औद्योगिक विकासमा उदासीनताका परिणाम «

औद्योगिक विकासमा उदासीनताका परिणाम

जब आन्तरिक उद्योगहरू सही ढंगले सञ्चालन हुन सक्दैनन्, जब देशको कृषिक्षेत्र नै रुग्ण अवस्थामा पुगिरहेको हुन्छ, त्यतिखेर देशको निर्यात माथि लाग्छ भनेर अपेक्षासमेत गर्न सकिदैन ।

मुलुकको अर्थतन्त्र अहिले अत्यन्तै नाजुक अवस्थामा छ । केन्द्रीय तथ्यांक विभाग र राष्ट्र बैंकले प्रकाशित गर्ने समष्टिगत आर्थिक सूचकहरू राम्रो देखिनु मात्र अर्थतन्त्र बलियो भएको संकेत होइन । पछिल्लो समयमा विश्वका धेरै अर्थशास्त्रीले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ले मात्र अर्थतन्त्रको सही अवस्था नदेखाउने बताउँदै आएका छन् । देशको अर्थतन्त्रको कुल आकार बढेका कारण जनताको प्रतिव्यक्ति आय पनि बढेको देखिएला, तर राष्ट्रिय अर्थतन्त्रमा भइरहेको क्षयीकरणको त्यसले संकेत गर्दैन । हाम्रो अर्थतन्त्रको विद्यमान अवस्था हेर्ने हो भने देश पूरै पराधीन भइसकेको देखिन्छ । अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि धराशायी छ, औद्योगिक क्षेत्र गतिहीन छ । अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान बढेको देखिए पनि यसको मुख्य हिस्सा खुद्रा र थोक बिक्रीले ओगटेको छ । देशको आयात–निर्यात व्यापारको सूचकांक हेर्ने हो भने व्यापारघाटा कहालीलाग्दो ढंगले बढेर गएको छ । नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित पहिलो ११ महिनाको आर्थिक समीक्षाअनुसार यो अवधिमा वस्तु आयात २३.५ प्रतिशतले बढेर रु. ११ खर्ब ०७ अर्ब ३५ करोड पुग्दा निर्यात १०.४ प्रतिशतले बढ्दा पनि रु.७४ अर्ब ३१ करोड रुपैयाँमा सीमित हुन पुगेको छ । यसरी वस्तु व्यापारघाटा २४.६ प्रतिशतले विस्तार भई रु.१० खर्ब ३३ अर्ब ४ करोड पुगेको छ । व्यापारघाटाको यो अनुपात आउँदा दिनहरूमा अझ वृद्धि हुने संकेतहरू देखिएका छन्, किनकि हाम्रो अर्थतन्त्रमा उपभोगको अंश लगातार बढ्दो छ । आमनागरिकको आयमा भएको वृद्धिका कारण उपभोगमा आधारित आयातलाई हामी घटाउन सक्ने अवस्थामा नै छैनौं ।
आयातको अनुपात लगातार बढ्नुमा यो मात्र कारण भने होइन । मुख्य कारण हो, हाम्रा आन्तरिक उद्योगधन्दा, कलकारखानाहरूको कमजोर क्षमता र कृषिको घट्दो अवस्था, सँगसँगै आन्तरिक उत्पादनप्रति देशभित्रका उपभोक्ताहरूकै अविश्वास । यदि हाम्रा उद्योगधन्दाहरूले आन्तरिक माग पूरा गर्न सक्ने गरी उत्पादन गर्न सकेको र हामी उपभोक्ताले पनि आन्तरिक उत्पादनप्रति विश्वास गरेर उपभोग गर्ने गरेको भए अहिलेको जस्तो कहालीलाग्दो गतिले व्यापारघाटा अकासिँदैन थियो । समान किसिमका विदेशी उत्पादनलाई हामी जसरी आँखा चिम्लेर उपभोग गर्छौं, त्यही उत्पादन नेपाली भइदियो भने गुणस्तरीय हुँदैन भनेर नाक खुम्च्याउने हाम्रो प्रवृत्ति छ ।
राज्यले पनि आन्तरिक उद्योगधन्दाको संरक्षण र स्वदेशी उत्पादनको प्रवद्र्धनभन्दा राजस्वमुखी नीति लिने गरेका कारण यहाँका उद्योगहरू बन्द हुुने वा कम क्षमतामा चल्ने अवस्था आइपरेको हो । विदेशबाट कच्चा पदार्थ वा अद्र्धतयारी वस्तु आयात गरी यहाँ उत्पादन, प्रशोधन, प्याकेजिङ गरी बजारमा पठाउनुभन्दा विदेशबाट तयारी वस्तु नै आयात गरी व्यापार गर्न सस्तो र नाफामूलक भएपछि व्यवसायीहरू उद्योग बन्द गरेर व्यापारमा सहभागी हुने क्रम बढेको हो । यसैको दुष्चक्रमा फसेको हो— नेपालको निर्यात पनि । जब आन्तरिक उद्योगहरू सही ढंगले सञ्चालन हुन सक्दैनन्, जब देशको कृषिक्षेत्र नै रुग्ण अवस्थामा पुगिरहेको हुन्छ, त्यतिखेर देशको निर्यात माथि लाग्छ भनेर अपेक्षासमेत गर्न सकिँदैन । सोही कारण द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय व्यापारमा नेपालले पाएका निर्यातका सहुलियतहरूको सही ढंगले उपयोग हुन नसकेको हो । यदि देशको निर्यातलाई उकास्ने र आयातलाई क्रमशः निरुत्साहित गर्र्दै लैजाने हो भने पहिला देशको प्रतिस्पर्धात्मक क्षमता राम्रो भएका क्षेत्रहरूको पहिचान गरेर त्यससम्बन्धी उद्योगहरू स्थापना र सञ्चालनमा राज्यले विशेष प्रोत्साहनकारी भूमिका खेल्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस्