Logo

पशु विज्ञानमा विद्यार्थीको आकर्षण घट्दो

पोखरा-पोखरा लेखनाथ महानगरपालिका–२२ स्थित पुम्दीभुम्दी शुक्रराज माविमा विगत ५ वर्षदेखि पशु विज्ञान विषयमा अध्ययन हुँदै आए पनि अहिले विद्यार्थीको आकर्षण घट्दो छ ।
कृषि तथा पशुपालन क्षेत्रको प्रवद्र्र्धन गरी स्वरोजगार गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त विषयको पाठ्यक्रम कठिन भएकाले विद्यार्थीहरूले बीचमै पढाइ छाड्दा यस विषयप्रतिको आकर्षण घट्दो रूपमा रहेको विद्यालयका प्राचार्य नरनाथ बरालले बताए । उनले भने, “हामीले हाम्रो गाउँठाउँमा माटो सुहाउँदो प्राविधिक धारको विषय पशुविज्ञान विषय समावेश गरे पनि सोचेजस्तो रूपमा विद्यार्थीको आकर्षण देखिएको छैन । यस बिषयको कक्षा ११ र १२ को कोर्ष पनि कठिन भएकाले पनि विद्यार्थीले बीचमै छाड्ने गरेका हुन ।” पशुविज्ञानको कक्षा ११ र १२ मा वायोलोजी, क्यामेस्ट्रि, फिजिक्सजस्ता विषय अध्ययन गर्नुपर्ने हुदा पढाइको भार थेग्न नसकेर धेरै विद्यार्थीले बीचमै छाड्ने गरेको प्राचार्य बरालले जनाए । उनका अनुसार विद्यालयमा हालसम्म दुई व्याचबाट मुस्किलले ४८ जनाले उक्त कोर्ष पूरा गरेका छन । 
त्यसैगरी कक्षा ९ मा हाल ३७ जना, कक्षा १० मा १३ जना, कक्षा ११ मा कति विद्यार्थीहरु यस शैक्षिक सत्रमा आउने हुन् टुंगो छैन भने कक्ष १२ मा ५ जना विद्यार्थी छन् । पशु विज्ञान विषयको विद्यालयमा ४८ सिट क्षमताको मान्यता प्राप्त भए पनि थोरै लगानी, ४ वर्षीय कोर्ष पूरा गर्दा डाक्टर बन्न सक्ने भएकाले यसको धेरै सम्भावना हुँदा हँुदै कक्षा ११ र १२ को पाठ्यक्रम अनावश्यक रूपमा कठिन हुने गरी समेटिँदा यस विषयमा विद्यार्थीको आकर्षण घट्दै गएको शिक्षक डा. कृष्ण सुवेदीले बताए । विगत ४ वर्षदेखि शुक्रराजमा पशुविज्ञान विषयमा अध्यापन गराउँदै आएका डा. सुवेदीले पशुविज्ञानमा धेरै सम्भावना हुदाहुदै युवाले यस विषयलाई राम्रोसँग बुझ्न नसकेको बताए ।
कक्षा ११ र १२ को कोर्षमा विद्यार्थीहरूको वायोलोजी, क्यामेस्ट्रि, फिजिक्सजस्ता विषयमा आवश्यक पर्ने करिब ३० प्रतिशत रहे पनि हाल सबै पढ्नु पर्दा विद्यार्थीलाई उक्त कोर्ष पूरा गर्न कठिन भएकाले यस कोर्षको संशोधन गर्नुपर्ने शिक्षक डा. सुवेदीको भनाइ छ । करिब ५ लाख खर्चिएर ५ वर्षमा डा. पद पाएका सुवेदीलाई हाल काम गर्न भ्याई नभ्याइ छ, विद्यालयमा पठाउनुका साथै विभिन्न क्षेत्रमा सेवा गर्दा हाल उनीले मासिक डेढ लाखसम्म आम्दानी गर्न सफल भएका छन् । कक्षा ९ देखि नै यस विषयमा अध्ययन गर्नुपर्ने र यस विषय लिएर कक्षा १० उत्तीर्ण गरे विज्ञान, व्यवस्थापन, मानविकीलगायतका कुनै पनि संकायमा जान पाउने भएकाले गर्दा पनि कक्षा ११ र १२ मा विद्यार्थीहरूको सङख्या घट्दो रूपमा रहेको डा. सुवेदीको भनाइ छ । कक्षा १२ मा अध्ययनरत समत गौतम हाल आफ्ना साथीहरू प्रायः विद्यालय नै नआउने गरेको गुनासो गर्छन् । 
विद्यालयमै होस्टेलको व्यवस्था, गुणस्तरीय शिक्षक, कक्षा ११ र १२ को कोर्ष परिमार्जन हुनुपर्ने सुवेदीजस्ता धेरै विद्यार्थीको माग छ । नेपालमा कृषि र पशुपालनमा धेरै सम्भावना देखेर आफूहरू यस विषयमा अध्ययनका लागि हाल कक्षा ९ मा अध्ययन गर्न सुरु गरेको कमलेस रानाभाटले बताए । विद्यालयमा हाल नर्सरीदेखि १२ कक्षासम्म गरी ४ सय विद्यार्थी रहेको प्राचार्य बरालले बताए । 

 

प्रतिक्रिया दिनुहोस्