नेपालगन्ज भन्सारबाट लक्ष्यभन्दा २ अर्ब बढी राजस्व संकलन «

नेपालगन्ज भन्सारबाट लक्ष्यभन्दा २ अर्ब बढी राजस्व संकलन

नेपालगन्ज-नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्षमा भन्सार विभागले तोकेको लक्ष्यभन्दा २ अर्ब बढी राजस्व संकलन गर्न सफल भएको छ ।
भन्सार विभागले आर्थिक वर्ष २०७४/७५ मा ८ अर्ब ३७ करोड ६४ लाख ५२ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य तोकेकोमा भन्सार कार्यालय नेपालगन्जले १० अर्ब २७ करोड २२ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यो लक्ष्यभन्दा २३ प्रतिशतले बढी राजस्व संकलन भएको हो ।
भन्सार कार्यालयका निमित्त प्रमुख भन्सार अधिकृत माधवप्रसाद आचार्यले आर्थिक वर्ष २०७३/०७४ को भन्दा आर्थिक वर्ष ०७४/०७५ मा ३ अर्ब ६ करोड ४९ लाख बढी राजस्व संकलन भएको जानकारी दिए । निमित्त प्रमुख भन्सार अधिकृत आचार्यका अनुसार सबैभन्दा बढी राजस्व हाइस्पिड डिजेलबाट संकलन भएको छ । हाइस्पिड डिजेलबाट १ अर्ब ७१ करोड ७८ लाख ९ हजार, पेट्रोलबाट ६७ करोड १६ लाख ६४ हजार ८ सय, सिमेन्ट क्लिङ्करबाट ५० करोड, ६७ लाख ६५ हजार, चामल तथा कनिकाबाट ४० करोड ८७ लाख ७४ हजार राजस्व संकलन भएको आचार्यले बताए ।
उनले नेपालगन्ज भन्सार कार्यालय हुँदै आयात हुने एलपी ग्याँस, चिनी, खरानी स्ल्याग, प्लास्टिकका सिट, फिल्म, फ्वाइल, दाना पत्ता आदि, कपर स्क्रप, पत्थर कोइला, भेनियर सिट, सिमेन्ट खैरो, एटिएफलगायत गरी विभिन्न २२ प्रकारका वस्तु नियमित आयात हुने गरेको र राजस्वका स्रोत पनि यिनै भएको जानकारी दिए ।
नेपालगन्ज भन्सार कार्यालय हुँदै निकासीको अवस्था भने अत्यन्तै नाजुक रहेको उनले बताए । उनले आव २०७४/०७५ मा नेपालगन्ज भन्सार कार्यालयबाट निकासी गरेर ६२ लाख १८ हजार ७ सय १ रुपैयाँमात्र राजस्व संकलन भएको जानकारी दिए ।
नेपालगन्ज भन्सारबाट वनस्पतिजन्य उत्पादन, जडिबुटी, गहुँको पिठो, राँगाको फ्रोजन मासु, तार्पिन तेल, रोजिन, नौनी बटर, एसेन्सीयल आयल, अदुवा सुठो, रद्दी कागज, फलामे पत्रु चोकर, भुस, पिनालगायतका विभिन्न २२ शीर्षकका वस्तु नियमित निकासी हुने गरेको तथ्यांक भन्सार कार्यालयले दिएको छ ।
भन्सार विभागले चालू आवका लागि १२ अर्ब ३३ करोड भन्सार राजस्व लक्ष्य नेपालगन्ज भन्सार कार्यालयलाई दिएको जानकारी निमित्त प्रमुख आचार्यले दिए । “हरेक आर्थिक वर्षको साउन महिनामा लक्ष्य पुराउन अलि कठिन हुने भए पनि अन्य महिनामा भने लक्ष्यभन्दा वढी नै राजस्व संकलन हुने ट्रेण्डले पनि भन्सार विभागले यो वर्ष गत आर्थिक वर्षको भन्दा ४ अर्ब बढी राजस्व लक्ष्य दिएको छ,” उनले भने, “हेर्दा अलि चुनौती देखिए पनि सहजै लक्ष्य पूरा गर्ने संकल्प लिएका छाैँ ।”

प्रतिक्रिया दिनुहोस्