होमस्टेमा पनि कर «

होमस्टेमा पनि कर

दमौली- बन्दिपुर गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित होमस्टेहरूमा समेत कर लगाउने भएको छ । यस अगाडिको आर्थिक वर्षहरूमा होमस्टेमा कर नलगाएको गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७५/७६ बाट होमस्टेलाई समेत करको दायरामा ल्याएको छ ।
गाउँपालिकाभित्र होमस्टे सञ्चालनका लागि गाउँपालिकाले १ हजार रुपैयाँ दर्ता शुल्क तोकेको छ । बन्दिपुर गाउँपालिकामा चण्डेनी पीपलथोक सामुदायिक होमस्टे प्रख्यात छ । अन्य गाउँहरूमा समेत होमस्टे खुल्ने क्रम बढेको छ । चण्डेनी पीपलथोक सामुदायिक होमस्टेमा २० घर आबद्ध छन् । सरकारी स्तरबाट कुनै सहयोग नभएपछि स्थानीयले आफ्नै पहलमा बन्दिपुरमा होमस्टे सुरु गरेका थिए ।
सामुदायिक होमस्टेका संस्थापक अध्यक्ष राजु बानियाँ राज्यलाई कर तिर्ने विषयमा आफूहरू सधंै सकारात्मक रहेको बताउँछन् । “तर होमस्टेमा कर लगाउने विषयमा गाउँपालिकाले छलफल गरेको भए राम्रो हुन्थ्यो,” उनले भने, “राज्यको नीति नियमलाई हामीले पालना गर्नैपर्छ । तर, हाम्रो आवाज पनि राख्न पाएको भए राम्रो हुन्थ्यो भन्ने मात्र हो ।”
होमस्टेलाई व्यवसाय करमा समेट्दै गाउँपालिकाले होमस्टेको प्रकृति अनुसार मात्र कर लगाउने गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । उनका अनुसार कोठाको संख्यामा आधारमा होमस्टेमा कर लाग्नेछ । २०६८ साल असोज ३० गते स्थापना भएको यस होमस्टेले समग्र बन्दिपुरको पर्यटन प्रबद्र्धनमा सहयोग पुराएको छ ।
गाउँपालिका क्षेत्रभित्र व्यापार, व्यवसाय वा सेवामा पुँजीगत लगानी र आर्थिक कारोबारका आधारमा व्यवसाय कर लगाइने र असुलउपर गरिने गाउँपालिकाको आर्थिक ऐन २०७५ मा उल्लेख छ । होटल व्यवसायको वर्गीकरण गरी होटलको स्तर पूर्वाधारको स्तर तथा सेवाको स्तरका आधारमा होटल व्यवसायको कर निर्धारण गरिएको समेत ऐनमा उल्लेख छ ।

 

 

प्रतिक्रिया दिनुहोस्