सुरूंगा नगरपालिका शतप्रतिशत विद्यार्थी भर्ना घोषणाको तयारीमा «

सुरूंगा नगरपालिका शतप्रतिशत विद्यार्थी भर्ना घोषणाको तयारीमा

सप्तरी-सप्तरीको सुरूंगा नगरपालिका प्रदेश नं. २ कै पहिलो शतप्रतिशत विद्यालय भर्ना नगरपालिका घोषणा हुने भएको छ ।
सुरूंगा नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरीको अगुवाइमा गरिएको अनुगमनमा शतप्रतिशत विद्यालय भर्ना घोषणा तयारीका लागि वडा नम्वर १ देखि ११ का सबै बालबालिका विद्यालय भर्ना भएको पाइएपछि घोषणा गर्न लागिएको हो । नगरको सबै क्षेत्रमा दलित, विपन्न, मुस्लिम रहेको र अन्य टोलमा स्थलगत अनुगमन गर्दा कुनै पनि टोलमा विद्यालय भर्ना हुनवाट वञ्चित नरहेकाले बालबालिकाहरू हालसम्म सेवा क्षेत्रका ३ देखि १२ वर्ष उमेर समूहका सबै विद्यालयमा भर्ना भएको पाइएकाले शतप्रतिशत विद्यालय भर्ना घोषणा कार्यक्रम गर्ने निर्णय भएको नगरप्रमुख चौधरीले जानकारी दिए । प्रमुख चौधरीले बालबालिका विद्यालय भर्ना भएको सम्पूर्ण वडाध्यक्षले गरेको सिफारिसको अधारमा साउना ८ गते मंगलबार कुशहामा एक कार्यक्रमबीच शतप्रतिशत विद्यालय भर्ना घोषणा कार्यक्रम गर्ने बताए ।
यता सुरूंगा नगरपालिकाको आयोजना तथा सबल नेपाल, सेभ द चिल्ड्रेन, स्पोन्सरसिप कार्यक्रमको साझेदारीमा नगरमा सम्पूर्ण वडामा शतप्रतिशत विद्यालय भर्ना अभियान, विद्यालयमा बालबालिकालाई टिकाउनका लागि अभिभावकलाई जनचेतनामूलक अभिमुखीकरण, अन्तक्रियाजस्ता कार्यक्रम गर्दै आएको स्पोन्सरसिप कार्यक्रम संयोजक नन्दकिशोर चौधरीले बताए । सो अवसरमा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख शंकरराज लुइँटेलले सुरूंगा नगरको सम्पूर्ण वडामा स्थलगत अनुगमन गर्दा शतप्रतिशत बालबालिका विद्यालय भर्ना भएको र कुनै पनि बालबालिका विद्यालय बाहिर नभएकाले अब उनीहरूलाई सिकाउने, टिकाउन र बिकाउने रहेको बताए ।
सवल नेपालको स्पोन्सरसिप कार्यक्रमको तथ्यांकअनुसार सुरूंगा नगरपालिकाको वडा नम्बर १ देखि वडा नम्बर ११ सम्मको बालविकास कक्षादेखि १२ कक्षासम्मका छात्रा ५ हजार ५१ जना र छात्र ४ हजार २४६ जना गरी ९ हजार २९७ छात्र÷छात्रा विद्यालय भर्ना भएको सबल नेपालका कार्यक्रम संयोजक नन्दकिशोर चौधरी जानकारी दिए ।
नगरप्रमुख मुक्तिनाथ चौधरीको अगुवाइमा गरिएको अनुगमन टोलीमा शिक्षा विकास समन्वय इकाई प्रमुख शंकरराज लुइँटेल, विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य शान्ती मण्डल, नगरपालिका शिक्षा स्रोतब्यक्ति भोगेन्द्र यादव, सबल नेपालका बोड सदस्य आशाराम चौधरी, नेपाल पत्रकार महासंघ सप्तरी सहसचिव चन्दनकुमार यादव, केन्द्रीय पार्षद भोला पासवानलगायतको सहभागिता रहेको थियो ।
एम के यादव

 

प्रतिक्रिया दिनुहोस्