राजपा बैठक राज्यमन्त्री नियुक्तिमा केन्द्रित हुने «

राजपा बैठक राज्यमन्त्री नियुक्तिमा केन्द्रित हुने

राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलको बैठक संघीय संसद्को प्रमुख सचेतक र प्रदेश नम्बर २ मा ३ राज्यमन्त्री थप्ने विषयमा केन्द्रित हुने भएको छ । पार्टीको राजनीति र विधानको टुंगो लगाउनुअघि पार्टीले प्रदेश २ मा राज्यमन्त्री नियुक्त गर्ने र संघीय संसद्मा प्रमुख सचेतक तोक्ने काम हुने सम्बद्ध स्रोतले जनाएको छ ।
पार्टी स्रोतका अनुसार सांसद लक्ष्मणलाल कर्णलाई प्रमुख सचेतक बनाउनुपर्नेमा प्रायः पार्टीका सबै नेता एक मतमा देखिन्छन् । यसअघि प्रदेश नम्बर २ को मन्त्रिमण्डल बन्दा ६ जना अध्यक्षमध्ये तीन जनको प्रतिनिधित्व भएको थियो । तीन जना अध्यक्षका तर्फबाट तीन जना मन्त्री बनेका छन् । अब ३ राज्यमन्त्रीमा त्यसमा नपरेका अध्यक्षहरूको कोटामा जाने पार्टी स्रोतको भनाइ छ ।
अध्यक्ष मण्डल संयोजक महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र राय यादवका तर्फबाट मन्त्री यसअघि नै बनेका छन् । अब राज्यमन्त्री बन्नेहरूमा शरतसिंह भण्डारी , अनिल कुमार झा र राजकिशोर यादवका तर्फबाट हुनेछन् ।
पार्टी स्रोतका अनुसार राज्यमन्त्रीका चर्चामा रहेका नामहरूमा जैनुल राइन, डिम्पल झा र नेत्रविक्रम साह रहेका छन् ।
भण्डारीको तर्फबाट राइन, झाको तर्फबाट डिम्पल झा र यादवको तर्फबाट साहको नाम चर्चामा रहेको छ । यसअघि प्रदेश सभाका सदस्य सुरेश मण्डलले पार्टी नेतृत्वलाई राज्यमन्त्री नथप्न आग्रह गरेका थिए । उनले प्रदेशलाई मितव्ययी बनाउने नीतिअन्तर्गत पार्टीले राज्यमन्त्री थप्न नहुने भन्दै आग्रह गरेका थिए । तर, पार्टीले यो निर्णयलाई सही नभएको भन्दै राज्यमन्त्री थप्न निर्णय गरिरहेको छ ।
पार्टी स्रोतले जनाएअनुसार अन्यथा भएन भने पार्टीले यी नामको खुलासा छिट्टै गर्नेछ । यसैगरी पार्टीको आगामी बाटो तय गर्न बुद्धिजीवीहरूसँग संवाद कार्यक्रमको आयोजन गरी विचार संकलन गर्ने कार्य भएको पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले बताए ।
साफ फल्चामा एक कार्यक्रम गरी विचार संकलन गर्ने कार्य गरिएको भन्दै उनले अब पार्टीको राजनीतिक र रणनीतिक बाटो तय गरिने बताए । पार्टीको समग्र निर्णय अध्यक्ष मण्डलले गर्ने भएकाले ६ नेताहरूबीच छलफल भइरहेको छ ।
उपाध्यक्ष सत्यनारायण मण्डलले पार्टीले केही दिनमा निर्णयहरू सार्वजनिक गर्ने बताए ।
उनले भने, “अध्यक्ष मण्डलका नेताहरू पार्टीलाई कसरी अघि बढाउने विषयमा छलफल जारी राखेका छन् । अन्तिम निर्णय हुन बाँकी रहेकाले केही सार्वजनिक गरिएको छैन ।”

प्रतिक्रिया दिनुहोस्