आपराधिक क्रियाकलाप रोक्न सिसी क्यामेरा जडान «

आपराधिक क्रियाकलाप रोक्न सिसी क्यामेरा जडान

भोजपुर-आपराधिक क्रियाकलाप कम गर्न सदरमुकाममा सिसी क्यामेरा जडान गरिएको छ । भोजपुर नगरपालिकाको आर्थिक सहयोग तथा जिल्ला प्रहरी कार्यालय भोजपुरको पहलमा सदरमुकाममा सिसी क्यामेरा जडान गरिएको हो । भोजपुरको चार भञ्ज्यांगदेखि जिरो प्वाइन्टसम्म सात थान सिसी क्यामेरा जडान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक केशव थेवेले बताए । उक्त सिसी क्यामेरा भोजपुर नगरपालिकाका प्रमुख मेयर कैलाशकुमार आलेले औपचारिक रूपमा उद्दघाटन गरेका छन् । सिसी क्यामेरा जडानपछि भोजपुर बजारको आसपासमा हुने आपराधिक क्रियाकलपमा कमी हुनेमा स्थानीय आशावादी छन् । सिसी क्यामेरा जडान भएपछि स्थानीय जोती पौडेलले आपराधिक क्रियाकलापमा लागेकाले पनि सिसी क्यामेरा जडान भएको थाहा पाएपछि पक्राउमा परिन्छ भन्ने सोच आउँछ र त्यस्ता घटना घटाउनबाट टाढा रहने बताएका छन् । सिसी क्यामेरा जडानपछि प्रहरीलाई सहज भएको छ । घटना घटाउन नदिने र घटिहाले कारबाहीको दायरामा ल्याउन सहज हुने भएकाले पनि प्रहरीलाई सहज भएको हो । सिसी क्यामेरा उद्घाटन गर्दै मेयर आलेले भोजपुर नगरपालिकालाई स्र्माट सिटी बनाउने सोचका साथ उक्त सिसी क्यामेरा जडान गरिएको बताएका छन् । नगरको बजार आगालागीको खतरा भएकाले वजारको बीचबीचमा फायर ग्याससमेत राख्न लागेको बताएका छन् । आलेले सिसी क्यामेरा २४ घण्टा सञ्चालन हुने वातावरण मिलाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
कार्यक्रममा भोजपुरका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले प्रविधिभन्दा पनि प्रवृत्तिमा सुधार ल्याउनु पर्ने बताएकी छन् । अधिकांश मानिसका घरभित्र नै हिंसात्मक घटना घटिरहेकाले प्रविधि भन्दा प्रवृत्ति नै सुधार गरी सचेत गराई इमान्दारी बन्नु पर्ने बताएकी छन् । कांग्रेस भोजपुरका पार्टी सभापति नन्दमनी राईले नगरपालिका एक स्टेप नयाँ युगमा प्रवेश गरेको बताए । राईले जनताको सुरक्षाका लागि विज्ञान र प्रविधिसँगै अगाडि बढ्नु पर्ने बताए । उनले बजार आगालागीको खतरा बढी भएकाले फायर ग्यास र ठाउँठाउँमा पोखरीसमेत बनाउनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्