केबलकारले जोडिदै बन्दीपुर «

केबलकारले जोडिदै बन्दीपुर

तनहुँको पर्यटकीय नगरी बन्दीपुर अब केवलकारले जोडिने भएको छ । बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित निर्माण गर्न लागिएको केवलकारको शुक्रबार शिलान्यास भएको छ । करिब ५६ करोडको लागतमा निर्माण हुने केवलकारको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गरेका हुन् ।
बन्दीपुर केवलकार प्रालि, आरकेडी रियल स्टेट कम्पनी र पञ्चासे केवलकार एन्ड टुर्स लिमिटेडको लगानीमा केवलकार निर्माण हुन लागेको हो । ठूल्ढुंगास्वाँराबाट बरालथोकसम्म जोडिने केवलकारबाट घण्टामा २ सय जना वारपार गर्न सक्नेछन् ।
१० रोपनी क्षेत्रफलमा निर्माण हुने केबलकारले बन्दीपुर घुम्न आउने पर्यटकलाई अझ बढी आकर्षित गर्ने निर्माण कम्पनीको विश्वास छ । एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्ने बन्दीपुर केवलकार प्रालिका अध्यक्ष तारानाथ उपाध्यायले जानकारी दिए ।
कम्पनीले टप र बटम स्टेसनमा स्थानीय जनताको सहकार्यमा होटल तथा रेस्टुराँ खोल्ने उद्देश्य राखेको छ । बटम स्टेसनमा कार, मोटरसाइकल र निजी सवारीसाधन राख्नका लागि पार्किङको समेत व्यवस्था गरिनेछ । ठूल्ढुंगेबाट सुरु हुने केबलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । ठूल्ढुंगेबाट बरालथोकसम्म पुग्दा यो केबलकारले एक किलोमिटर छ सय मिटर यात्रा गर्नेछ ।
तनहुँको डुम्रे बजारदेखि बन्दीपुर पुग्न ७ किलोमिटरको उकालो दूरी बसमा करिब २० मिनेट लाग्छ । केवलकार निर्माण भएपछि केवलकारमा ९ मिनेटमा बन्दीपुर पुग्न सकिन्छ । केबलकारमा २ वटा सामान बोक्नेसहित १७ वटा बाक्सा रहनेछ । करिब १५ महिनामा निर्माण सक्ने लक्ष्य राखिएको उपाध्यायले जानकारी दिए । केवलकारमा बन्दीपुर केवलकार प्रालिको २५ प्रतिशत र आरकेडी रियल स्टेट कम्पनीको ७५ प्रतिशत लगानी रहनेछ ।

स्थानीयलाई ११ करोड २० लाखको सेयर
केबलकारमा स्थानीय अपनत्व बढाउन कम्पनीले बन्दीपुरका स्थानीयवासीलाई ११ करोड २० लाखको सेयर दिने भएको छ । बन्दीपुर केवलकार कम्पनीलाई पब्लिक कम्पनीको रूपमा विकास गरिने आरकेडी रियल इस्टेट कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।
कम्पनीको पुँजी ४५ करोड रुपैयाँ पुराउने र बन्दीपुरका जनताहरूका लागि १ सय रुपैयाँका दरले ११ लाख २० हजार कित्ता प्रवद्र्धक सेयर जम्मा गरी ११ करोड २० लाख रुपैयाँ छुट्याइने शर्माले जानकारी दिए । उनका अनुसार बन्दीपुर आसपासका जनतालाई ७ हजार ५ सय रुपैयाँ तिरेपछि १० वर्षसम्म केवलकार सेवा प्रदान गरिनेसमेत सो अवसरमा शर्माले घोषणा गरे ।
त्यस्तै पत्रकारिता क्षेत्रबाट केवलकार प्रवद्र्धनमा सहयोग पुराउने ३ जना पत्रकारहरूलाई वार्षिक रूपमा १÷१ लाखको सेयरमार्फत सम्मानित गरिने शर्माले घोषणा गरे । उनका अनुसार सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुराएबापत १ जना समाजसेवीलाई समेत प्रत्येक वर्ष १ लाख सेयरले सम्मानित गरिनेछ ।
बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि छिमेकी देश भारतमा ‘चलिए बन्दीपुर’ अभियान सञ्चालन गरिने, धार्मिक पर्यटनको विकास गर्न ४ धाम बन्दीपुर जाम अभियान सञ्चालन गरिने शर्माले बताए ।

गण्डकी पर्यटनको हब : मुख्यमन्त्री गुरुङ
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकीलाई पर्यटनको हबको रूपमा विकास गरिने बताए । उनले पर्यटनबाटै प्रदेशको समृद्धि सम्भव रहेको भन्दै प्रदेशभित्रका पर्यटकीय स्थलको प्रवद्र्धन गर्दै प्रदेशको समृद्धिमा पर्यटनलाई प्रयोग गरिने बताए ।
प्राकृतिक स्र्रोत र सम्पदा अथाहा भए पनि नेपालको प्रगति हुन नसक्नुमा नेता, जनता, कर्मचारी सबै दोषी रहेको भन्दै मुख्यमन्त्री गुरुङले यसको जिम्मेवारी सबैले लिनुपर्ने र अब समृद्ध मुलुक बनाउने अभियानमा जुट्नुपर्ने समेत बताए । गण्डकी प्रदेशले ५ वर्षभित्र १४ प्रतिशत गरिबीलाई ७ प्रतिशतमा झार्ने लक्ष्य राखेको र त्यसको लागि आर्थिक वृद्धिदर १० प्रतिशत पुराइने समेत बताए ।
यो वर्षको अन्त्यमा लगानी सम्मेलन गरेर उत्पादनशील क्षेत्रमा लगानी गर्न लगानीकर्तालाई अनुरोध गरिने समेत गुरुङ्गले बताए । निजी क्षेत्रको लगानी बढीभन्दा बढी भित्र्याएर प्रदेशलाई समृद्धिको बाटोमा हिँडाउने मुख्यमन्त्री गुरुङको भनाइ थियो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले बन्दीपुर आफैंमा एउटा पर्यटकीय हब रहेको र केवलकार निर्माण पछि बन्दीपुरको पर्यटन अझ विकास हुने बताए ।गण्डकी प्रदेशका पर्यटन, वन, उद्योग तथा वातावरणमन्त्री विकास लम्सालले बन्दीपुरमा पर्यटक आकर्षित गर्ने प्रमुख माध्यम केवलकार बन्ने विश्वास व्यक्त गर्दै समयमै निर्माण कार्य सक्न सुझाव दिए । लगानीको सुरक्षाका लागि प्रदेश सरकार सदैव तयार रहेको भन्दै उनले काममा हुने ढिलाइ समाधानका लागि समेत प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

 

प्रतिक्रिया दिनुहोस्