काठको पोल विस्थापन गर्न ऊर्जामन्त्रीको निर्देशन «

काठको पोल विस्थापन गर्न ऊर्जामन्त्रीको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मुलुकभर काठको पोल विस्थापन गर्न निर्देशन दिएका छन् ।
पछिल्लो समयमा बिजुलीको नांगो तारको कारण ज्यान गुमाउनेको संख्या बढेको उल्लेख गर्दै मन्त्री पुनले निर्देशन दिएका हुन् । रामेछापलगायत मुलुकका विभिन्न ठाउँमा नांगो तार छोएर चारजनाको ज्यान गएको घटनाप्रति ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुनले दुःख व्यक्त गर्दै काठको पोल विस्थापनका लागि कार्यक्रमअघि बढाउन आग्रह गरे ।
आइतबार नै ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ, सामुदायिक विद्युत् उपभोक्ता महासंघका अध्यक्ष नारायण ज्ञवालीसँग मन्त्री पुनले काठको पोल विस्थापनबारे छलफलसमेत गरेका थिए । उनले काठ र स्टिलका पोलहरूका कारणले मानवीय क्षति बढिरहेको भन्दै तत्काल समस्याको समाधान गर्न र विद्युतीकरणको सुरक्षाको पाटोलाई ध्यान दिन आग्रह गरे । मन्त्री पुनले काठको पोल प्रयोग गरेको कारण भएका मानवीय क्षतिलाई कम गर्न र देशभर काठका पोलहरू विस्थापित गर्न मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने जानकारी समेत छलफलमा जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्