वैतेश्वर गाउँपालिकाले असारमा खर्च नगर्ने «

वैतेश्वर गाउँपालिकाले असारमा खर्च नगर्ने

दोलखा-वैतेश्वर गाउँपालिकाले चालू आर्थिक वर्षदेखि असार मसान्तमा खर्च नगर्ने भएको छ । असारमा मात्र खर्च गर्ने प्रवृत्तिले बजेट दुरुपयोग भएको भन्दै अब जेठ मसान्तभित्रै पुँजीगत खर्च गर्ने गरी कार्ययोजना बनाएको छ ।
वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले असारमा स्थानीय सरकारले नीति तथा कार्यक्रम बनाउने र बजेटसमेत बनाउनु पर्ने बाध्यताले पनि असारमा विकासे काम जेठमै पूरा गर्ने उनले बताए । असारभर योजना र बजेट पूरा गरेर साउनदेखि कार्यान्वयनमा जाने उनले बताए । अब साउनमा पनि बजेटको अख्तियारी आउने बित्तिकै कार्यान्वयन हुन्छ ।
संघीय सरकारले पटकपटक असारमा खर्च नगर्ने भन्दै आधाभन्दा बढी खर्च असारमै गर्दै आएका बेला वैतेश्वर गाउँपालिकाले भने जेठभित्रै बजेट खर्च गर्ने गरी कार्ययोजनै बनाएको प्रमुख प्रशासकीय अधिकृत नवराज पराजुलीले जानककारी दिए । “अन्यत्र के भयो, के हुन्छ थाहा छैन, तर हाम्रोमा असारे विकासको अन्त गर्ने प्रतिबद्धतासहित कार्ययोजना नै बनाएका छौं,” उनले भने, “हाम्रा जनप्रतिनिधि नै एक वर्षको कामको अनुभवले पनि यो कार्ययोजना बनाएर कार्यान्वयनमा ल्याउनु भएको हो ।”
गाउँपालिकाको कार्यपालिका बैठकले कार्ययोजना पारित गरेको हो । बजेट कार्यान्वयन साउनदेखि नै गर्न थालेको छ । ठेक्का प्रक्रियाबाट सञ्चालन हुने योजनाको ठेक्का प्रक्रिया साउनबाटै सुरु गर्ने उनले बताए । उपभोक्ता समितिमार्फत गर्ने योजनाको भदौभित्र उपभोक्ता समिति गठन र अभिमुखीकरण गर्ने कार्ययोजनामा छ । तोकिएको समयमा उपभोक्ता समिति गठन नभए त्यसलाई ठेक्का प्रक्रियामा नै गर्ने उनले बताए ।
आर्थिक वर्षको अर्धवार्षिक समीक्षामा काम हुन नसकेका योजनाको रकामान्तर समेत गरेर अन्यत्र काम गर्ने समेत उल्लेख छ । अब विगतमा जस्तो उपभोक्ता समिति गठन हुन नसके वा काम नभए असारमा हतारहतार काम गरेर बिल पास गर्ने परिपाटीको अन्त गर्न जनप्रतिनिधि प्रतिबद्धताका साथ लागेका छन् ।
स्थानीयस्तरमा हुने कालोबजारी, मनोमानी नियन्त्रणका लागि शक्तिशाली अनुगमन समिति बनाउने समेत कार्ययोजनामा छ । वैतेश्वर गाउँपालिकाले एक प्रेस नोट प्रकाशित गर्दै प्राकृतिक स्रोतका नियमसंगत रूपमा प्रयोग गर्न अन्य स्थानीय तहसँगसमेत सहकार्य गर्ने उल्लेख छ ।
आव ०७५/७६ का लागि स्वीकृत वार्षिक विकास कार्यक्रमको कार्यान्वयन गर्नका लागि ३६ करोड ७८ लाख ८८ हजारको बजेट पास भएको छ । गाउँपालिकाले आव ०७४/७५ मा स्वीकृत वार्षिक विकास कार्यक्रम ९० प्रतिशत भौतिक प्रगति र करिब ८८ प्रतिशत वित्तीय प्रगति गरेको छ ।

प्रतिक्रिया दिनुहोस्