खानी उत्खनन्मा सावधानी «
Logo

खानी उत्खनन्मा सावधानी

खनिज अनुसन्धान र परीक्षणका नाममा यहाँबाट बहुमूल्य खनिज पदार्थ संकलन गरी त्यसको अनधिकृत कारोबार हुने गरेको आशंका बढ्दै गएको छ ।

सानो भूभाग भए पनि यहाँको विविधतायुक्त भौगर्भिक अवस्थाका कारण सयौंथरिका खनिज पाइने गरेको अध्ययनले देखाएको छ । नेपालमा फलाम, सुन, शिशादेखि युरेनियमसम्मका धातुहरू र अधातुमा चुनढुंगा, खरी, नुनदेखि विभिन्न किसिमका बहुमूल्य रत्नपत्थर, कोइला, अभ्रखसहितका दर्जनौं किसिमका खनिजहरू पाइने पत्ता लागिसकेको छ । अझै थुप्रै यस्ता खनिज पदार्थहरू अझै अध्ययनकै क्रममा छन् । साँच्चै भन्ने हो भने नेपालमा खनिज सम्पदाको भौगर्भिक सर्भेक्षण, पहिचान, अन्वेषण, उत्खन्न, बजारीकरण र उपयोगका विषयमा अझै प्रारम्भिक स्वरुपमै छौं । साँचो अर्थमा हामी नाभीमा विना बोकेर त्यसकै सुगन्ध र महत्व थाह नपाउने कस्तुरी भएका छौं ।
चीनले ‘रेयर अर्थ’ नामक विशेष किसिमको खनिजको उत्खनन्, प्रशोधन र निर्यात गरेर अर्बौं डलर कमाइरहेको छ, समान किसिमको खनिजको उपलब्धता भए पनि चीनको छिमेकी उत्तर कोरियाले सामान्य आर्जनसमेत गर्र्न सकिरहेको छैन । नेपालको हकमा पनि करिब–करिब यही प्रसंग मिल्न आउँछ । हामीसँग भएका दर्जनौं प्रकारका खनिज पदार्थको उत्खनन्, प्रशोधन र निर्यात गरी देशले अर्र्बौं रुपैयाँ आर्जन गर्नसक्ने सम्भावना भए पनि राज्यको उचित प्राथमिकता पुगेको छैन । खनिज उत्खननका नाममा नेपालमा अतिकता व्यावसायिक रूप पाएको खनिज भनेको चुनढुंगामात्रै हो । खरी र शिशाको उत्खनन गरि त्यसलाई व्यावसायिक रूप दिने प्रयास गरिए पनि दुवै ठूला उद्योगहरू अहिले बन्द छन् । मार्बल उद्योगको पनि वातावरण र अन्य मुद्दाहरूका कारण बन्द नै हुनपुग्यो ।
नेपालमा अत्यधिक सम्भावना भएर पनि नाममात्रको उत्खनन्मा परेको क्षेत्र हो, रत्नपत्थर । हिरालाई विश्वकै महँगो रत्नपत्थर मानिए पनि त्योभन्दा महँगो र दुर्लभ मानिने हिमालयन क्वार्जसमेत नेपालमा पाइने अनुसन्धानकर्ताहरूले बताएका छन् । नेपालमा पाइने कैयौं दुर्लभ रत्पपत्थरहरू यहाँ अवैध रूपमा उत्खनन् भइ भारत हुँदै तेस्रो मुलुकमा पुग्ने गरेका छन्, जसलाई सामान्य प्रशोधन (कटिङ र पोलिसिङ) गरी महँगो मूल्यमा बेच्ने गरिएको छ । नेपालमै भने रत्नपत्थरको संकलनमा राज्यले निकै न्यूनमात्र राजस्व पाउँदै आएको छ, न त त्यसबाट उत्खनन् क्षेत्रका जनताले नै कुनै देखिने गरि ठूलो लाभ पाउन सकेका छन् ।
राज्यले खनिज उत्खनन्लाई व्यवस्थित बनाउन राष्ट्रिय खनिज नीति नै बनाइसकेको भए पनि त्यससम्बन्धी सहायक कानुनहरूलाई अद्यावधिक र बनाउन नसक्दा तथा खनिज नियमनसम्बन्धी निकायहरूको प्रभावकारी व्यवस्थापन गर्ननसक्दा यसको उत्खनन्मा मनपरितन्त्र हाबी भएको हो । खनिज अनुसन्धान र परीक्षणका नाममा यहाँबाट बहुमूल्य खनिज पदार्थ संकलन गरि त्यसको अनधिकृत कारोबार हुने गरेको आशंका बढ्दै गएको छ । खासगरी युरेनियमजस्ता धातु नै यहाँबाट संकलन गरेर लान थालिएको आशंका जुन रुपमा गरिएको छ, यदि त्यसको वास्तविकता पहिल्याइ रोकथाम गर्ने उपाय गर्न नसकिएमा भोलि गएर अर्कै खालको अन्तर्राष्ट्रिय समस्यासमेत उत्पन्न हुनसक्छ । किनकी, युरेनियमको उपयोग परमाणु अश्त्र बनाउनसमेत हुने गरेको छ । प्राकृतिक स्रोतसाधनको उपयोगको कुरा अहिले स्थानीय तहसम्म बाँडफाँड गरिएको छ, समयमै उचित संघीय कानुन बनाएर यस्ता वस्तुको उत्खनन्, उपयोग, प्रशोधन र निर्यातको व्यवस्था गरिहाल्नु आवश्यक छ ।

 

प्रतिक्रिया दिनुहोस्