Logo

कोसी अञ्चल अस्पताललाई शिक्षण अस्पताल बनाउने तयारी

प्रदेश–१ को सबैभन्दा ठूलो सरकारी अस्पताल कोसी अञ्चल अस्पताललाई प्रदेश सरकारले शिक्षण अस्पतालका रूपमा स्तरोन्नति गर्ने तयारी गरेको छ ।
प्रदेश सरकारले काठमाडौंस्थित वीर अस्पतालसँगको सहकार्यमा यसै वर्षदेखि कोसीलाई शिक्षण अस्पतालका रूपमा स्तरोन्नति गर्न लागेको हो । प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले कोसी अञ्चल अस्पताललाई शिक्षण अस्पतालका रूपमा विस्तार गर्न लागिएको बताए । घिमिरेले साउनको अन्तिम साताबाट एमडीका लागि विद्यार्थी भर्ना लिएर यसै वर्षदेखि कोसी अञ्चल अस्पतालमा पठनपाठन गर्ने तयारी भइरहेको बताए । “हामीसँग भौतिक संरचना पनि केही मात्रामा छ,” उनले भने, “नपुग भौतिक संरचना थपेर भए पनि यसै वर्षदेखि शिक्षण अस्पताल बनाएर एमडीको पठनपाठन सुरु हुन्छ ।”
प्रदेश–१ मा हाल बीपी, विराट र नोबेल गरी ३ वटा शिक्षण अस्पताल सञ्चालनमा छन् । कोसी सञ्चालनमा आएपछि प्रदेश–१ मा शिक्षण अस्पतालको संख्या ४ पुग्नेछ । कोसी अस्पतालमा हरेक दिन प्रदेश १ र २ का १ हजारभन्दा बढी बिरामी आउने गरेका छन् । कोसी अञ्चल अस्पतालाई शिक्षण अस्पतालका रूपमा विकास गर्नका लागि आवश्यक विद्यार्थी लगायतका विषयमा वीर अस्पतालसँग सहमति भइसकेको मन्त्री घिमिरेले जानकारी दिए । “शिक्षण अस्पताल सञ्चालनका लागि वीर अस्पतालसँग पनि सहकार्य गर्ने विषयमा सहमति भइसकेको छ,” उनले भने ।
मन्त्री घिमिरेले अर्को वर्षदेखि कोशी अञ्चल अस्पतालमा एमबीबीएसको पढाइ पनि सञ्चालन गरिने उल्लेख गरे । त्यसैगरी सामाजिक विकास मन्त्रालयले ग्रामीण क्षेत्रका गरिब तथा जेहेन्दार विद्यार्थीलाई विशेष सहुलियत दिएर एमबीबीएस अध्ययन गराउन सहयोग गर्ने मन्त्री घिमिरेको भनाइ थियो ।
प्रदेश सरकारले सहुलियत प्रदान गरेर एमबीबीएस अध्ययन गरेका चिकित्सकले कम्तीमा ५ वर्ष ग्रामीण क्षेत्रमा रहेर करारमा स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने प्रावधान मन्त्रालयले बनाएको छ । प्रदेश सरकार शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनले प्रस्ट्याए । मन्त्री घिमिरेले सामाजिक विकास मन्त्रालयले हालसम्म चारवटा विधेयकको मस्यौदा तयार पारेको जानकारी दिए । उनले अब बस्ने प्रदेशसभामा ती विधेयक पेश हुने प्रक्रियामा रहेको बताए । मन्त्रालयले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर प्रदेश सरकार गठन भएपछि हालसम्म सामाजिक विकास मन्त्रालयले गरेका कामको विवरणसमेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्