बृहत् खानेपानी आयोजना सञ्चालन «

बृहत् खानेपानी आयोजना सञ्चालन

म्याग्दी-म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा बृहत् बेगखोला खानेपानी तथा सरसफाइ आयोजना सञ्चालनमा आएको छ ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा स्थानीयवासीले चार वर्षको प्रयासमा आयोजना सञ्चालनमा ल्याएका हुन् । सात करोड २५ लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको निर्माण कार्य वि.सं २०७० देखि सुरु भएको थियो ।
मुहान, मुख्य र शाखा पाइपलाइन, रिजर्भ ट्यांकी र निजी धारालगायतका संरचना निर्माणकार्य अन्तिम चरणमा पुगेका आयोजनाबाट खानेपानी वितरण सुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष पूर्ण परियारले बताए । अध्यक्ष परियारका अनुसार ४२० घरधुरीमा निजी धारा जडान गरेर खानेपानी वितरण गर्ने लक्ष्य राखिएको छ । हालसम्म सिख्यान, देउराली फाँट, चुत्रेनी वडाथान, अंग्रेरी, भीमसेन टोल, ठूलोे, मदुखर्क, सुरा, औल, चिलाउनेखर्क, भजेनी, बास्कोट, सिबोरी र सिमका ३५० घरमा निजी धारा जडान गरेर खानेपानी वितरण सुरु गरिएको अध्यक्ष परियारले बताए ।
बादुक गाउँ र बाँकी घरमा आगामी मंसिरसम्म खानेपानी वितरण गरिसक्ने समितिको योजना छ । यसअघि सार्वजनिक धारा, मुहान र कुवाको पानी अव्यवस्थित रूपमा उपभोग गर्दै आएका बेगवासीहरू घरआगनमै शुद्ध पानी आपूर्ति भएपछि खुसी छन् । खानेपानी लिनका लागि धारा, कुवा, पधेरामा जाँदा लाग्ने समयको बचत, सुविधासँगै दूषित पानीका कारण हुने स्वास्थ्य समस्या न्यूनीकरणमा सहयोग पुगेको छ । आयोजनाको दिगो सञ्चालन र उपभोक्ताको सुविधाका लागि निजी धारा जडान गरिएको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालयका प्रमुख इश्वरी शर्माले बताए ।
यो आयोजना हाल म्याग्दीमा सञ्चालितमध्ये सबैभन्दा ठूलो हो । एक लाख लिटर क्षमताको १ वटा, २० हजार लिटर क्षमताको चार वटा, १० हजार लिटर क्षमताको एकवटा ट्यांकी निर्माण भएको उपभोक्ता समितिका सहसचिव खिमबहादुर फगामीले बताए । सातवटा स्किममा आयोजनाको मुख्य मुहान एकछानेमा छ ।
सरकारको ८० प्रतिशत अनुदान र उपभोक्ताको २० प्रतिशत लगानीमा आयोजना निर्माण हुन लागेको हो । वर्षात्को समयमा सडक बन्द हुने र जनशक्ति कम भएकाले निमार्णका गर्न गाह्रो तथा बढी खर्चिलो समेत भएको उपभोक्ता समितिका सदस्य नेत्र पुनले बताए । बेगमा निर्माण भएको नेपालकै अग्लो र लामो झोलुंगे पुल, पदमार्ग र खोनपानी आयोजनाले स्थानीयवासीलाई सुविधासँगै जीवन र आयस्तरमा सुधार ल्याउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको वडाध्यक्ष बिलबहादुर फगामीले बताए ।
सन्तोष गौतम

प्रतिक्रिया दिनुहोस्