चीनको आर्थिक वृद्धि स्थिर भएको हो त ? «

चीनको आर्थिक वृद्धि स्थिर भएको हो त ?

पछिल्लो दशकदेखि चीनको अर्थतन्त्र निकै उचारचढावपूर्ण रह्यो । २०१८ को सुरुवातसँगै यसले उचाइ लेला, तल झर्ला वा बीचैमा रहला त ?
एक दशकअघिको विश्व आर्थिक संकटका बेला चिनियाँ अर्थतन्त्र तीव्र गतिमा बढिरहेको थियो, तर संकट बढ्दा यसमा थोरै सुस्ती आयो । ४ खर्बको प्रोत्साहन प्याकेजका कारण यो फेरि माथि उक्लन थाल्यो र २०१० को प्रथम त्रैमासमा १२.२ पुग्यो । मौद्रिक नीतिको कडाइका कारण तल झर्दो आर्थिक वृद्धिलाई पुरानै अवस्थामा फर्कायो । अन्ततः २०१६ मा ६.७ वार्षिक वृद्धि भई चिनियाँ अर्थतन्त्र फेरि स्थिर हुन सुरु गर्यो । अन्तिम तथ्यांकले चिनियाँ अर्थतन्त्रको वृद्धि ६.८ प्रतिशत देखाएको छ, जसले गर्दा अर्थशास्त्रीहरू आगामी वर्षका लागि निकै आशावादी बनेका छन् ।
चीनको वित्तीय प्रणाली कमजोरीहरूले भरिएको छ । धेरैजसो चिनियाँ अर्थशास्त्रीहरूको के विश्वास छ भने चीन ६.५ स्थायी आर्थिक वृद्धिदर भएको देशमा प्रवेश गरेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि २०१७ मा ६.८ र २०१८ मा ६.५ प्रतिशत आर्थिक वृद्धि हुने भविष्यवाणी गरेको हो ।
मचाहिँ कम आशावादी छु । दशकौंदेखि अचल सम्पत्तिमा गरिएको लगानीले वृद्धिलाई गति दिएको थियो । अहिले चीनको कुल गार्हस्थ्य उत्पादनको आधा लगानी हुने गर्छ तर पुँजी निर्माण भने ४५ प्रतिशतको हाराहारी मात्रै छ ।
२०१३ यता लगानी वृद्धि भने तीव्र गतिमा घट्यो, पुनः २०१७ मा बढ्यो । अचल सम्पत्ति लगानी भने औसतमा २.१९ प्रतिशत प्रतिवर्ष बढ्यो । तेस्रो चौमासमा लगानी वृद्धि नकारात्मक नै रह्यो, जुन सुस्ती यसअघिको दशकमा देखिएको थिएन ।
संरचनात्मक समायोजनका दृष्टिले अचल सम्पत्ति लगानीमाथिको निर्भरता घट्नुलाई उपलब्धि मान्न सकिन्छ । तर, फाइनान्सल टाइम्समा मार्टिन वल्फले कमजोर लगानी वृद्धिका सन्दर्भमा कुल मागलाई दिगो राख्न गाह्रो छ भनेका छन् । घरायसी उपभोगमा सुस्ती आउन थालिसकेको छ । २०१७ को प्रथम त्रैमासमा निजी उपभोग ५.९ प्रतिशत बढ्यो । २०१६ को दाँजोमा यो केही कम भएकाले २०१८ मा कति घट्छ भन्न सकिन्न । खुद निर्यातको वृद्धि पनि घट्न सक्छ, किनभने ट्रम्पले संरक्षणवादी नीति लिएका छन् । चीनले माग बढाउने खालको वित्तीय नीति लिएको छ तर स्थानीय सरकारको ऋणका कारण यो सफल हुन अलि कठिन छ । सरकारले पक्कै पनि कुल गार्हस्थ्य उत्पादनको ३ प्रतिशत भन्दा बढी बजेट घाटा हुन दिने छैन । चीनको स्थिर सम्पत्ति लगानीमा तीन वर्ग छन् : म्यानुफ्याक्चरिङ, पूर्वाधार र रियलस्टेट । म्यानुफ्याक्चरिङमा सबैभन्दा बढी ३० प्रतिशत लगानी छ, जुन घट्दै छ । यदि ठूलै संरचनात्मक र प्राविधिक छलाङ मार्न सकेन भने लगानी बढ्न कठिन छ ।
रियल स्टेट क्षेत्र दुई दशकयता चक्रीय प्याटर्नमा अघि बढिरहेको छ । पूर्वाधार लगानी पनि उच्च तहमा पुगिसकेको छ, जसले गर्दा स्रोत बाँडफाँडलाई खराब पार्न सक्छ । वित्तीय अवरोध र कडा वित्तीय नियमनका कारण पूर्वाधार लगानी कठिन हुन्छ ।
यी सबै तथ्यले निकाल्ने निष्कर्ष हो : २०१८ मा चीनको आर्थिक वृद्धिको सुनिश्चितता छैन, तर चीनको सम्भावना निराशाजनक भने छैन । यदि आर्थिक वृद्धिदर निकै घट्यो भने सरकारले म्याक्रोइकोनोमिक स्थिरीकरण उपकरण लागू गर्नेछ । यसले वित्तीय प्रणालीको जोखिमलाई कम गर्नेछ । नवप्रवर्तन र संरचनात्मक सुधारका लागि सरकारले गरेको प्रयासले दीर्घकालीन प्रभाव पार्नेछ । यी सबै तथ्यलाई हेर्दा चीनले अझै एक उचाइ छुनेछ र स्थायी वृद्धिदर प्राप्त गर्नेछ, तर केही समय कुर्नु भने अवश्य पर्नेछ ।

यू योङडिङ, प्रोजेक्ट सिन्डिकेट

प्रतिक्रिया दिनुहोस्