कानुनमन्त्रीलाई कारबाही नगरे सडक तताउने महिला सांसदको चेतावनी «

कानुनमन्त्रीलाई कारबाही नगरे सडक तताउने महिला सांसदको चेतावनी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महिला सांसद तथा नेतृहरुले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङलाई कडाभन्दा कारबाही गर्न माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सांसदहरुले यस्तो माग गरेका हुन् ।
कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा. डीला संग्रौलाले नारीको अस्मिता मिच्ने र कानुनको धज्जी उडाउने खालका अभिव्यक्ति दिने कानुनमन्त्री तामाङको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरिन् । उनले भनिन्, “वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाइरहेको छ । अधिनायवादी र अपहरणवादी शैलीमा आफ्ना क्रियाकलापहरु अघि बढाइरहेको छ । पछिल्लो समयमा प्रधानमन्त्री र मन्त्रीहरु के बोल्ने र के नबोल्ने भन्नेबारे जानकार छैनन् ।”
मन्त्रीहरुले नारीहरुको अस्मितामाथि प्रश्नचिन्ह खडा गरिरहेको आरोप लगाउँदै उनले थपिन्, “बंगलादेशमा चिकित्सा शिक्षा पढ्न गएका नेपाली चेलीहरुले शरीर सुम्पेरमात्रै मार्कसिट प्राप्त गर्छन् भन्नेजस्ता गैरजिम्मेवार र अपमानपूर्ण अभिव्यक्तिहरुको सरकारले कि पुष्टि गर्नुप-यो, होइन भने जथाभाबी बोल्ने मन्त्री र मेडिकल सञ्चालक दुर्गा प्रसार्इंलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ ।”
सांसद लक्ष्मी परियारले सरकारले कानुनबमोजिम कानुनमन्त्रीलाई कारबाही नगरे सडक र संसद एकसाथ ठप्प पार्ने चेतावनी दिइन् । उनले भनिन्, “सरकार, सरकारका मन्त्री र सरकारका आसेपासेहरुले कानुन तथा नियमको ख्याल नगरी नारीको अस्मितामाथि धावा बोल्ने काम गरिरहेका छन् । यो हामीलाई स्विकार्य छैन । माफी र मन्त्रीको राजीनामाले मात्रै पुग्दैन, उनलाई कानुन अनुसार कडा सजाय हुनुपर्छ ।”
अर्की सांसद विजया श्रेष्ठ केसीले कानुनमन्त्री र मेडिकल सञ्चालक दुर्गा प्रसाईलाई सरकारले कडा कारबाही गर्नुपर्ने माग गरिन् । प्रदेश सभाका सांसदहरु निर्मला क्षेत्री, कल्पना नेपाली, राधा घले, महिला नेतृहरु रजनी जोन्छे, नानू बास्तोला शिवाकोटी, गंगा दाहाल, गंगा अधिकारी, सरु बानियाँलगायतले कानुनमन्त्री र मेडिकल सञ्चालक दुर्गा प्रसाईलाई कारबाही गर्न सरकारसमक्ष जोडदार माग गरे ।

प्रतिक्रिया दिनुहोस्