पर्यटक बढाउँदै संरक्षित क्षेत्र «

पर्यटक बढाउँदै संरक्षित क्षेत्र

जैविक विविधताको राजधानी रूपमा चिनिने संरक्षित क्षेत्रमा पछिल्लो समय पर्यटकीय आकर्षण बढ्दै गइरहेको छ । यहाँका सुन्दर प्राकृतिक सौन्दर्यमा रमाउने थलो बनेको छ संरक्षित क्षेत्रहरू । नेपाल भ्रमणमा आउने अधिकांश पर्यटकहरू यहाँका प्राकृतिक मनोरम वातावरणमा रमाउन आउँछन् । बाह्य पर्यटकमात्रै होइन, पछिल्लो समय आन्तरिक पर्यटकहरूको चाप पनि बढ्दै गइरहेको छ । जैविक विविधताको राजधानी रूपमा चिनिने संरक्षित क्षेत्रमा पछिल्लो समय पर्यटकीय आकर्षण बढ्दै गइरहेको छ ।
यहाँका सुन्दर प्राकृतिक सौन्दर्यमा रमाउने थलो बनेको छ संरक्षित क्षेत्रहरू । नेपाल भ्रमणमा आउने अधिकांश पर्यटकहरू यहाँका प्राकृतिक मनोरम वातावरणमा रमाउन आउँछन् । बाह्य पर्यटकमात्रै होइन, पछिल्लो समय आन्तरिक पर्यटकहरूको चाप पनि बढ्दै गइरहेको छ । संरक्षित क्षेत्रहरूबाट आगामी दिनहरूमा पर्यटकहरू बढाउनका लागि सरकारले थप सेवा सुविधा बढाउने कसरत गरिरहेको छ । संरक्षित क्षेत्रहरूमा पर्यटकीय आगमनको संख्यालाई बढाउने रणनीतिसहित सरकारले थप सेवा सुविधि बढाउन लागेको हो ।
 जैविक विविधताको महत्व बढी भएका कारण आन्तरिक तथा बाह्य पर्यटकहरू संरक्षित क्षेत्रको भ्रमण गर्न रुचाउँछन् । नेपाल भ्रमण गर्न आउने पर्यटकमध्यै झन्डै आधा पर्यटक संरक्षित क्षेत्र भ्रमण गर्न आउने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको भनाइ छ । संरक्षित क्षेत्रहरूमा पर्यापर्यटनको विकासलाई बढाएर राजश्व वृद्धि गर्न सेवासुविधा पनि बढाउन आवश्यक रहेको भन्दै विभागले छलफल चलाएको छ ।
विभागका अनुसार छिट्टै नै पर्यटन नियमन तथा कानुनी रूपमा व्यवस्थित गर्नेसम्बन्धी छुट्टै कार्ययोजनाको तयारी भइरहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले पर्यापर्यटनको विकासलाई कानुनद्वारा व्यवस्थित गर्न र नियमनलाई बढाउन कार्यविधि आवश्यक पर्ने बताएका छन् । “नेपालमा भ्रमण गर्न आउने पर्यटकहरूमध्ये ५० प्रतिशत संरक्षित क्षेत्र अवलोकन गर्न आउँछन् । व्यवस्थापनमा ख्याल गर्न सके पर्यापर्यटनको विकास अझै बढी गर्न सकिन्छ, राजश्व वृद्धि हुन सक्छ,” उनले भने, “निकुञ्जभित्र कस्ता सुविधाहरू राख्ने, होटेलले कस्ता सुविधिा उपलब्ध गराउने र होहल्ला रहित वातावरणमा कसरी पर्यटकहरूलाई राख्ने भन्ने कुरालाई कानुनी रुपमा नै व्यवस्थित गर्न खोजिएको हो ।”उनका अनुसार निकुञ्ज तथा आरक्ष क्षेत्रभित्र पर्यटकहरूलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यका साथ होटेल कम भएका स्थलहरूमा होटल खोल्न दिने सरकारको तयारी छ । 
वन तथा भू–संरक्षण मन्त्रालयका प्रवक्ता धनन्जय पौडेलले पर्यटन बढाउन सबै क्षेत्रहरूमा सेवा सुविधा पु-याउन कार्यविधिले सहयोग पु-याउने बताए । “नेपालको संरक्षित तराईदेखि हिमाली क्षेत्रसम्म छन्, सबै क्षेत्रहरूमा विभिन्न सुविधाहरू पुग्न सकेका छैनन् ।  सरकारले तयार गर्न लागेको मार्गदर्शनले सुविधा बढाउन थप सहयोग पुग्छ,” उनले भने । चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत वेदकुमार ढकालले पछिल्लो समय बाह्य पर्यटकका साथै आन्तरिक पर्यटकहरूको पनि संरक्षित क्षेत्र भ्रमण गर्नका लागि आकर्षणको स्थल बनेको बताए । “केही समय मुग्लिन–नारायणगढ सडकखण्डका कारण पनि पर्यटक आवागमनमा केही असर पुग्यो, अब आवतजावत सजिलो भएको छ ।
यो बर्खाका समयमा पनि सौराहाका होटलहरू व्यस्त नै देखिन्छ,” उनले भने, “पर्यापर्यटन विकासबाट नै मध्यवर्ती क्षेत्रका बासिन्दाहरूको आयआर्जन बढाउनेछौं । सौराहाका पर्यटकहरू अन्य मध्यवर्ती क्षेत्र जस्तै– अमलटारी, माडीसम्म डाईभर्ट गर्ने योजनासहित त्यहाँ पनि होटेलहरू विस्तार गराउन सकिन्छ ।”संरक्षित क्षेत्रमा पूर्वाधार विस्तार नहुँदा अझै पर्यापर्यटन विकासमा बाधा पुगेको सरोकारवालाहरूको गुनासो छ । होटल एसोसिएसन अफ नेपाल हानका महासचिव विनायक शाहले धेरै पर्यटनहरू घुम्न जाने चितवन राष्ट्र निकुञ्जभित्रका होटेल बन्द भएपछि पर्यटन आगमनमा धक्का पुगेको भन्दै उक्त होटेलहरू खोलेमात्रै संरक्षित क्षेत्रहरूमा पर्यटक आगामन बढाउन सकिने बताए । “सरकारले कुनै पनि एनजीओ–आइएनजीओको निर्देशनमा चितवन राष्ट्रिय निकुञ्जहरूमा होटेल बन्द गराएको थियो, बाहिर त छन् ।
तर जंगलभित्रका होटेलमा बस्ने चाहना पर्यटकको बढी हुन्छ । यसपछि नेपाल नआएर ती पर्यटक अन्य देशहरूमा जान सक्छन्,” उनले भने, “गैंडा मासिन्छ भन्ने सरकारी धारणा छ । अनुगमन बढाउनुस् न, होटेल बन्द गराउने हो र ? जुन मन्त्री आए पनि खुलाउँछौ भनेर आश्वासन दिन्छन्, खुलाउने चाहिँ होइन ।”संरक्षित क्षेत्रमा थप पर्यापर्यटन बढाउन सेवा सुविधालाई मध्यनजर गर्दै नीतिगत व्यवस्थामा सहज गर्न सरकारलाई उनको सुझाव छ । सरकारले संरक्षित क्षेत्रमा पर्यटक आगमन बढाउने लक्ष्य सहित ७ प्रदेशमा नै प्राणी उद्यान निर्माण गर्ने रणनीति बनाएको छ । अर्थ मन्त्रालयको आर्थिक सर्वेक्षण अनुसार आर्थिक वर्ष २०६६-०६७ को तुलनामा आर्थिक वर्ष २०७०-०७१ मा संरक्षित क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या ३६ प्रतिशत बढेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार १० वटा राष्ट्रिय निकुञ्ज, ३ वटा वन्यजन्तु आरक्ष, १ वटा शिकार आरक्ष र ६ वटा संरक्षण क्षेत्र रहेका छन् । नेपालको भू–भागको ३४ हजार ४ सय २० वर्गकिलोमिटर (२३.३९ प्रतिशत) संरक्षण क्षेत्रले ओगटेको सरकारी तथ्याङ्कले बताएको छ ।  


संरक्षित क्षेत्रमा कहिले कति पर्यटक ? 
आव              पर्यटक
२०६२-०६३     १६५३०४
२०६३-०६४     २४५९१०
२०६४-०६५     २९१०४०
२०६५-०६६     ३४९१९५
२०६६-०६७     ३८१७८९
२०६७-०६८     ४५५२३७
२०६८-०६९    ५०२०९२
२०६९-०७०    ५१०२०५
२०७०-०७१    ५५८५७७
२०७१-०७२    ५१७०९५
२०७२-०७३    ३८९२२३
२०७३-०७४    ६०४०९१
२०७४-०७५ बैशाखसम्मको) ५,९८,०००
स्रोत : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग 

 सरकारी नीति 
♦ संरक्षित क्षेत्रहरूको व्यवस्थापन योजना तजुर्मा , कार्यान्वयन, अनुगमन र मूल्यांकन गर्ने ।
♦ संरक्षित क्षेत्रहरूको लागि आवश्यक पर्ने ऐन, नियम, नीति, निर्देशिकामा समयानुकूल परिमार्जन तथा संशोधन गर्ने 
♦ जैविक विविधता संरक्षणको दृष्टिकोणले महत्वपूर्ण क्षेत्रहरूको सम्भाव्यता अध्ययन गरी संरक्षित क्षेत्रहरूको विस्तार गर्ने कार्यमा जनसहभागिता जुटाउने ।
♦ संरक्षित क्षेत्रभित्र नियमानुसार सेवा सञ्चालन गर्न दिइने 
♦ संरक्षित क्षेत्रहरूको जैविक विविधताको संरक्षणको लागि व्यवस्थापन योजना तयार गरी कार्यान्वयन गर्ने ।
♦ जैविक विविधताको निरन्तरता दिन र वन्यजन्तुको आवागमनलाई सहज गर्न जैविक तथा सम्पर्क मार्गहरूको 
पहिचान र संरक्षण र व्यवस्थापन गर्ने ।

पर्यापर्यटन विकासको आधार नै संरक्षित क्षेत्र हुन्

शक्तिबहादुर बस्नेत 
मन्त्री, वन तथा वातावरण
पर्यापर्यटन निकासका आधारहरू भनेकै हाम्रा संरक्षित क्षेत्रहरू नै हुन् । जैविक विविधता संरक्षण र वातावरणीय संरक्षणका लागि निकुञ्ज तथा संरक्षित क्षेत्रले योगदान त गरेकै छ । सँगसँगै पर्यापर्यटनको विकास गरेर मुलुकको अर्थतन्त्र बढाउने, रोजगारी अभिवृद्धि गर्दै सर्वसाधारणको जीवनस्तरमा सुधार ल्याएको पनि छ । वाइल्डलाइफ टुरिजम बढाउनका लागि प्राकृतिक चिडियाखानाको रुपमा पनि निकुञ्जलाई विस्तार गर्न सक्छौ । पर्यापर्यटन विकासका लागि रारा खप्तडलगायतलाई नयाँ गन्तव्यहरू पनि विकास गर्नेछौँ । हाई क्वालिटी टुरिजम विकासको बारेमा पनि सोच्छौँ । राष्ट्रिय निकुञ्ज संरक्षण क्षेत्र व्यवस्थापनका विधी र प्रक्रियाहरूमा पनि हामी समायानुकूल सुधार र यसलाई परिस्कृत गर्दै लैजानेछौं । आवश्यक अध्ययन अनुसन्धान पनि गर्नेछौँ । राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रको अवस्थामा सुदृढ र सुधार गर्दै लैजानुपर्छ भनेर हामी लागिरहेका छौँ । 
संरक्षित क्षेत्रमा भौतिक पूर्वाधार बढाउँछौं

मनबहादुर खड्का
महानिर्देशक, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग
 पर्यापर्यटन विकास गरेर धेरैभन्दा धेरै आम्दानी गर्ने हाम्रो उद्देश्य हो । रारामा वार्षिक १ लाख नेपाली पर्यटक जान्छन् । तर होटेलको सुविधा छैन । होटेल, बाटोघाटो, यातायात, सञ्चारलगायतका सुविधा दिएर अझै पर्यापर्यटन विकास गर्ने योजना छ । संरक्षित क्षेत्र बढाउने पनि योजना छ । पर्यापर्यटकलाई सेवासुविधाको उपलब्ध गराउने पनि आवश्यक छ । नियमअनुसार सुविधा विस्तार गराउने छौँ । सञ्चारको जमानामा सकेसम्म हामीले फ्रि वाईफाई राख्ने योजना बनाएका छौ । 
ईको टुरिजम समृद्धिको आधार हो

गोविन्द गजुरेल
 सदस्य सचिव, राष्ट्रिय प्राकृतिक संरक्षण कोष
ईकोटुरिजम मुलुकको समृद्धिको आधार पनि हो । पछिल्लो समय संरक्षित क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि हुदैँ गइरहेको छ । २०७२ को बिनासकारी भूकम्पका कारण संरक्षित क्षेत्र आसपासका भौतिक सम्पदामा परेको क्षतिका कारण अलिकति पर्यटन आगमन कम भएको थियो । बिस्तारै बढिरहेको छ । एनटिएनसीले सरकारको सहयोगीको रुपमा संरक्षित क्षेत्र विकास र पर्यापर्यटन बढाउन काम गरिरहेको छ । पछिल्लो समय होमस्टेमा बस्न पर्यटक रुचाउँछन् । प्राकृतिक मनोरम वातावरणमा होमस्टेमा बस्न पर्यटक रमाउन थालेपछि हामीले होमस्टे निर्माणमा सहयोग गर्नुका साथै पर्यटकलाई पैदलमार्गहरू निर्माणमा सहयोग गर्दै आइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्