वीरगन्जमा सेयर लगानीकर्ता साक्षरता कार्यक्रम सम्पन्न

सेयर लगानीमा सर्वसाधारणहरूको पनि चासो बढ्न थालेपछि आर्थिक तथा औद्योगिक नगरी वीरगन्जमा सेयरसम्बन्धी साक्षरता कार्यक्रमहरू हुन थालेको छ । सेयर लगानीका लागि ब्रोकर कम्पनीहरूको शाखासमेत विस्तार गरिएको वीरगन्जमा मंगलबार सीडीएस एन्ड क्लियरिङ लिमिटेडको आयोजना तथा युनाइटेड फाइनान्स, प्राइमो सेक्युरिटिज प्रालि र वीरगन्ज उद्योग वाणिज्य संघको सह–आयोजनामा ‘सि–आस्बा र डि–म्याट’ सम्बन्धी लगानीकर्ता साक्षरता कार्यक्रमको आयोजना गरेको छ । वीरगन्ज उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रमको प्रमुख आतिथि वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले उद्घाटन गरेका थिए । उद्घाटनपछि बोल्दै प्रमुख अतिथि सरावगीले सेयर कारोबार सुरक्षित हुने भएकाले सेयरमा लगानी गर्न सर्वसाधारणहरू पनि आकर्षित हुन थालेको बताए । कार्यक्रममा सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अध्यक्ष तथा नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत समेत रहेका चन्द्रसिंह साउद, सीडीएस एन्ड क्लियरिङ लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र वाग्लेले सेयर लगानीका बारेमा जानकारी दिएका थिए ।
त्यस्तै नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष तथा युनाइटेड फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनन्दबहादुर श्रेष्ठ, सेयर ब्रोकर कम्पनी प्राइमो सेक्युरिटिजका प्रमुख कार्यकारी अधिकृत मेघनाथ उपाध्याय र सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख सूचना तथा प्रविधि अधिकृत सुरेश न्यौपानेले डि–म्याट र सि–आस्बाका बारेमा सहभागीहरूलाई जानकारी गराएका थिए । करिब ८० जना सहभागी उक्त कार्यक्रममा स्वागत मन्तव्य र कार्यक्रमको सञ्चालन युनाइटेड फाइनान्स लिमिटेड, वीरगन्ज शाखाका शाखा प्रवन्धक मनिष आचार्यले गरेका थिए ।
नीरज पिठाकोटे