शुक्रबारदेखि सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट «

शुक्रबारदेखि सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट

काठमाडौं-नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट’ हुने भएको छ । साइबर सुरक्षाबारे अन्तर्राष्ट्रिय स्तरमा सहकार्य गर्ने तथा नेपालीहरूलाई यस विषयमा सचेत गराउने उद्देश्यका साथ यही भदौ ११ र १२ गते राजधानीमा सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट गर्न लागिएको हो । ‘बिल्डिङ ग्लोबल एलायन्स फर साइबर रिजेलियन्स’ भन्ने मूल नारासहित समिट हुनेछ ।
समिटको पूर्वसन्ध्यामा हुने प्रि–समिट वर्कसपलाई लावा, चेक प्वाइन्ट सफ्टवेयर टेक्नोलोजिज् र ईसी काउन्सिलले सहजीकरण गर्नेछन्, जुन समिटको दिनमा पनि निरन्तर हुनेछ । समिटको अवसरमा विश्वपरिवेशमा साइबर सुरक्षाका विभिन्न आयमहरूबारे छलफल हुनेछ । विशेषगरी साइबर कानुन, साइबर नीति र साइबर सुरक्षाका अभ्यासहरूबारे विश्लेषण र निदानका विषयमा समिटमा गम्भीर रूपमा छलफल हुनेछ । व्यापार तथा वित्त क्षेत्रको आवश्यकताअनुसार साइबर सुरक्षाका नयाँ क्षेत्रहरूको पहिचान पनि समिटमा हुनेछ ।
समिटमार्फत साइबर रिजलेन्सका लागि विश्व गठबन्धनसमेत निर्माण गरिनेछ भने साइबर सेक्युरिटीसम्बन्धी पूूर्वाधार निर्माण गर्न विश्वव्यापी रूपमा भइरहेका अभ्यासहरूको जानकारीसमेत दिइनेछ । समिटमा साइबर सुरक्षाका जोखिम न्यूनीकरण गर्ने, साइबर सुरक्षा विश्लेषण गर्ने, रिकभरी र रेस्पोन्सका स्किलहरू बढाउने, नेपालमा नेसनल सर्टका लागि आधार तयार पार्नेलगायतका विषयमा छलफल हुनेछ ।
समिटमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूबाट विभिन्न कार्य प्रस्तुति, प्यानल डिस्कसन, र कि–नोट लेक्चर दिइनेछ । सहभागीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरू, व्यवसायीहरू, सरकारी अधिकारीहरू, कर्मचारीहरू, क्लाइन्ट र ग्राहकहरूबीच अन्तरक्रिया गर्न सक्नेछन् ।
समिटको कि–नोट स्पिकरमा आइक्यानका एसिया प्यासिफिक स्ट्याबिलिटी एन्ड रिजलेन्स म्यानेजर चाम्पिका वाइजायातुंगा र सिस्कोको भारत तथा सार्क क्षेत्र हेर्ने पार्टनर बिजनेस ग्रुपका सेक्युरिटी लिड विवेक श्रीवास्तव छन् । यसका साथमा अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरूको समिटमा प्रस्तुति रहनेछ । समिटमा सहभागी हुन चाहने व्यक्तिहरूले एनपीसर्टको वेबसाइटमा गई रजिस्ट्रेसन गर्न सक्ने सकिने समिटका संयोजक चिरञ्जीवी अधिकारीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्