गुणस्तरहीन पानी उद्योगमा शिलबन्दी «

गुणस्तरहीन पानी उद्योगमा शिलबन्दी

विराटनगर-विराटनगरमा सञ्चालित केही पानी उद्योगले गुणस्तरहीन पानी उपभोक्तामा पठाएर आमनागरिकको जीवनमाथि नै खेलवाड गरेको पाइएको छ । विराटनगरमा सञ्चालित पानी उद्योगले तोकिएको मापदण्डविपरीतको पानी उपभोक्तामा पठाउने गरेको भेटिएको हो ।
प्रदेश–१ को सामाजिक विकास मन्त्रालयको नेतृत्वको अनुगमन टोलीले विभिन्न उद्योगको अनुगमनका क्रममा गुणस्तरहीन पानी बिक्री गर्ने गरेको भेटिएको हो । अनुगमनका क्रममा मोरङको बूढीगंगा गाउँपालिका–१ गंगाचौकमा रहेको शुभजल उद्योग र विराटनगर–२ तीनपैनी चौकमा रहेको तिरुपति उद्योगले उत्पादन गरेको सिर्जल खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले तोकिएको मापदण्ड पूरा नगरेकाले चाँडै मापदण्ड पूरा गर्न निर्देशन दिएको अनुगमन टोलीले जनाएको छ । खाद्य अनुज्ञापत्र र मापदण्ड पूरा नगर्ने दुईवटा पानी उद्योगमा अनुगमन टोलीले शिलबन्दी गरेको छ । विराटनगर–४ नोवेल अस्पताल पछाडि सञ्चालनमा रहेको गोमारानी उद्योगले उत्पादन गर्ने निकीगंगा पानी र विराटनगर–५ जामुनगाछीमा रहेको पूजा पानी उद्योगमा आइतबार शिलबन्दी गरेको हो । निकिता श्रेष्ठले एक वर्षअघिदेखि उत्पादन गर्दै गरेको गोमारानी उद्योगले खाद्य अनुज्ञापत्र नलिएको र रामविलास साहले ३ वर्षअघिदेखि अनुज्ञापत्र नवीकरण नगरेको तथा व्यवस्थित तरिकाले पानी उत्पादन नगरेको देखिएपछि शिलबन्दी गरिएको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयल विराटनगरका खाद्य निरीक्षक प्रेम अर्यालले जानकारी दिए । “मापदण्डविपरीत सञ्चालित उद्योगलाई कारबाही गरिएको छ,” अर्यालले भने, “जनताको स्वास्थ्यमाथि खेलवाड गरेको पाइएको छ ।”
अनुगमनका क्रममा ५ वटै पानी उद्योगले मापदण्ड पूरा नगरेको भेटिएकाले सामाजिक विकास मन्त्रालयका उपसचिव गोपिप्रसाद घिमिरले अनुज्ञापत्र बिना सञ्चालित र नवीनकरण नगर्ने उद्योगमा शिलबन्दी अव्यवस्थित र फोहर देखिएको उद्योगलाई सफा र व्यवस्थित रुपमा सञ्चालन गर्न निर्देशनसमेत दिएको बताए ।
विराटनगर–५ हरिहरपथमा रहेको शुभकामना जल उद्योगको सञ्चालक रञ्जिल अग्रवाल अनुगमन टोली आएको थाहा पाएपछि उद्योग बन्द गरेर फरार भएका थिए । आउँदो असोज मसान्तसम्म समेत खाद्यले तोकिएको मापदण्ड पूरा नगरेको भेटिए त्यस्तो पानी उद्योग शिलबन्दी गर्ने टोलीले जनाएको छ ।
आन्तररिक राजस्व कार्यालय विराटनरको समेत टोली रहेको अनुगमनमा ५ वटै उद्योगले बिलिङ नगरेको, हिसाब राख्ने खाता नदेखिएको, राजस्व कार्यालयले दिएको ‘करकट्टी’ प्रष्ट रुपमा उद्योगले नराखेको पाइएपछि ठाउको ठाउँ कारबाही गरेको हो । कर कानुनको पूर्ण रुपमा पालना नगरेकाले तिरुपति जल उद्योग, पूजा जल उद्योग, शुभजल उद्योगलाई जनही ५ हजार र गोमारानी जल उद्योगलाई दुई हजार रुपैयाँ जरिवाना तिराएको आन्तरिक राजस्व कार्यालय विराटनगरका कर अधिकृत माधवप्रसाद दाहालले बताए ।
कात्तिक २२ गतेबाट चैत मसान्तसम्ममा पिउने पानी उत्पादनसम्बन्धी निर्देशिका २०७४ अनुसार पिउने पानी उद्योगको पर्खालमा ५ फिटसम्म मार्बल टायल लगाउनुपर्ने, पानी भर्ने प्लान्ट र गोदाम घर छुट्टाछुट्टै हुनुपर्ने, पानी बोटलमा भर्दा अटोमेटिकल मेनिफिसल मेसिन, फुड ग्रेड गुणस्तरको स्टिलको पाइप हाल्नुपर्दछ । तर अधिकांश उद्योगहरू खाद्य ऐनविपरीत सञ्चालनमा पाइएको थियो ।
अनुगमन टोलीले यसअघि विराटनगरको कोचाखालमा सञ्चालित एसएसएस जल उद्योगले अनुज्ञापत्र र मापदण्डसमेत पूरा नगरेको भेटिएपछि शिलबन्दी गरिएको थियो । चारवटा उद्योगमा गरेको अनुगमनको क्रममा विराटनगर–५ विशाल चौकमा पुण्य भट्टराईले सञ्चालन गरेको शान्ति जल उद्योगले मात्र मापदण्ड पूरा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्