तामाखानी वर्षौंदेखि उपेक्षाको शिकार

रुकुम-रुकुमपूर्वको भूमे गाउँपालिकामा रहेको तामाखानी वर्षाैंसम्म पनि उत्खनन् हुन सकेको छैन । तामाखानीको रहेको गाउँपालिकाको वडा नम्बर ३ झुम्लाबाङमा सरकारी उदासिनका कारण उत्खनन हुन नसकेको हो ।
४ दशक अघिसम्म पुर्खाहरूले खानीबाट तामा निकालेर भाँडाकुँडा बनाइरहे पनि पछिल्लो समयमा खानी उत्खनन् र प्रयाग गर्ने काम भने भएको छैन । उक्त गाउँमा पहिले तामा तानेको ठाउँठाउँमा खाल्डाखुल्डी रहेका छन् । झुम्लाबाङमा तामाखानी रहेको र उक्त खानीबाट आफ्नो बुवाहरूले समेत तामा तानेर भाडाँकुडा बनाएको स्थानीय भक्तिराम कामी बताउँछन् । भूमे गाउँपालिकाका विभिन्न आधा दर्जन ठाउँमा समेत तामाखानी रहेको पुर्खाहरूले बताउने गरेको उनले स्मरण गरे ।
“यहाँ झुम्लाबाङमा मात्र नभएर रातोपानी, कोप्चेखानी, खालीखोला, ठेलोपैरा खानीलगायतका क्षेत्रमा पनि तामाखानी रहेको अग्रजले बेला बेला कुरा गर्छन्,” उनले भने, “झुम्लाबाङमा त मेरो बुवाले नै खानीबाट तामा निकालेर भाडाकुँडा बनाएको मलाई पनि थाहा छ ।” पहिले उक्त खानीबाट तानिएको तामाबाट बनाएका बिभिन्न प्रकारका भाँडाकुँडा समेत गाउँमा छन् । त्यस क्षेत्रमा सुरुमा वस्ती नभए पनि खानी पत्ता लागेपछि देशका अन्य ठाउँहरूबाट समेत त्यहाँ गएर बस्ती नै बसेको स्थानीयहरूको भनाइ छ । उत्खनन् भइरहेको तामाखानी कसरी एकाएक बन्द भयो भयो भन्ने अहिले स्थनीयहरूलाईसमेत थाहा छैन । तर, गाउँमा बिभिन्न तामाखानी रहेको र पहिले त्यस ठाउँबाट तामा तानेर बनाएका भाँडाकुँडाहरू अहिले पनि रहेको जेष्ठ नागरिकहरूले बताउँदै आएका छन् ।
भूमेमा तामाखानीको राम्रो सम्भावना रहे पनि सरकारले उत्खनन्मा चासो नदिएको स्थानीय कमला बुढाको गुनासो छ । “हाम्रो गाउँठाउँमा तामाखानीको राम्रो सम्भावना र अवसर भए पनि सरकारले उत्खनन गरेर प्रयोग गर्नमा किन ध्यान दिइरहेको छैन, हामी नै अचम्ममा छौं,” बुढाले भनिन्, “धेरै पहिले नै हाम्रो पुर्खाहरूले समेत तामा निकालेर प्रयोगमा ल्याएको देखिन्छ, आजभोलि त झन् विज्ञान प्रविधिको युग अझ सजिलैसँग उत्खनन् गर्न सकिन्थ्यो होला ।” खानी रहेका क्षेत्रमा उत्खनन गर्दा समग्र देशसँगै स्थानीय नागरिकलाई समेत रोजगारको अवस्था सिर्जना भएर आयआर्जनमा समेत सहयोग पुग्ने उनको भनाइ छ । “स्थानीय, प्रदेश र संघिय सरकारको सहकार्यमा गाउँघरमा रहेका खानीहरूलाई उत्खनन रोजगारीसँगै हाल विदेशबाट निर्यात भैरहेको विभिन्न बस्तुहरूलाई रोख्न सकिन्छ जस्तो लाग्छ,” उनले भनिन् ।
भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढाले गाउँमा रहेको तामाखानीबारे आफू पनि जानकारी रहेको भए पनि कानुनी जटिलताका कारण उत्खनन् गर्न नसकिएको बताए । जनसुकै प्रकारका खानीहरूको पनि संरक्षण गर्नेमात्र अधिकार स्थानीय सरकारलाई भएपनि उत्खनन गर्ने अधिकार नहुँदा सोचेअनुसार काम गर्न नसकिएको उनको भनाइ छ । “हो, झुम्लाबाङमा तामाखानी छ, पुर्खाहरूले समेत तानेर प्रयोग गरेको पाइन्छ,” उनले भने, “सम्भावना हुँदाहुदै भएपनि र स्थानीय सरकारको चाहाना हुँदाहुदै पनि त्यसलाई उत्खनन्को काम गर्न सकिएको छैन, गाउँघरमा रहेका खानीहरूलाई संरक्षणको मात्र अधिकार स्थानीय तहहरूलाई छ, उत्खनन्को अधिकार छैन ।” संघ र प्रदेश सरकारको सहकार्यमा तामाखानी उत्खनन् र प्रयोगको लागि आफूले सक्दो पहल गर्ने उनको भनाइ छ ।