चिनियाँ पर्यटकका लागि जापान उत्कृष्ट गन्तव्य

२० र ४० को उमेरका चिनियाँ पर्यटकका लागि जापान विश्वकै उत्कृष्ट गन्तव्य भएको जापान एक्स्टर्नल ट्रेड अर्गनाइजेसनले गरेको पछिल्लो सर्भेले देखाएको छ ।सर्भे सुरु गरिएको वर्ष २०१३ देखि पहिलो पटक चिनियाँ पर्यटकका लागि जापान उत्कृष्ट गन्तव्य भएको हो ।यो सर्भे बेइजिङ, सांघाई र गुवानझोउलगायतका चीनका ६ सहरमा बस्ने १ हजार २ सय २४ मध्यम र उच्च आम्दानी भएका मानिसमाझ गरिएको थियो ।सर्भेमा समावेश भएका ९ मध्ये जापान पहिलो स्थानमा परेको हो । सर्भेमा सहभागी ४०.२ प्रतिशतले जापानलाई आफ्नो पर्यटकीय गन्तव्यका रूपमा छनोट गरेका थिए । दोस्रो स्थानमा अमेरिका परेको छ । ३९.९ प्रतिशत सहभागीले अमेरिकालाई छनोट गरेका छन् । तेस्रो स्थानमा ३७.४ प्रतिशतसहित इटाली परेको छ । अमेरिका र इटाली दुवैको स्थान अघिल्लो सर्भेको तुलनामा तल झरेको छ ।
जापान आउने चिनियाँ पर्यटकमध्ये ६० प्रतिशतले मनोरन्जनात्मक पार्कको भ्रमण गर्ने इच्छा व्यक्त गरेका छन् । यो सपिङ र डाइनिङका लागि जापान भ्रमण गर्नेको संख्याभन्दा उच्च हो । चेरी ब्लुसम हेर्न चाहनेको संख्या ४२.३ प्रतिशत छ ।
चिनियाँहरू अनुभव आधारित उपभोगमा बढी इच्छुक भएको सर्भेले सुझाएको छ ।
“जापान र चीनको सम्बन्धमा लगातार सुधार आएसँगै जापानमा विदेशी पर्यटकले गर्ने उपभोगमा पनि लगातार वृद्धि भएको छ,” जेट्राका अधिकारीले बताए ।
जापान भ्रमण गर्ने इच्छा व्यक्त गर्ने सहभागीमध्ये ६१.१ प्रतिशतले चीनमा बस्दै आएका आफ्ना नातेदार र साथीले जापान भ्रमणका बारेमा जानकारी पाउने गरेको बताएका छन् । ८.२ प्रतिशतले मात्रै इन्टरनेटबाट सूचना प्राप्त गर्ने गरेको बताएका छन् ।धेरै सहभागीले जापानी जनता भद्र भएको र राम्रो सेवाको प्रस्ताव गर्ने गरेको बताएका छन् ।
सबै सहभागीको ६७.७ प्रतिशतले आफूहरूले सीमापार ई–कमर्सको प्रयोग गरे जापानबाट सामान किन्ने गरेको बताए । उनीहरूमध्ये धेरैजसोले आफ्नो विगतको जापान भ्रमणको क्रममा मन परेकाले आफूहरूले जापानी सामान किन्ने गरेको बताएका छन् ।जापानमा बढ्दो संख्याको पर्यटकका कारण विदेशमा जापानी सामानको अनलाइन खरिद गर्ने गरेको जेट्रोका अधिकारीले बताएका छन् ।