तनहुँमा २ हजार नयाँ करदाता «

तनहुँमा २ हजार नयाँ करदाता

दमौली-करदाता शिक्षा प्रभावकारी बनेपछि तनहुँमा यस वर्ष करिब २ हजार नयाँ करदाता थपिएका छन् । करदाता सेवा कार्यालय तनहुँले जिल्लाका विभिन्न भागमा करदाता शिक्षा सञ्चालन गरेपछि आ.व. ०७४-७५ मा १ हजार ९ सय ६६ नयाँ करदाता थपिएका हुन् ।
आ.व. ०७३-७४ मा ११ हजार ९ सय १४ जना करको दायरामा आएकोमा आ.व. ०७४-७५ मा १३ हजार ८ सय ८० जना करको दायरामा आएका छन् । तीमध्ये १ हजार ४ सय ३० जनाले व्यवसायिक स्थायी लेखा नम्बर लिएका छन् भने १ हजार १ सय ३८ करदाता भ्याटमा दर्ता छन् । विभिन्न ठाउँमा करदाता शिक्षा कार्यक्रम लागु भएपछि करको दायरामा आउनेको संख्या बढेको प्रमुख कर अधिकृत प्रदीप रेग्मीले जानकारी दिए ।
कार्यालयले उक्त अवधिमा दमौली, देवघाट, खैरेनीटार, भिमाद लगायतका ठाउँमा करदाता शिक्षा सञ्चालन गरेको थियो । ‘करदाता शिक्षाले व्यवसायीमा कर तिर्नुपर्छ है भन्ने भावना जागेको छ,’ उनले भने ।

४१.१७ प्रतिशत बढी राजस्व संकलन
कार्यालयले आ.व. ०७४-७५ मा गत आ.व.को भन्दा ४१.१७ प्रतिशत बढि राजस्व संकलन गरेको छ । कार्यालयले १४ करोड ७ लाख २५ हजार रुपैयाँ बढि राजस्व संकलन गरेको हो ।
अघिल्लो आर्थिक वर्षमा ३४ करोड १७ लाख ३२ हजार संकलन भएकोमा यो आर्थिक वर्ष ४८ करोड २४ लाख ५७ हजार संकलन भएको कर अधिकृत रेग्मीले जानकारी दिए । कार्यालयले यो आर्थिक वर्षमा ४२ करोड ३९ लाख ७९ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।
कार्यालयले आयकरतर्फ २२ करोड ४४ लाख ६६ हजारको लक्ष्य राखेकोमा २४ करोड २५ लाख ३७ हजार संकलन गर्न सफल भयो जुन लक्ष्यको तुलनामा १०८.०५ प्रतिशत हो । त्यस्तैगरी मूल्य अभिवृद्धि करतर्फ १३ करोड ६१ लाख ३० हजार लक्ष्य रहेकोमा १७ करोड ३२ लाख ७३ हजार संकलन भई लक्ष्यको तुलनामा १२७.२८ प्रतिशत संकलन भएको छ ।
अन्तशुल्क तर्फ २ करोड १० लाख २० हजार लक्ष्य राखेकोमा २ करोड १३ लाख ९० हजार संकलन भई लक्ष्यको तुलनामा १०१.७६ प्रतिशत बढि छ । त्यस्तै व्याज कर तर्फ २ करोड ५४ लाख ९८ हजार लक्ष्य रहेकोमा २ करोड ७८ लाख २१ हजार संकलन भएको छ । जुन लक्ष्यको तुलनामा १०९.११ प्रतिशत बढि हो ।
भाडा कर तर्फ १ करोड ११ लाख ८ हजार संकलन गर्ने लक्ष्य रहेकोमा १ करोड २० लाख ९० हजार संकलन भएको छ । शिक्षा सेवा शुल्क तर्फ ४४ लाख ४९ हजार लक्ष्य रहेकोमा ३९ लाख ५ हजार संकलन भएको छ भने स्वास्थ्य सेवा शुल्क तर्फ १३ लाख ८ हजार लक्ष्य रहेकोमा १४ लाख ४१ हजार संकलन भएको कर अधिकृत रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्