जमाना अब फ्लाइङ कारको «

जमाना अब फ्लाइङ कारको

विश्वमा नविनतम प्रविधि र त्यस्ता प्रविधिमा आधारित नयाँ वस्तुहरुको उत्पादन भइरहेको छ । ठूला कम्पनीहरुले यस्तो क्षेत्रमा लगानी गरि नै रहेका छन् । यो सवारीसाधनको क्षेत्रमा पनि व्यापक रहेको छ । अहिले विद्युतीय सवारीमा संसारको आँखा गढेको छ । त्यसैले ठूला सवारी उत्पादक कम्पनीहरु विद्युतीय सवारीमा केन्द्रीत हुन थालेका छन् ।
त्यतिमात्र होइन, अब फ्लाइङ कारको उत्पादनमा पनि कम्पनीहरु लागिपरेका छन् । हाइब्रिड–इलेक्ट्रिक फ्लाइङ कारमा विलासी स्पोर्टस् कार निर्माता कम्पनी एस्टोन मार्टिनले व्यापक लगानी गरेको देखिन्छ । कम्पनीले यस्तो कारलाई भविष्यको यात्रा भनेको छ । यसै साता कम्पनीले भविष्यको निजी एयरक्राफ्टका रुपमा फ्लाइङ कार सार्वजनिक गरेको हो । एक दिनको यात्राका लागि यो कार निक्कै उपयोगी हुनेछ । तीन सिटर हाइब्रिड–इलेक्ट्रिक सवारी फार्नवर्ग एयर शोमा उक्त कार सार्वजनिक भएको हो ।

प्रकाशको जस्तै गतिमा उड्न सक्ने
भोलान्ट भिजन कन्सेप्टमा आधारित भएर डिजाइन गरिएको यो कार जमिटबाट सिधै (भर्टिकल) उड्न र ल्यान्ड गर्न (भीटीओएल) सक्छ । यो कार प्रतिघण्टा करिब २ सय माइल अर्थात् ३ सय २२ किलोमिटर उड्न सक्छ ।
भोलान्ट भिजन कन्सेप्टलाई एरोस्पेस प्रविधिमा निक्कै आधुनिक मानिन्छ । एस्टोन मार्टिनले यो फ्लाइङ कार त्यही प्रविधिमा आधारित भएर उत्पादन भएको छ । यो कार इलेक्ट्रिफिकेसन र अटोनोमस प्रविधिमा एस्टोन मार्टिनको आफ्नै डिजाइनमा हुनेछ । एस्टोन मार्टिनले उत्पादन गर्ने यस्तो कार स्वचालिन फ्लाइङ प्रविधिमा बन्ने छ भने सहर तथा नजिकका सहरहरुमा हवाई यात्रा गर्न सहज हुनेछ । यो कारको प्रयोगबाट छिटो पुग्न सकिने, जाममा बस्नु नपर्ने उत्पादकको भनाइ छ ।

उच्च क्षमता
यो कार पूर्ण विद्युतीय भने होइन । यो हाइब्रिड–इलेक्ट्रिक कार हो । फ्लाइङ कारमा निक्कै शक्तिशाली मोटरको प्रयोग हुने छ । बर्मिङ्हम केन्द्रबाट लन्डनको केन्द्रभागमा पुग्न यो फ्लाइङ कारलाई करिब ३० मिनेटमात्र लाग्ने बताइएको छ ।

मूल्य ७ अंकमा
फ्लाइङ कार उत्पादक एस्टोन मार्टिनका अनुसार यो सवारी पूर्णतः विलासी साधन हुनेछ । अहिले नै यो सवारीको मूल्य कति हुन्छ भन्ने सकिने अवस्था नरहे पनि महँगो भने पक्कै हुने कम्पनीको भनाइ छ । यसमा प्रयोग हुने सामान र गुणस्तरका आधारमा मूल्य निर्धारण हुनेछ । सामान्यतया यो फ्लाइङ कारको मूल्य ७ अंकमा हुने अनुमान गरिएको छ ।

शक्तिशाली साझेदारी
यो फ्लाइङ कारको कन्सेप्ट एस्टोन मार्टिन एक्लैले गरेको होइन । यसका लागि विभिन्न पक्षहरुसँगको साझेदारी गरिएको छ । एस्टोन मार्टिनले यो कन्सेप्ट बनाउनका लागि क्रानफिल्ड युनिभर्सिटी, क्रानफिल्ड एरोस्पेस सोलुसन र ब्रिटिस जेट इन्जिन निर्माता रोल्स रोयससँगको संयुक्त इफोर्ट लगाएको जनाएको छ । साथै यसमा आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) को समेत प्रयोग गरिएको छ ।
एस्टोन मार्टिनका अनुसार यो फ्लाइङ कार भविष्यमा लक्जरी फ्लाइङ सवारीको रुपमा उदाउने छ । साझेदारहरुले कन्सेप्ट बनाउँदा जस्तै विकासमा पनि त्यस्तै सहयोग गरेमा आगामी दशकको सुरुमै आकाशमा देख्न पाइने एस्टोन मार्टिनले जनाएको छ ।

रोल्स रोयसको ‘हाइब्रिड फ्लाइङ ट्याक्सी’
त्यस्तै बेलायती विलासी कार तथा इन्जिन उत्पादन कम्पनी रोल्स रोयसले हाइब्रिड इलेक्ट्रिक फ्लाइङ ट्याक्सीको कन्सेप्ट सार्वजनिक गरेको छ । रोल्स रोयसले बनाउने यो विद्युतीय सवारी फ्लाइङ ट्याक्सी हुनेछ । कम्पनीले पाँच वर्षभित्रमा बजारमा ल्याउने योाजना सहित यसको विकास गरिरहेको जनाएको छ ।
एस्टोन मार्टिनको जस्तै यो ट्याक्सी पनि भुइँबाट सिधै उड्न र बस्न सक्नेछ । रोल्स रोयसका अनुसार यो ट्याक्सी इलेक्ट्रिक हुनेछ र भर्टिकल टेक–अफ एन्ड ल्यान्डिङ (इभीटीओएल) मा आधारित हुने छ । आगामी १८ महिनामा उत्पादन सुरु हुने कम्पनीले जनाएको छ । २०२० को सुरुवाततिर आकाशमा परीक्षण हुने कम्पनीले जनाएको छ । रोल्स रोयसको इभीटीओएल प्लेनमा ४ देखि ५ जना बस्न मिल्नेछ र उडान दूरी ५ सय माइल (८ सय ५ किलोमिटर) हुनेछ । त्यस्तै यो उड्ने ट्याक्सीको अधिकतम गति २ सय माइल प्रतिघण्टा हुनेछ ।
रोल्स रोयसले पूर्ण विद्युतीय उत्पादन गर्न खोजेको भएपनि इभीटीओएलमा त्यो त्यति सम्भव नदेखिएको जनाएको छ । पूर्ण विद्युतीय प्लेनको बजार विस्तार हुने क्रममा रहेका र सबैले यस्तै चाहेको भएपनि अहिलेको अवस्थामा त्यो सम्भव भइ नसकेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्