाई अझ बढी विस्तार गर्ने योजनालाई अगाडि बढाइरहेको जनाए । “नेपाल कृषिप्रधान देश हो । यहाँको कृषि क्षेत्रलाई कसरी विकास गर्न सकिन्छ, त्यसबारे इजरायललगायत विभिन्न देशको अध्ययन गर्न पठाएर नीति बनाउन लगाउने काम भइरहेको छ । इजरायलमा हाम्रोजस्तो मलिलो र उब्जाउ भूमि नभए पनि त्यहाँको दुई प्रतिशतले गर्ने उत्पादनबाट देशभर खान पुग्ने गरेको छ । हामी त्यसो गर्न सक्छौं । हामीले कृषिमा आधारित जनसंख्यालाई घटाएर अर्को क्षेत्रमा क्रियाशील गर्नेछौं ।”
प्रतिपक्ष दल नेपाली कांग्रेस निर्वस्त्र भएर हाम्रा विरूद्ध लागेको बताउँदै उनले भने, “सरकार हटाउन पाइँदैन भन्ने होइन, पाइन्छ । तर त्यसका लागि विधि र प्रक्रिया छ । हामीले मिलेर बनाएको संविधान छ । चुनावबाट हटाउन मिल्छ ।”
केहीले बुर्का लगाएर सरकारलाई लखेट्ने काम गरिरहेको टिप्पणी गर्दै उनले केहीले बुर्का हटाएर गरिरहेको बताए । आफूलाई लोकतान्त्रिक भन्ने नेपाली कांग्रेस यति चाँडो निर्वस्त्र भएर आउँछ भन्ने आफूलाई नलागेको उनको भनाइ थियो । नेपाली कांग्रेससँग राजनीतिक एजेन्डा नभएर अनसनमा रहेका डा. केसीको मुद्दा बनाएको बताउँदै उनले भने “कांग्रेससँग एजेन्डा छैन् । कांग्रेसको जुलुश फैलिँदै छ भन्ने लागेको होला । कांग्रेसका ७७ जिल्लामा संगठन छ । ती सबै जिल्लामा कांग्रेस देखिए भनेर चिन्ता मान्नु पर्दैन ।”
सोही कार्यक्रममा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनियोजित तवरले सरकामाथि हमला गर्न थालेको बताए ।