‘जुम्लामा असभ्यताको नांगो नाच’ «

‘जुम्लामा असभ्यताको नांगो नाच’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जुम्लामा अस्पतालभित्र पसेर प्रहरीले हस्तक्षेप गर्नु असभ्यताको नांगो नाच भएको बताएका छन् । बिहीबार डा. गोविन्द केसीलाई काठमाडौं ल्याउने क्रममा प्रहरीले जुम्ला अस्पतालभित्र पसेरै दमन गरेको थियो । सोही घटनालाई प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका देउवाले ‘असभ्यताको नांगो नाच’ को संज्ञा दिएका हुन् ।
सूचना टाँस गरेर बिहिबारको प्रतिनिधिसभा बैठक स्थगन भएपछि संसद भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले इतिहासमा कहिल्यै पनि अस्पतालभित्र पसेर प्रहरीले दमन नगरेको बताए । “अहिलेसम्म अस्पतालमा पसेर हस्तक्षेप भएको थिएन । सरकारले अस्पतालमा पसेर असभ्यताको नांगो नाच गरेको छ । यसको घोर भत्र्सना गर्दछु,” सभापति देउवाले भने । उनले डा. केसीको माग जायज भएको भन्दै सहमतिमा यसअघि सरकारले ल्याएको अध्यादेश हुबुहु ल्याउन आग्रह गरे । त्यसो नगरे कांग्रेसलाई मान्य नहुने उनको भनाइ थियो । केसीको जीवन रक्षा गर्न पनि उनले माग गरे ।
त्यस्तै, सभापति देउवाले संसद् बैठक स्थगन गरिएकोमा असन्तुष्टि पनि जनाए । प्रतिनिधिसभाको बिहिबाका लागि तय भएको बैठक स्थगन गर्दै प्रतिनिधिसभाको बैठक साउन ११ गते शुक्रबारसम्मका लागि सारिएको छ ।

संसद् छल्न खोज्नु गैरजवाफदेही
कांगेसले संसद् बैठक ८ दिन पर सार्नु सरकारको गैरजवाफदेहिता भएको भन्दै आपत्ति जनाएको छ । “जुम्लामा गम्भीर घटना भइरहँदा डा. केसीको माग सम्बोधन गर्नुको साटो प्रतिपिक्षीसँग परामर्श गर्ने परम्परा विपरीत प्रतिनिधि सभा बैठक स्थगित गर्ने सरकारको गैरजवाफदेही क्रियाकलापप्रति हामी खेद प्रकट गर्दछौँ,” प्रवक्ता विश्वप्रकाश शर्माले बिहिबार विज्ञप्ति जारी गर्दै भनेका छन्, “समाधानको खोजी गर्ने थलो संसद्लाई छलेर विषयलाई विषयान्तर गर्न सकिने भ्रमबाट मुक्त हुन समेत नेपाली कांग्रेस सरकारलाई सचेत गराउन चाहन्छ । ”
चिकित्सा शिक्षा सुधारका लागि कांग्रेसको सरकारले जारी गरेको अध्यादेश भन्दा विपरीत विधेयक ल्याउनेतर्फ सरकार लाग्नु र क्रमशः अधिनायकवाद उन्मुख शैली विकसित हुँदै गएका कारण स्थिति जटिल बन्दै गएको कांग्रेसको निष्कर्ष छ । कांग्रेसले डा. केसीलाई उपचारका लागि काठमाडौं ल्याउने क्रममा जुम्लाको अस्पतालमै प्रहरी प्रवेश गरेर लाठी चार्ज गर्ने, अश्रुग्यास प्रहार गर्ने, अस्पतालको लाखौंको सम्पत्तिमा क्षति पु-याउने जस्ता सरकारको दमनकारी कार्य भएको भन्दै भत्र्सना गरेको छ ।

सेवा बन्द गरेर डाक्टरहरु सडकमा
केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै जाँदासमेत सरकारले बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघले बिहीबारदेखि स्वास्थ्य संस्थामा इमर्जेन्सीबाहेकका सेवा ठप्प पारेको छ । डाक्टरहरुले बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गर्नुका साथै -याली पनि निकालेका छन् । चिकित्सक संघको अगुवाइमा भएको -यालीमा सर्वसाधारणले पनि साथ दिएका थिए ।
चिकित्सक संघले बुधबार नै पत्रकार सम्मेलन गरेर बिहीबार देशभरका सम्पूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङ होम, क्लिनिकलगायत सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प पार्ने बताएको थियो ।

कांग्रेस पनि दोषी : विवेकशील साझा
विवेकशील साझा पार्टीले डा. गोविन्द केसीमाथि सरकारले गरेको हस्तक्षेपको विरोध गरेको छ । पार्टीका प्रवक्ता सूर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा सरकारले देखाएको दम्भ र अमानवीय बल प्रयोगको निन्दा गरिएको छ । “वर्तमान स्थिति आउनमा अहिलेका सत्ताधारी दलहरु जति जिम्मेवार छन्, त्यत्ति नै जिम्मेवार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पनि छ,” आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उदारीकरणका नाममा कसिलो नियमनबिना नै शिक्षा र स्वास्थ्यजस्ता अत्यन्तै गम्भीर र संवेदनशील विषयलाई निजीकरण गरेर त्यसलाई नाफाखोर व्यापारीहरुको हातमा पुर्याउने कार्यमा विगतमा नेपाली कांग्रेसको सरकारको प्रमुख भूमिका थियो ।”

राप्रपाले पनि ग-यो भत्र्सना
राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि जुम्ला घटनाको भत्र्सना गरेको छ । जुम्ला अस्पतालमा भएको प्रशासनिक हस्तक्षेपको राप्रपाले भत्र्सना गरेको हो । प्रहरीको लाठीचार्जबाट दर्जनौं घाईते भएकोमा राप्रपाले दुःख व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बिहिबार जुम्ला अस्पतालमा प्रवेश गरेरै प्रहरीले दमन गरेको थियो ।
डा. गोविन्द केसीको जायज माग पूरा गर्न र उनको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरिएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनुहोस्