माइक्रोसफ्टको मूल्य १० खर्ब डलर पुग्ने «

माइक्रोसफ्टको मूल्य १० खर्ब डलर पुग्ने

माइक्रोसफ्टको मूल्य २०२० सम्ममा १० खर्ब डलर पुग्ने वाल स्ट्रिटका विश्लेषकले बताएका छन् ।इभरकोर आईएसआईका विश्लेषक किर्क माटेर्नेले गत साताको एक प्रतिवेदनमा यस्तो अनुमान लगाएका हुन् । अजुरे क्लाउडको व्यवसायमा भएको वृद्धि र अफिस ३६५ सफ्टवेयर व्यवसायका लागि मिलेकाले यस्तो वृद्धिको अनुमान गरिएको हो ।हाल माइक्रोसफ्टको मूल्य ६ सय ५० अर्ब डलरभन्दा थोरै बढी छ । त्यसैले १० खर्ब डलरको मूल्यमा पुग्नका लागि फर्मको सेयरमा हालको अवस्थाबाट ५५ प्रतिशत पुग्नु आवश्यक छ । यदि माइक्रोसफ्टको हालको अवस्था कायमै रहे यो तहमा पुग्न लामो समय लाग्ने देखिँदैन ।
वाल स्ट्रिटले माइक्रोसफ्टका सिइओ सत्या नाडेलाको क्लाउड–फस्ट रणनीतिलाई स्वागत गरेको छ । नाडेलाले २०१४ को फेबु्रअरीमा स्टिभ बालमरको ठाउँमा सिइओको पदभार ग्रहण गरेका थिए ।
यो वर्ष मात्रै माइक्रोसफ्टको सेयरमा ३५ प्रतिशतभन्दा बढीको वृद्धि भइसकेको छ । विगत पाँच वर्षको अवधिमा २ सय प्रतिशतभन्दा बढीको वृद्धि भइसकेको छ । यो वृद्धि एप्पल र गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटको तुलनामा राम्रो हो । हाल बजार मूल्य ८ सय ७० अर्ब डलर रहेको एप्पल र ७ सय २५ अर्ब डलर रहेको अल्फाबेटले यो अवधिमा १० खर्ब डलर छुने वा नछुने भन्ने विषयमा माटेर्नेले केही पनि बताएका छैनन् ।
यी कम्पनीहरू पहिलो पटक ट्रिलियन डलरको तहमा पुग्ने सम्भावना पनि त्यत्तिकै छ ।
अमेजन पनि ट्रिलियन डलरको तहमा पुग्दै छ । यो कम्पनीको हाल मूल्य ५६० अर्ब डलरभन्दा बढी छ ।
अमेजनको सेयरमा भएको वृद्धिले सीईओ जेफ बजोसलाई विश्वकै धनी मानिसको सूचीमा माइक्रोसफ्टका प्रमुख बिल गेट्स भन्दा माथि पुर्याएको छ । हाल बेजोसको सम्पत्ति झन्डै १ खर्ब डलर छ । गेट्सका सम्पत्ति ९० अर्ब डलरको हाराहारीमा छ ।
हाल फेसबुकको मूल्य ५ सय अर्ब डलरभन्दा बढी छ भने चीनको टेनसेन्ट र अलिबाबोको मूल्य पनि आधा ट्रिलियन डलरको हाराहारीमा छ ।

प्रतिक्रिया दिनुहोस्